के गर्दै छ सरकार?

|

काठमाडौँ : वयस्क उमेर समूहमा देखिने विभिन्न खाले क्यान्सरभन्दा बालबालिकामा देखिने क्यान्सर समयमै पूर्ण उपचार गर्न सके निको हुने सम्भावना धेरै हुन्छ।

नेपालमा भने महँगो र लामो समयसम्मको उपचार प्रणाली‚ ढिलो स्वास्थ्य संस्थामा पुग्ने जस्ता कारणले प्रभावकारी उपचार गर्दा पनि निको हुने क्यान्सर लागेर वार्षिक धेरै बालबालिका ज्यान गुमाउन बाध्य छन्।

वर्षेनि कति बालबालिकालाई क्यान्सर देखिन्छ भन्ने यकिन विवरण सरकारसँग नभए पनि यो क्षेत्रमा लामो समयदेखि उपचाररत चिकित्सक तथा स्वास्थ्य संस्थाको विवरणअनुसार नेपालमा वार्षिक लगभग १ हजार ४ सय बालबालिकामा विभिन्न खाले क्यान्सरका समस्या देखिने गरेको अनुमान छ। यीमध्ये जम्मा ६ सयदेखि ७ सय बालबालिका मात्र उपचारको पहुँचमा रहेको बताइन्छ।​

अभिभावकलाई बालबालिकामा हुने  क्यान्सरका लक्षणबारे उचित जानकारी नहुँदा समयमै अस्पताल नआउने र त्यसपछि अस्पताल आएर उपचार गर्दा उपचारमा कठिनाइ हुने समस्या भएको बाल क्यान्सर रोग विशेषज्ञ डा. अञ्जलि पण्डितको भनाइ छ। बाल क्यान्सर रोग विशेषज्ञ डा. पण्डितले भनिन्‚ ‘समयमै उपचार गर्ने हो भने बालबालिकामा देखिने क्यान्सर पूर्ण निको भएर सामान्य जीवनयापनमा बालबालिकालाई फर्काउन सकिन्छ तर ढिलो अस्पताल पुग्दा उपचारमा कठिनाइ देखिन्छ। त्यसैले हरेक अभिभावक बालबालिकाहरूमा देखिने क्यान्सरको लक्षणमा सचेत हुनु आवश्यक छ।’

बालबालिका उमेर समूहमा रक्त क्यान्सर (ल्युकेमिया) जस्ता क्यान्सर देखिन्छ। नेपालमा समयमै अस्पताल पुग्न नसक्नु र  पूर्ण उपचार गर्न नसक्दा ७० प्रतिशत बालबालिकामा क्यान्सर पूर्ण निको हुँदैन।

नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका बाल क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीका अनुसार  वयस्कभन्दा बाल क्यान्सर फरक हुने र बालबालिकामा निको बनाउन सकिने सम्भावना धेरै हुन्छ। अझै बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने विरामीका लागि सरकारले सहयोग गरेमा १० देखि १२ प्रतिशत अझ पूर्ण निको हुने दर बढ्न सक्छ।

बाल क्यान्सर रोग विशेषज्ञ डा. तिवारीले भने‚ ‘वयस्कभन्दा बाल क्यान्सर फरक हुने र बालबालिकामा निको बनाउन सकिने सम्भावना धेरै हुन्छ। त्यसैले सरकारले बालबालिकामा हुने क्यान्सरको उपचारमा विशेष सहयोग गर्नुपर्छ।’

के गर्दै छ सरकार?

बालबालिकामा हुने क्यान्सरको उपचार प्रक्रिया लामो हुन्छ। अर्थ अभावमा धेरै अभिभावकले  उपचार प्रक्रिया बीचमै छाडेको देखिएपछि सरकारले बालबालिकामा हुने क्यान्सरको औषधि निःशुल्क वितरण गर्ने तयारी अगाडि बढाएको छ।

इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जिआइसिसी)ले पाँच महिनाअघि विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहयोगमा बालबालिकामा हुने क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्न लागेको छ। यद्यपि हालसम्म यो औषधि नेपालमा आएको छैन।

अबको केही महिनामै औषधि नेपाल ल्याइने बालरोग विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति तथा योजना शाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए। डा. पौडेलले भने‚ ‘हामीले तयारी गरिरहेका छौँ, विश्व स्वास्थ्य संगठनसँग हिजै यो विषयमा छलफल भएको थियो, अब अर्थ मन्त्रालयको सहमति लिएर औषधि ल्याउने प्रक्रिया अगाडि बढ्छ। सम्भवतः अबको तीन महिनामा हामीले औषधि वितरण गरिसक्छौँ।’

क्यान्सर विरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने सरकारी लक्ष्य छ। यसका लागि ३५ प्रकारका औषधि निःशुल्क प्रयोग गर्न सकिए लक्ष्य प्राप्तिमा धेरै सहयोग हुने उनको भनाइ छ।  

समयमै पहिचान भएर पूर्ण उपचार गर्न सके धेरैजसो बालबालिकामा हुने क्यान्सर पूर्ण सन्चो हुन्छ तर आर्थिक भारका कारण धेरैले पूर्ण उपचार पाउँदैनन्। ‘त्यसैले हामीले निःशुल्क औषधि वितरण गर्न सक्यौँ भने बालबालिकामा हुने क्यान्सर उपचारको क्षेत्रमा ठूलो सफलता हुन्थ्यो’‚ डा. पौडेलले भने।

बालबालिकामा प्रायः हुने रक्त क्यान्सर समयमै पहिचान गरेर पूर्ण उपचार गरेमा ८० प्रतिशत पूर्ण निको हुने उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.