जल सेचन गरे बोली फुट्ने विश्वास

|

काठमाडौँ : विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै बुधवार श्रीपञ्चमी पर्व मनाइएको छ।

हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा यसपाली पनि ललितपुरको लेलेमा रहेको सरस्वती कुण्डमा विशेष मेला लागेको छ।

गोदावरी नगरपालिका वडा नम्बर ५ तिलेश्वर महादेवको प्राङ्गणमै अवस्थित जलरुपा सरस्वतीमा १० हजारभन्दा बढी श्रद्धालु भक्तजनले दर्शन गरेको मेला संयोजक निकेस श्रेष्ठले जानकारी दिए।

श्री ज्ञानकुण्ड युवा क्लबले मेलाको ब्यवस्थापन गरेको थियो। सरस्वती कुण्डमा उपत्यका र आसपासका क्षेत्रबाट भक्तजनहरु आएका थिए। कुण्डमा गएर दर्शन गरी त्यहाँको जल सेचन गर्नाले विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको क्लबका उपाध्यक्षसमेत रहेका श्रेष्ठले जानकारी दिए। 

सरस्वती कुण्डको जल सेचन गर्नुका साथै सरस्वतीको मूर्तिको पूजा अर्चना पनि भक्तजनहरुले गरेका छन्। विशेष गरी साना साना बालबालिकालाई उनीहरुको अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए।

यस दिन सरस्वती कुण्डनजिकैको भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ। यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने मान्यता रहेको छ। बालबालिकालाई अक्षर आरम्भ पनि गराउने गरिन्छ।

मेला संयोजक श्रेष्ठका अनुसार लेलेका बुद्धजीविहरु हिम्मत खण्डको ९९ अध्यायमा देवगुरु बृहस्पतिले तिलको शिवलिङ्ग बनाई पूजा गर्दा तिलेश्वर महादेव उत्पत्ति भएको र वाक्य शुद्ध होस् भनी बरदान माग्दा महादेवले सरस्वतीको आराधना र तपस्या गर्नु  भनेपछि बृहस्पति तपस्यामा लिन भएका थिए। 

दैत्य गुरु शुक्राचार्यको कण्ठमा वास गर्नु भएकी देवी सरस्वती देवगुरु बृहस्पति भएको ठाउँमा आएको देखेर शुक्राचार्य रिसाई सरस्वती मातालाई सराप दिँदै ‘जलमा परिणत हौ’ भनेपछि देवी सरस्वती जलमा परिणत भइन्।

र त्यस जललाई बृहस्पतिले आफ्नो अञ्जुलीमा भरेर पिएपछि सरस्वती माता देवगुरु बृहस्पतिको कण्ठमा गई बसेको र वाक्य सिद्धिको बरदान प्राप्त भएको कथन छ।

सोही दिनदेखि यो सरस्वती कुण्डको जल पिउँदा बोल्न नसक्ने बच्चाको बोली फुट्छ र बच्चा ज्ञानी हुन्छ भन्ने जनविश्वास छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने र चेतनाको ज्योति पाइन्छ भत्रे विश्वास छ।

क्लबका उपाध्यक्ष श्रेष्ठले पनि आफ्नो साथीको यही आएर जल सेचन गरेपछि बोली फुटेको बताए। उनी भन्छन्, ‘मेरो आफ्नै साथी ३ वर्षको उमेरसम्म पनि बोल्न नसक्दा मच्छेगाउँबाट मामाघर लेलेमा ल्याएर यस ठाउँमा दिनहुँ पूजा गरेर जल ग्रहण गर्दा बोली फुटेको थियो। ऊ हाल बेलायतमा बसोबास गरिरहेको छ।’ 

१५ वर्षदेखि ज्ञान कुण्ड युवा क्लबले यो मेलाको ब्यवस्थापन गर्दै आएको छ। 

मेलामा स्वयंसेवकका रुपमा एनसिसी क्याडेट्स, सरस्वती उच्च मावि र बुद्ध माविका स्काउट, लेले किक बक्सिङ डोजो, उसु क्वान तथा ज्ञान कुण्ड युवा क्लबका सदस्यहरु रहेका थिए। 

सुरक्षाका लागि लेले प्रहरी चौकी तथा यातायात ब्यवस्थापनका लागि चापागाउँ ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी खटिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.