|

पर्वत : काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह नआउने बेलासम्म विद्यालयमा ‘बुक फ्रि डे’ को अवधारणाबारे खासै सुनिएको थिएन।

सामान्यतः शुक्रबारको दिनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता लेखन प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता लगायत हुने गरेका थिए।

जिल्लाका केही विद्यालयहरूको पछिल्लो ‘ट्रेन्ड’ लाई हेर्दा प्रयोगात्मक रूपमा गरिने जीवनोपयोगी सीपले शुक्रबारका दिनमा आयोजना हुने अतिरिक्त क्रियाकलाईपहरुलाई विस्थापित गर्दै लगेको देख्न थालिएको छ। हाजिरी जवाफ प्रतियोगितामा पञ्चेबाजाका बारेमा सोधिएका प्रश्नहरूको उत्तर मिलाउने विद्यार्थीले पञ्चेबाजा बजाउन सक्नु त परैको कुरा हो। अब समयले यही मागेको छ की कुनै बस्तुको प्रयोगको बारेमा प्राप्त गरेको सैद्धान्तिक ज्ञान भन्दा त्यो बस्तुलाई प्रयोगात्मक रूपमा प्रयोग गरेर दैनिक जीवनमा प्रयोगमा ल्याउन सक्नुपर्छ।

सदरमुकाम कुश्मा  बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा गत शुक्रबार बाहिरबाट सुन्दा विद्यालयभित्रै वैवाहिक कार्यक्रम चलिरहेको जस्तै सुनिन्थ्यो। छ देखि १० कक्षासम्म अध्ययनरत बालबालिकाहरूले विद्यालयको सङ्ग्रहालयमा राखेका पञ्चेबाजाहरू बजाउँदा शिक्षक र विद्यार्थीहरू नै नाचिरहेका थिए।

कतिपय बाजा शिक्षकबाट विद्यार्थीले सिक्दै थिए त कतिपय शिक्षकबाट विद्यार्थीले पनि। कक्षा ९ मा अध्ययनरत सङ्गम परियार त व्यावसायिक रूपमा पञ्चेबाजा नै बजाउन हिँड्ने विद्यार्थी रहेछन्। विद्यालयले राखेको वाद्यवादन कार्यक्रममा सङ्गमले साथी र शिक्षकहरूलाई ढोलकदेखि सहनाईसम्म बजाउन सिकाउँदै थिए।
‘सधैँ किताबमा मात्रै ध्यान देऊ भनेर विद्यार्थीलाई भन्नुभन्दा बेलाबेलामा मनोरञ्जनात्मक तर क्रियात्मक खालका कार्यक्रमहरू राख्दा उनीहरूमा लुकेका प्रतिभाको पहिचान गर्न सहज हुन्छ। हाम्रै विद्यार्थीहरू व्यावसायिक रूपमा बाजा बजाउन हिँड्छन् त्यो हाम्रो गहना हो’, प्रधानाध्यापक प्रकाश रिजाल भन्छन्, ‘उनीहरूको कलाका बारेमा अरू विद्यार्थीले जान्न पनि पाउने। अनि त्यही कला अन्य विद्यार्थीहरूमा स्थानान्तरण गर्न पनि सकिने। विद्यार्थी र शिक्षक मिलेर बजाउँदा हाम्रोमा बाजाको राम्रो टिम बन्यो।’

जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङमा रहेको जनकल्याण माध्यमिक विद्यालयले केही दिन अगाडि विद्यालयमा नै छात्रहरूको लागि डोको बुन्ने र छात्राहरूको लागि टपरी गाँस्ने प्रतियोगिताको आयोजना गर्‍यो। जसमा शिक्षकले विद्यार्थीलाई बाँसबाट चोया र चोयाबाट डोको बुन्न सिकाए। महिला शिक्षकले सालको पातबाट टपरी बनाउन छात्राहरूलाई सिप सिकाए।विद्यार्थीले तयार पारेका सामग्रीहरू विभिन्न कार्यक्रममा प्रयोग गर्ने गरी सुरक्षित राखिएका छ। विद्यार्थीले टपरी गाँस्न सिकेसँगै विद्यालयमा कार्यक्रम हुँदा प्रयोग गर्ने गरिएका ‘पेपर प्लेट’ वा ‘प्लास्टिक’ जन्य पदार्थको प्रयोग विस्थापन भएको छ।

जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालयका विद्यार्थीहरूले पनि सोमबार ‘बुक फ्रि डे’ अन्तर्गत विद्यालयमा नै दुना र टपरी बनाउन सिके। घर गाउँमा हुने पूजाआजा र भोज भतेरमा पातबाट बनाइएका टपरीको प्रयोग हुने गरेको भए पनि पछिल्लो समय टपरीको प्रयोग निकै कम भइरहेको छ। अबको पुस्ताले टपरी गाँस्न नजान्ने हो भने केही वर्षमा नै दुना टपरीको प्रयोग नै लोप हुने जोखिम रहेको तथा दुना टपरी उपयोगी पनि भएकोले विद्यालयमा नै यो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक ओमकार पौडेल बताउँछन्।

‘स्थानीय स्तरमा पूजाआजा, बिहे, व्रतबन्ध लगायतका धेरै धार्मिक कार्यहरूमा प्रयोग हुने दुना टपरी बनाउन सक्ने सीप घट्दै गएको अवस्थामा हाम्रो बाबुनानीहरुलाई व्यवहारिक सीप सिकाउने सानो प्रयास स्वरूप यो काम गरिएको हो’, उनले भने, ‘पात टिप्ने, सिन्का बनाउने देखि दुना टपरी खुट्ने सम्म विद्यार्थीहरूको उत्साह देख्दा लाग्छ बालबालिकाहरू एउटा कुराको माग गरिरहेका छन्।

हामीहरू कक्षामा लगेर रटान दिइरहेका छौँ।’ अहिलेका विद्यार्थीहरू बोलाइमा भन्दा पनि गराइमा सक्रिय रहेकाले उनीहरूको मनोविज्ञानको आधारमा पनि विद्यालयले सीप सिकाउन आवश्यक रहेको उनको भनाइ छ।

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले अहिलेको पुस्ताले ‘लाइफ स्किल’ सिक्न नखोज्ने, पुरानाले नसिकाउने तथा सिकाउन सक्ने पुरानो जनशक्तिको अभाव पनि हुँदै गएकाले परम्परागत सीपमा लोप हुँदै गएको दुःख व्यक्त गर्छन्। आयातित वस्तुको पहुँच नभएको बेलामा नेपालकै मौलिक र परम्परागत वस्तु र सीपले सदियौँदेखिको दैनिकी चलिरहेको भए पनि पछिल्लो समयमा आयातित वस्तुले त्यसलाई विस्थापन गर्दा मौलिकता र सीप नै जोखिममा परेको उनको भनाइ छ।

यस्तै, बागलुङको अर्जेवामा रहेको जनशिक्षित माध्यामिक विद्यालयले पनि विद्यार्थीको पढाइ सँगसँगै प्रयोगात्मक क्रियाकलापमा सहभागी गराउँदै आएको छ।केही दिन अगाडि  कक्षा नौ मा अध्यनरत विद्यार्थीहरू विज्ञान तथा प्रविधि विषयको प्रयोगात्मक कार्य अन्तर्गत च्याउ खेतीका लागि पराल काट्दै थिए विद्यार्थीहरू।

विषय शिक्षक विजय पौडेलका अनुसार विद्यार्थीलाई प्रयोगात्मक कार्यले शिक्षणमा थप महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरू स्वयंलाई यस्ता कार्यमा संग्लन गराउँदा पढाईप्रति थप लगनशिल हुँदै जाने अनुभव आफूले लिएको शिक्षक पौडेलले बताए।

‘विद्यार्थीलाई सैन्द्दान्तिक ज्ञान सँगसँगै प्रयोगात्मक ज्ञान हुँदा उनीहरूको क्षमता अभिवृद्धिमा थप बल पुग्ने देखिएको छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.