|

काठमाडौं : समाज, संस्कार, धर्म, संस्कृति, भूगोल, ब्रम्हाण्ड, विज्ञान...।

संसारमा एउटा मान्छेले जान्नुपर्ने विषयहरू केके हुन्? कति विषयहरू जान्दा एकबारको जुनी धन्य हुन्छ? कहिल्यै सोच्नुभएको छ?

कसैले एक बसाइमा सुनाएको थियो, 'हरेक मान्छेले आफूलाई कति ज्ञान आवश्यक पर्छ जान्न जरूरी छ। नत्र मस्तिष्कले दु:ख पाउँछ।'

आफूलाई कति ज्ञान आवश्यक पर्छ कसरी थाहा पाउने? वर्तमानमा सामान्य लागेका विषय भविष्यमा ठूलो अर्थ राखिदिन सक्छ। कति विषयहरू यस्ता हुन्छन् जसको गाम्भीर्यता र महत्व जीवनका विभिन्न काल अवस्थामा पर्दै जान्छन्।

समयको वेगसँगै हामीमाझ थपिने रहस्यमय विषयवस्तुहरूको दायरा फराकिलो हुँदै छ। यतिसम्म कि ब्रम्हाण्डमा भएका र मेटिएका विषयहरूमा खोज भएका छन्। गहिराइमा पुगेर अनुसन्धान गरिएका छन्।

स्वभावैले मान्छे जिज्ञासामा बाँच्ने प्राणी हो। ऊ हरेक विषयमा थोरबहुत ज्ञाता बन्न चाहन्छ।

मान्छेहरू आफ्ना रूचि अनुसारको विषय पुस्तक र साहित्यमा विषय पढ्छन्। चलचित्रमार्फत हेर्छन्। संगीतमार्फत सुन्छन्। पुस्तक, चलचित्र, साहित्य संगीत वा कुनै एक चिजबाट मान्छेले जान्न चाहेको विषयवस्तु नपाउन सक्छन्। केही समय अगाडिसम्म हाम्रा पहुँचबाहिर भएका धेरै विषयहरू अब हामीले सजिलै प्राप्त गर्न सक्ने भएका छौँ।

किनभने इन्टरनेट क्रान्तिले हाम्रा दैनिकीलाई थप सहज र सुलभ बनाइदिएको छ। इन्टरनेट सँगसँगै यो गुगल र युट्युबको जमाना हो।

विश्व ब्रम्हाण्डका जुनसुकै विषयवस्तुहरू अचेल गुगल र युट्युबमा सजिलै उपलब्ध छन्।  त्यसमाथि इन्टरनेटले ल्याएको क्रान्तिले यतिबेला विश्वलाई एउटा गाउँमा परिणत भएको नै छ।

नेपालको सन्दर्भमा हेर्दा पनि युट्युबको प्रयोग बढ्दै गएको छ। तर,  युट्युबमा पछिल्लो समय कस्ता विषयवस्तुले स्थान पाइरहेका छन्? र हामीले कस्ता विषयलाई महत्व दिइरहेका छौँ? तपाईं हामी सबै  दर्शकहरू आफैँले मूल्यांकन गर्न सक्षम छौँ।

यही युट्युबको भिडमा एउटा  आवाज गुञ्जिरहन्छ।​ जसको नाम हो  'विश्वघटना’, जुन दर्शक श्रोतामाझ लोकप्रिय छ। विषयलाई दृश्यमार्फत गहिराइमा पुगेर व्याख्या गरिने हुँदा नेपाली दर्शक श्रोतामाझ विश्वघटनाले​ आफ्नो छुट्टै छाप छोड्न सफल छ। भिडियोमा बोलिने  ट्रेडमार्क वाक्यलाई सापटी लिन चाहन्छु।

'दर्शकबृन्द आउनुस आज यसै विषयमा चर्चा गरौँ।'

थल, जल, विश्व र ब्रम्हाण्डका विविध आयामबारे फरक कोणबाट तयार पारिने  कन्टेन सामान्यतया १२ देखि १५ मिनेटका हुन्छन्। यसको स्कृप्ट लेखनमा अनन्त वाग्ले सहितको टिम छ। बलराम श्रेष्ठले आवाज दिन्छन् भने निर्देशन रामकृष्ण तिमिल्सिनाले गर्छन्।

करिब पाँच वर्ष अगाडिबाट सुरू भएको विश्वघटनामा आजसम्म करिब १ हजार ५ सय भिडियो कन्टेनहरू अपलोड गरिएको छ।  विश्वघटना अवधारणा आउँदै गर्दा आफूहरूले निर्माण गर्ने विषयहरू वर्तमानलाई मात्र नभई भविष्यमा पनि काम लाग्नुपर्छ भन्ने मान्यताका साथ सुरू गरिएको श्रेष्ठ सुनाउँछन्।

वर्तमान समयमा यसको महत्व बढ्दै गएको छ। विश्व घटनामा समावेश भएका विषयहरू आज जति सान्दर्भिक हुन्छन्। केही दशकपछि पनि उतिक्कै  सान्दर्भिक हुने अपेक्षा श्रेष्ठले लिएका छन्।

विश्वघटनामा प्रसारित सामग्रीहरूलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिने गरेका छन्।  श्रेष्ठ भन्छन्, 'अचेल ज्यादातर युट्युबमा आउने नकरात्मक कमेन्टहरूका बीचमा हाम्रो कन्टेनलाई दर्शकले सकारात्मक रूपमा लिनुभएको छ। यसलाई म सफलताका रूपमा लिने गरेको छु।'

'कसरी सुरु भयो विश्वघटनाको अवधारणा

श्रेष्ठको समूहका धेरै व्यक्तिहरू रेडियोको दुनियाँमा रमाएका थिए। साठीको दशकमा रेडियोको लहर व्यापक थियो। देशको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तनमा रेडियोको भूमिका अब्बल थियो नै।

शहरदेखि गाउँसम्म, सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म रेडियोको प्रभाव उच्च थियो। तर, समय परिवर्तनशील छ। सँगै इन्टरनेटको लहर सुरू भयो । जसको कारण रेडियोको प्रभाव सहरमा कम हुँदै गयो। धेरै रेडियोहरूले आफ्ना कार्यक्रमहरू छोट्याए। कतिपय रेडियोहरू घण्टे बुलेटिनमा खुम्चिए भने ज्यादातर एफएम रेडियोहरू बन्द भए।

इन्टरनेटको प्रभाव बढ्दै जाँदा श्रेष्ठ समूहले सोच्यो,  'इन्टरनेट र प्रविधिको उच्चतम प्रयोग किन नगर्ने?’ समयसँगै आएको छालसँग तैरिन सकिएन भने किन डुबिन्छ कि जहाँ हो त्यहीँ अडिनुपर्छ। यसै पनि मान्छे नदी बन्न चाहन्छ, पोखरी होइन।

रेडियोको प्रभाव कम हुँदै गएपछि युट्युबमार्फत आफ्ना दर्शकलाई सामाजिक विषयवस्तुहरू कसरी दिन सकिन्छ? भन्ने विषयमा छलफल हुँदै जाँदा विश्वघटनाको अवधारणा आएको श्रेष्ठले सुनाए।

'विषयको छनोट

विश्वघटनामा जानुभयो भने विभिन्न विषयहरूको बारेमा व्याख्या गरिएको हुन्छ। जस्तै,   डेरियन ग्याप किन संसारकै खतरनाक क्षेत्र मानिन्छ? विविध स्रोत र साधन हुँदा पनि किन अफ्रिका महादेश गरिब छ?, वर्तमान परिप्रेक्ष्यमा भारत र क्यानडाको द्वन्द्व के हो? ओसामा विन लादेनको उदय र अन्त्य कसरी भयो?,  आणविकका पिता ओपनहाइमर को हुन्?, फुटबलको सुरुवात कसरी भयो? 

संसारका कम अवधिका शासकहरू को को हुन्?, दास व्यापारको सुरुवात? यी त केवल उदाहरणहरू मात्र हुन्।  हाम्रा दैनिक जीवनमा कुनै न कुनै कालखण्डमा काम लाग्ने यस्ता विषयवस्तुहरू निर्माण कुनै एक व्यक्तिको प्रयासले सम्भव हुन असम्भव छ।

'आजको मितिमा एक व्यक्तिको मिहिनेतले मात्र कुनै काममा सफलता हात पार्न सम्भव छैन। यहाँ जेजस्ता सफलता हात लाग्छन् त्यहाँ कहीँ न कहीँ इमान्दारपूर्वक सामूहिक प्रयत्न भइरहेका छन्।  'विश्वघटना’ ले लिएको सफलता सामूहिक प्रयत्नको प्रतिफल हो’, श्रेष्ठ भन्छन्।

कुनै पनि काममा समूह जोडिएपछि निर्माण हुने विषयमा दृष्टिकोणहरू पनि फरकफरक हुने गर्छ। कुनै विषयमाथि हेर्ने, लेख्ने, बोल्ने र बनाउने कुरा सहज विषय होइन। आफूले दर्शकलाई के दिन चाहेको हो भन्ने कुरामा सबैको साझा धारणा हुन आवश्यक छ।

विश्वघटनाको निर्माण टोली यस विषयमा गम्भीर छ। त्यसैले त फरक फरक उपसमूह रहेको श्रेष्ठ सुनाउँछन्।  विषय छनोट गर्ने एउटा समूह छ। मल्टिमिडिया समूह छ। त्यो समूहले कसरी विषयवस्तुअनुसार दृश्य निर्माण गर्ने निर्क्यौल गर्छ।

'हरेक समूहले आफ्नो काम कसरी उत्कृष्ट दिन सकिन्छ भन्ने कुरामा गम्भीर रहेकाले आजसम्म कुनै विषयमा मतभेद छैन, मतभेद हुन्थ्यो भने पन्ध्र सयभन्दा धेरै कन्टेन प्रसारण गर्न हामी असमर्थ हुन्थ्यौँ’, उनी सुनाउँछन्, 'दर्शकले पनि आवाजलाई मात्र नभएर विषय र भिडियोलाई मन पराइरहनु भएको छ।'

एउटा भिडियो स्टोरी तयार पारेर प्रसारण गर्न कति समय लाग्छ? त्यो विषयले निर्धारण गर्छ। ' करेन्ट इस्युहरू भए एकैदिनमा सकिन्छ। नत्र दुईदेखि तीन दिनमा कन्टेन तयार पारेर प्रसारण गर्छौँ’, उनले भने।

'२१ वर्षको रेडियो यात्रा

विश्वघटनाको लोकप्रियता बढे पनि श्रेष्ठ आफूलाई रेडियोकर्मीका रूपमा नै सहज मान्छन्। उनी आफ्नो विगतका पत्र खोल्छन्।

काठमाडौंको छिमेकी जिल्ला काभ्रेमा जन्मिए/ हुर्किए उनी। परिवार व्यवसायमा थियो। एसएलसी सकेपछि उनले उच्च शिक्षाका लागि  बाटो तताए काठमाडौंको।

वि.स २०५१ मा एसएलसी सकेपछि अमृत साइन्स कलेज र नेपाल कमर्श कलेज दुवैतिर भर्नाको लागि आवेदन दिए। खै पछि उनलाई के कुराले हो कुन्नि  व्यवस्थापन संकायले तान्यो।

व्यवस्थापन संकाय पढ्दै गरेका उनी त्यहाँ अडिरहन सकेनन्।   गाउँ फर्के। व्यवसाय सुरु गरे। व्यवसाय गर्दा पैसा मिल्यो सन्तुष्टि मिलेन। बनेपाको चेष्टा साप्ताहिकबाट ५६ सालतिर पत्रकारिताको क्षेत्रमा प्रवेश गरे। विस्तारै पत्रकारिताको नशा सुरू भयो।

त्यसबेला नेपालमा एफएम रेडियोको स्थापनाको लहर चलेको थियो। सायद ५९ तिर टाइम्स एफएममा कर्मचारी आवश्यकता खबर प्राप्त भयो।  दीपक समीर, उद्वव थपलिया साथीहरू थिए। थपलियाले टाइम्स एफएमका भ्याकेन्सी खुलाएको खबर दिए।

त्यसबेला रेडियोमा काम गर्न परीक्षा दिनुपर्थ्यो।  उनी सुनाउँछन्, 'मैले एसएलसी दिँदा त्यति मिहिनेत गरेको थिइनँ होला जति एफएफमा कामका लागि नाम निकाल्न मिहिनेत गरेँ।'

'म र मेरा भावना' भन्ने कार्यक्रम चलाउने पहिलो अवसर पाए। यसबाट भने उनी आवाजको दुनियाँमा प्रवेश गरेका थिए। त्यसबेला उनले पार्टटाइम काम गर्थे। जागिरले टिक्न सक्ने अवस्था थिएन। तर कसरी टिकियो। उनी गम खान्छन्। उनले त्यसबेला एउटा कार्यक्रमको २५० रूपैयाँ पाउँथे। कामले काम सिकायो। श्रोतामाझ लोकप्रियता बढ्यो।  व्यवस्थापनले काम मन परायो। उनको पोल्टामा थप कार्यक्रम परे।

एउटै एफएममा उनी खुम्चिएनन्,   त्यहाँ दुई वर्ष काम गरेपछि गोरखा एफएममा पुगे। ज्यादातर 'फोन इन' कार्यक्रमले बजार खाइरहेको बेला गोरखा एफएममा सोसल इस्युमा काम गर्नुपर्छ भन्ने लागेर काम थाले।

काम सँगसँगै पढाइलाई पनि उनले अगाडि बढाउँदै लगे। अलि अलि नाम र अलि अलि दाम भएपछि उनले एफएम स्थापना गर्ने सोच बनाए।  दिपक समिर, हरिभल्लव नेपाल, दीपक हमाल, देवसुन्दर शाक्य लगायतका साथीहरू मिलेर मेरो एफएम ल्याए ६५ सालमा। २१ वर्षदेखि  रेडियोको दुनियाँमा रमाइरहेका श्रेष्ठ १५ वर्षदेखि आफ्नै एफएम सञ्चालन गर्दै आएका छन्।

२१ वर्ष रेडियो र ५ वर्षदेखि विश्वघटनाबाट जीवनलाई अगाडि बढाएका श्रेष्ठ आफ्नो कामबाट सन्तुष्ट छन्। उनी भन्छन्, ' आफूले चाहेको काम गर्दा त समय बितेको पत्तै नहुने रहेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.