|

विराटनगर : सुम्निमालाई अहिले थाहा छैन प्रेमको रंग र भोगाइको अनुभव। तर, उनी हुर्किंदै गरेको छहारी र जोडिएको सम्बन्धहरूमा नमेटिने प्रेमको रंग बसिसकेको छ।

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस केवल प्रेमिल जोडिहरुका लागि मात्रै नहुँदो हो। यो डे प्रेम पाएर जीवन परिवर्तन भएकोहरुका लागि पनि उत्तिकै ‘स्पेसल’ हुँदो हो। त्यसैले त ‘सुम्निमा मानव’ मानवसेवा आश्रमको मुटु बनेकी छिन्। र, सुम्निमाका लागि मानवसेवा आश्रम र त्यहाँ आश्रित सम्पूर्ण संसार बनेको छ। उनी आश्रम प्रवेश गर्दै गर्दा ७ महिनाकी मात्रै थिइन्।

आमा अर्धचेत अवस्थामा भएकाले उनले आमाको ममता पाउन सकिनन्। तर, मानव सेवामा आबद्ध सम्पूर्ण प्रेम र सद्भाव भने जस्तै पाएकी छिन्। उनको जन्मदिन पनि माघ २९ गते सम्पन्न भएको छ। अहिले उनी ६ वर्षकी भइन्।

७ महिनाको हुँदा आश्रममा भित्रिएकी सुम्निमा अहिले सबैको दिल र दिमागमा जरा गाडेर बसेको मानव सेवा आश्रम कोशी प्रदेशका संयोजक नवराज केसी बताउँछन्। ‘सुम्निमाको ममी अर्धचेत अवस्थामा हुनुहन्थ्यो, हामीले उहाँहरुलाई यहाँ ल्याउँदा सुम्निमा ७ महिनाको हुनुहुन्थ्यो, त्यो समयदेखि नै उहाँ हाम्रो जीवनको महत्वपूर्ण अंग बन्नुभएको छ’ उनले सुनाए, ‘उहाँ त हाम्रो यो आश्रमको गहना बन्नुभएको छ।’

त्यसो त सुम्निमा आफूले मात्रै प्रेम पाएकी छैनन्। उनले पनि सबैलाई प्रेमको गहिराइमा डुबाएकी छन्। हरेक तनावमुक्त गर्ने औषधिको रुपमा सुम्निमालाई लिने गरेको आश्रमका प्रतिनिधिहरु बताउँछन्।

उनीहरु भन्छन्,‘थकान, विभिन्न तनावहरु आइहाले पनि उनको अनुहार देखेपछि हामी सबै भुल्छौँ।’

उमेरसँगै फेरिएको सुम्निमाको स्वभाव, स्कुलबाट सिकेर आएको सिकाइहरु हेर्दा विस्तारै आश्रमको आँगनमा प्रेमिल फूल फूलेझैँ महसुस हुने गरेको नवराज सुनाउँछन्। सुम्निमाले नै  आश्रममा आश्रित आमाबुवालाई प्रेम बाँड्न सिकाएको हो कि जस्तो महसुस हुने गरेको नवराज बताउँछन्।

उनी भन्छन्, 'सुम्निमाको लागि यहाँको आमाबुबाले लुकाएर खानेकुरा राखिदिनु हुन्छ,  सबैले  माया गर्नुहुन्छ र सबैलाई  उनले पनि माया गर्छिन्।'

सुम्निमा अहिले लिलिपुट स्कुलमा युकेजीमा अध्ययनरत छिन्। उनलाई विद्यालयका प्रिन्सिपल चिरन्जीवी तिम्सिनाले नि:शुल्क अध्यापन गराइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.