|

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत आज भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबिया जितका लागि १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको थियो।

६० बल खेल्न बाँकी रहँदै नामिबियाले ८ विकेट गुमाएर जित हासिल गरेको हो।

कुशल भुर्तेलले ३ विकेट तथा दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले १/१ विकेट लिए।

पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो। आज नेपालसामु सो हारको बदला लिने अवसर थियो तर चुक्यो।

दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको थियो। नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो।

३ ब्याट्सम्यान शून्यमा आउट

आज ३ जना नेपाली खेलाडीलाई नामिबियाले शून्य रनमा पवेलियन फर्काइदियो। नामिबियाविरुद्ध टस हारेर मैदान ब्याटिङमा उत्रिएका नेपाली ओपनर कुशल भुर्तेल र आसिफ शेखले ६ ओभर २ बल सँगै खेले।

त्यसबेलासम्म भुर्तेलले ३ चौकाको मद्दतले १८ रन बनाए र नेपालको स्कोर ३८ रन थियो। लगत्तै भुर्तेल आउट भए।  मैदानमा आएका अनिल साह २ बल खेल्दै एलबीडब्ल्यू धरापमा परे र पवेलिएन फर्किए। उनीपछि क्रिजमा उत्रिएका देव खनाल पनि ५ बल खेल्दै कुनै स्कोर गर्न नसकी शून्यमै आउट भए।

यतिबेला ८ ओभरमात्र सकिएको थियो भने नेपालको स्कोर ४३ रनमात्र थियो तर टप थ्री नेपाली ब्याट्सम्यान पवेलियन फर्किइसकेका थिए।

यसपछि क्रिजमा आए कुशल मल्ल। आसिफ र मल्लले खेललाई अगाडि बढाए। २०औँ ओभरमा चौथौ विकेटका रुपमा आउट भएका आसिफले ५८ रन  बनाए।  उनले ६४ बल खेल्दै ८ चौका र १ छक्का हानेका थिए।

ओपनर आसिफ आउट भएपछि क्रिजमा आएका कप्तान रोहित पौडेलले ९ बल खेले पनि कुनै रन बनाउन सकेनन् र आउट भए। २३ ओभरको खेल हुँदा नेपालको ५ विकेट खसिसकेको थियो भने कुल स्कोर थियो १२४ रन।

कप्तान पौडेल गएपछि भीम सार्की क्रिजमा आए। अर्को छेउमा मल्लले ५२ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतले ३६ रन बनाएर आउट भए। मल्ल आउट भएपछि मैदानमा आएका दिपेन्द्रसिंह ऐरीले १८ बलमा ६ रनमात्र बनाउन सके। उनी आउट हुँदा ३४औँ ओभरमा नेपालको स्कोर ७ विकेटको क्षतिमा १५१ रन थियो। 

आठौँ विकेटका रुपमा सोमपाल कामी आउट भए। उनले ३ बलको सामना गरेर एउटा चौका हाने। त्यसपछि ३६ बलमा ३ चौका हानेर २६ रनमा खेलिरहेका भीम सार्की आउट हुँदा नेपाल ३५औँ ओभर खेल्दै थियो।

क्रिजमा आएका करण केसीले १२ बल खेले भने १ चौका र १ छक्का हान्दै १२ रन बनाएर आउट भए। यसरी ३७ ओभरमात्र खेलेर नेपाल १६८ रन बनाउँदै अल आउट भयो।

फागुन ३ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा पनि ५ जना नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा नेपाल १३२ रनमै समेटिएको थियो।

उक्त खेलमा कुशल भुर्तेललाई पहिलो बलमा गोल्डेन डक आउट गर्दै आक्रामक सुरुवात गरेको नामिबियाले लगत्तै तेस्रो ओभरको पहिलो बलमै अनिल साहलाई ८ रनमा पवेलियन फर्काइदियो। लगत्तै चौथो ओभरको पाँचौँ बलमा अर्का अनुभवी ओपनर आसिफ सेखलाई ४ रनमा नामिबियाका ज्याक ब्रासेलले आउट गरेका थिए।

खेल नेपालको पक्षमा फर्काउन क्रिजमा उत्रिएका घरेलु कप्तान पौडेलले १३ बल खेलेर जम्मा १ रनमात्र बनाएका थिए‚ ब्रासेलले नै उनलाई पनि दशौँ ओभरको तेस्रो बलमा बोल्ड गरिदिएका थिए। यति बेला नेपालको स्कोर ४ विकेटको क्षतिमा २१ रनमात्र थियो। २२औँ ओभरको बलमा आउट भएका सोमपाल कामीले २ रनमात्र बनाउन सकेका थिए। उनलाई पाहुना टोलीका कप्तान जेरार्ड एरास्मसले फ्राइलिंकको हातबाट क्याच आउट गराएका थिए।

नामिबियाको रवाफिलो बलिङ

नेपाललाई सस्तैमा समेट्न नामिबियाका बलरहरूले धारिलो बलिङ गरे। बर्नार्ड स्कोल्जले भुर्तेल र शेखलाई एलबीडब्ल्यू धरापमा पारे भने साहलाई शून्यमा आउट गराए। भीम सार्कीलाई आउट गरे। उनले १० ओभरको बलिङ गर्दा ४ विकेट लिँदै ३१ रनमात्र दिए। उनको इकोनोमी ३.१० रह्यो।

यस्तै, निकोल लफ्टी-इटनले  कप्तान पौडेल,  ऐरी, कामी र केसीलाई आउट गरे। ६ ओभरमात्र बलिङ गरेका उनले ३४ रन दिँदै ४ विकेट लिए। उनको इकोनोमी ५.५१ रह्यो।

५ ओभर बलिङ गरेका ज्याक ब्रासेलले देव खनाललाई आउट गरे। उनले २४ रन दिँदा ४.८ को इकोनोमी राखे। १० ओभर बलिङ गरेका कप्तान जेरार्ड एरास्मसले मल्ललाई आउट गरे। ३८ रन दिएका उनको ३. ८ इकोनोमी रह्यो।

नेपालको बलिङ

१६९ रनको लक्ष्य लिएर मैदान छिरेको नामिबियालाई पहिलो झट्का १.४ ओभरमा लाग्यो। पहिलो विकेटका रुपमा ८ रन बनाएका निकोलस डाबिन रनआउट हुँदै पवेलियन फर्किए।

कप्तान रोहित पौडेलले त्यसपछि दोस्रो विकेटका रुपमा ३ रन बनाएर खेलिरहेका जेपी कोट्जेलाई क्लिनबोल्ड गरे। तेस्रो विकेट भने कुशल मल्लको पहिलो बलमा नामिबियाका भान लिङगेन आउट हुँदा खस्यो। उनले आउट हुनुअगाडि २ छक्का र ४ चौकाको मद्दतले ३१ रन बनाएका थिए। 

चौथो विकेट भने ऐरीको नाममा रह्यो। ऐरीले ४ रन बनाएर खेलिरहेका जान फ्राइलिंकलाई आउट गर्न सफल भए। क्रिजमा डटिरहेका नामिबियाका कप्तान जेरार्ड एरास्मस अर्धशतक बनाएर खेलिरहेका थिए। उनलाई कुशल भुर्तेलले आउट गराउँदै नेपालका लागि पाँचौँ विकेट लिन सफल भए।

छैटौँ विकेट पनि भुर्तेलकै नाममा रह्यो। उनले जान निकोल लफ्टी एटनलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए। उनले ५ रन बनाएका थिए। नामिबियाको सातौँ विकेट ललित राजवंशीले खसाले।

उनले नामिबियाका आठौँ नम्बरका ब्याट्सम्यान जेन ग्रिनलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए। नामिबियाको आठौँ विकेट भुर्तेलले नै लिए। उनले नामिबियाका नवौँ नम्बरका ब्याट्सम्यान रुबेन ट्रम्पेलम्यानलाई १६ रनको व्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराए। भुर्तेलले व्यक्तिगत ३ विकेट लिए पनि नेपालको जितका लागि यो पर्याप्त हुन सकेन।

आजको खेलमा दुई अर्धशतक

बुधवार भएको खेलमा दुई अर्धशतक बनेका छन्। नामिबियाविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए भने नेपालविरुद्ध नामिबियाका कप्तान जेरार्ड एरास्मसले अर्धशतक बनाए।

शेखले ६४ बल खेल्दै ८ चौका र एक छक्का हान्दै ५८ रन बनाएका थिए भने एरास्मसले ५६ बलमा ८ चौका र २ छक्काको मद्दतले ५२ रन बनाएका थिए।

‘कीर्तिपुर मैदान जसले सुरुमा ब्याटिङ गर्छ, उ हार्छ’

कीर्तिपुर मैदानमा जसले सुरुमा ब्याटिङ गर्छ, उसको हार निश्चितजस्तै भएको छ। फागुन ३ गते लिग-२ को पहिलो खेलमा पनि सुरुमा ब्याटिङ गरेको नेपाल नामिबियासँग सस्तैमा समेटियो। सबै विकेट गुमाएर जम्मा १३२ रनमा समेटियो। नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

दोस्रो खेल नेपाल र नेदरल्याण्ड्सबीच फागुन ५ गते भयो। नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अलआउट भएको हो। नेपालले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य हासिल गर्‍यो र डच टोली ९ विकेटले पराजित भयो।

तेस्रो खेल फागुन ७ गत नेदरल्याण्ड्स र नामिबियाबीच भयो। नेदरल्याण्ड्सले नामिबियाविरुद्ध टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको नामिबियाले सबै विकेट गुमाएर जम्मा १२४ रनको सामान्य लक्ष्य दियो। जसलाई नेदरल्याण्ड्सले २७ ओभर २ बलमा ३ विकेटमात्र गुमाएर भेट्टाएको थियो।

आज पनि पहिले ब्याटिङ गरेको नेपाल पराजित भएको छ। लिग-२ को जारी त्रिकोणात्मक शृंखलाका कीर्तिपुरस्थित त्रिवि मैदानमा आजसम्म भएका ४ वटै खेलमा पहिले ब्याटिङ गर्ने टोली पराजित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.