|

बागलुङ : सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेबल पुल हालसम्म सम्पन्न हुन सकेको छैन। खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन्। फलामका रडमा खिया लागेको छ। 

विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ। बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेबल पुल यतिबेला बेवारिसे अवस्थामा पुगेको हो। 

पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुन सकेको छैन। २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन। लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो। 

ठेक्का तोडिएपछि अब पुल बन्छ कि बन्दैन भन्ने अन्योल सिर्जना भएको छ। सडक डिभिजन कार्यलयमार्फत निर्माण हुन थालेको पुललाई निर्माण कम्पनीले अलपत्र पारेपछि अब कहिले काम सुरु हुन्छ भन्ने निश्चित छैन। 

सोह्र महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशतमै भएको सीमित छ। वर्षौँअघि निर्माण भएको पुलको संरचना भूजीखोलामा आएको बाढीले भत्काइदिएको छ। 

बाढीले लाखौँको संरचनामा क्षति पु¥याएपछि पुल सुरुकै चरणबाट काम गर्नुपर्ने अवस्थामा छ। पुल बन्न लागेपछि खुसी भएका अधिकारीचौर, नाथुरी लगायतका गाउँका नागरिक अहिले अलपत्र अवस्थामा पुगेपछि दुःखी बनेका छन्। 

कृषि गाउँका रुपमा रहेका अधिकारीचौर र नाथुरीगाउँका हजारौँ किसान पुल नबन्दा मारमा परेका छन्। डेढ दशकअघि गाउँमा मोटरबाटो पुगेपछि सिङ्गो गाउँनै व्यावसायिक तरकारी खेतीमा लागेको छ।

यतिका समयसम्म मोटर गुड्ने पुल नबन्दा यस क्षेत्रका तीन सय घरधुरीका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन समस्या भएको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका किसान कृष्ण कँडेलले बताए। 

भूजीखोलामाथि निर्माण थालिएको पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उनको भनाइ छ।

हिउँदको समयमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि वर्षाको समयमा भने ठप्प हुने गरेको कँडेल बताउँछन्। हिउँदमा गाउँमै गाडी आएर उत्पादित तरकारी बजारमा पुर्‍याउन सहज भए पनि वर्षायाममा सकस हुने उनको भनाइ छ । 
नाथुरी गाउँका स्थानीयवासी शिवराज कँडेलले अस्तुमा पुल बने आधा १५ मै बुर्तिबाङ बजारमा पुग्न सकिने भए पनि अहिले एक घण्टा बढी लाग्ने बताए।

पुल नबन्दा वर्षा सुरु भएदेखि कात्तिकसम्म गाउँमा मोटर पुग्न नसक्ने उनको भनाइ छ । 

गाउँमा कोही बिरामी परेर अस्पताल लैजानु परे डोकोमा बोक्नुपर्ने स्थिति रहेको कँडेलले बताए। पटक–पटक सरोकारवाला निकायमा माग गरी राखे पनि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ।

पुल सङ्घीय सरकारले विनियोजन गरेको तीन करोड ५० लाखको लागतमा निर्माण हुन थालेको थियो। निर्माण कम्पनीले काम गर्न अटेरी गरेपछि गत वर्ष ठेक्का सम्झौता तोडेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनीयर अमर अधिकारीले जानकारी दिए। 

निर्माण कम्पनीको पेश्की जमानतसमेत जफत गरिएको उनको भनाइ छ । उक्त कम्पनीले ४० प्रतिशत मात्रै काम गरेको छ । त्यसमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको उनी बताउँछन्। 

अब पुलको काम सुरु गर्नका लागि नयाँ डिजाइन गर्नुपर्ने भन्दै त्यसका लागि परामर्शदाता कम्पनी आह्वान गरेको सूचना अधिकारी अधिकारीको भनाइ छ।

परामर्शदाता कम्पनीले नयाँ प्रतिवेदन तयार पारेपछि नयाँ ठेक्का प्रक्रियामा जाने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.