|

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडा–काठमाडौं जोड्ने आधा दर्जन सडकमध्ये छोटो दुरीको भैंसे– कुलेखानी–फाखेल फर्पिङ सडकखण्ड स्तरोन्नतिको काम पछिल्लो समय धमाधम भइरहेको छ।

बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका मार्गमा विगतमा सामान्य मर्मतसम्भार गर्दै आएपनि पछिल्लो तीन आर्थिक वर्षदेखि भैसे–कुलेखानी– फाखेल–फर्पिङ सडकखण्ड र भैसे– कुलेखानी–सिस्नेरी–दक्षिणकाली– फर्पिङ खण्डको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै आएको हो।

भैंसे–कुलेखानी–फाखेल फर्पिङ सडकखण्डअन्तर्गत मकवानपुर र काठमाडौंको सीमाना हुमाने भन्ज्याङदेखि फर्पिङसम्मको करिब ११ किलोमिटर सडक हाल तीनवटा प्याकेजमा काम भइरहेको छ। दुई वर्ष अगाडि नै भीमफेदी–कुलेखानीसम्म १६ किलोमिटर सडकखण्ड यातायात पूर्वाधार निर्देशनालयबाट सम्पन्न भइसकेको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए।

हाल तीनवटा प्याकेजमध्ये भैसे–भीमफेदी सडक खण्ड र फर्पिङ हुमानेभञ्ज्याङ् सडक खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ। लामो समयसम्म जग्गाको मुआब्जा तथा घरटहराको विषयमा स्थानीयसँग सहमति हुन नसक्दा भैसे–भीमफेदी सडकखण्डको काम अबरुद्ध हुँदा केही समस्या भएको र हाल त्यो समस्या समाधान भइसकेपछि सडक खण्डको पनि तीव्र रुपमा काम भइरहेको अधिकारी ओझाले बताए।

हालसम्म भैसे–भीमफेदी सडक खण्डमा साढे ५ किलोमिटर सडक कालोपत्रे भइसकेको र आगामी दुई हप्ताभित्र तीन किलोमिटर कालोपत्रे कार्य सम्पन्न हुने अधिकारी ओझाले जानकारी दिए।

यसैगरी तीन प्याकेज अन्तर्गत फर्पिङ हुमाने सडकखण्डको हुमाने भञ्ज्याङदेखि मगरगाउँसम्म साढे तीन किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको यो खण्डको एक महिनाभित्रै ४ किलोमिटर सडक कालोपत्रे हुने र अढाई किलोमिटर मात्रै बाँकी रहने पूर्वाधार विकास निर्देशालय हेटौंडाले जनाएको छ।

पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन भइरहेको कुलेखानी हुमानेभञ्ज्याङ खण्डमा पनि तीब्रगतिमा कार्य भइरहेको बताउँदै यो खण्डको कालोपत्रे गर्ने कार्य चालु आर्थिक वर्षको योजनामा नरहेको हुँदा अन्य सहायक सडक संरचना बनाउने कार्य पनि तीब्र गतिमा भइरहेको सूचना अधिकारी ओझाले बताए।

उनका अनुसार यो सडक खण्डको सम्भव भएसम्म फराकिलोसहित कालोपत्रे गर्ने प्रदेश सकारको लक्ष्य रहेको छ। भैसे–भीमभेदीखण्ड डबल लेन स्ट्यान्डर्डमा र अन्य खण्डमा ईन्टरमेडियड स्ट्यान्डर्डमा निर्माण भइरहेको छ। अर्को खण्डअन्तर्गत कुलेखानी–सिस्नेरी हुँदै छैमले जाने सडक खण्ड पनि डबल लेन स्ट्यान्डर्डमा निर्माण हुन्छ।

यो सडक ७ मिटरको कालोपत्रे हुने र ईन्टर मेडियड स्ट्याण्डर्डमा साढे ५ किलोमिटर कालोपत्रे हुनेछ। यातायात पूर्वाधार निर्देशनालयमाफर्त् काम भइरहेको भैंसे भीमफेदी सडक खण्ड चैत मसान्तभित्र म्याद रहेको छ। जुन सडकखण्डको आशिष डीएस जेभि हेटौंडाले निर्माण गरिहेको छ।

यसैगरी, फर्पिङ खण्डको पनि यसै आवमा सम्पन्न हुने र फाखेल खण्डको सडक निर्माण भने आगामी आर्थिक वर्षको म्याद भएको हुनाले यस वर्ष सम्पन्न नहुने जनाएको छ।

राजधानी पूर्वाधार विकास आयोजनामार्फत् निर्माण भइरहेको सिस्नेरीखण्ड पनि दुई प्याकेजमा काम भइरहेको हुँदा यसै आवमा यो सडक निर्माण सम्पन्न हुने निर्देशनालयको विश्वास छ।

महालक्ष्मी दोभानको छोटो दुरीका रुपमा रहेको मातातीर्थ हुँदै कलंकी निक्लने सडकखण्डको ७ किलोमिटर सडकखण्ड पूर्वाधार विकास कार्यालयमाफर्त तीव्रगतिमा काम भइरहेको र मकैबारी मकवानपुर खण्डसम्म भने पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत् मकैबारीदेखि मातातीर्थको शसस्त्र बेशक्याम्पको गेटसम्म ८ किलोमिटर यसै आवमा सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ। हेटौडाबाट काठमाडौं उपत्यका प्रवेशका लागि सबैभन्दा छोटो दुरी यो रुट रहेको छ।

यो सडकखण्ड निर्माणका लागि प्रदेश सरकारले हालसम्म करिब १ अर्ब १४ करोडको लगानीमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता गरेको छ। हालसम्म कुनै सडक खण्ड ८० प्रतिशत प्रगति भएको छ भने कुनै सडक खण्ड निर्माणमा ६० प्रतिशत प्रगति भएको र त्यही आधारमा हालसम्मको खर्चको विवरण भने कार्य सम्पन्न पश्चात मात्रै थाहा हुने सूचना अधिकारी ओझाले बताए।

निर्माणाधीन सम्पूर्ण सडक प्रदेश सरकारकै लगानीमा निर्माण भइरहेको छ भने समपुरक कोष अन्तर्गत ५० प्रतिशत अर्थात् २५ करोड मात्रै संघीय सरकारको लगानी रहेको छ।

निर्माणाधीन सडकखण्डहरु सबै तोकिएकै मापदण्ड अनुसार भइरहेको हुँदा गुणस्तरमा ध्यान दिएर प्रदेश सर कारले निगरानी गरिरहेको समेत जनाइएको छ।

यही चालु आवमा भैसे– भीमफेदी र फर्पिङ हुमाने सडकखण्ड निर्माण सकिने र कंलकी–हुमानेसम्म चालु आवमा कालोपत्रे सम्पन्न हुने सम्भावना नभएको ओझाको भनाइ छ।

निर्माणाधीन सडकखण्ड सम्पन्न भइसके पश्चात भने हेटौंडादेखि काठमाडौंसम्म करिव सवा दुई घण्टामा पुग्न सकिने जनाइएको छ। सूचना अधिकारी ओझाका अनुसार सडक निर्माणले यात्रुहरुको समयको बचत हुनाका साथै यात्रामा सहजता र दुर्घटना जोखिम न्यूनीकरण हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.