|

मनाङ : मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका ६ का अन्दाजी ३७ वर्षीय वीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

ङिस्याङ गाउँपालिका ४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो। 

घर मर्मत गर्ने नौ जना कामदारमध्ये आठ जनाको सकुशल उद्धार गरिएको छ। उनीहरुमध्ये एक जना सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो। 

उनले भने, “केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ। सो मर्मतका क्रममा घर भत्किएको हो। घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ।”

माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो। 

मृतक घलेको शव पोष्टमार्टमका लागि चामे पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। 

उनले थपे, “माटोले पुरिँदा एक जनाको टाउकोमा सामान्य चोट लागेकोमा प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.