|

काठमाडौँ : यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आवका लागि नीति तथा कार्यक्रम बजेटका विषयमा छलफल गर्न थालेको छ। यसरी नयाँ आवका लागि कार्यक्रम बनाउने तयारमा रहेको मन्त्रालयले चालू आवमा समेटिएकै कार्यक्रम कार्यान्वयन गर्न नसकेको पाइएको छ।

गत जेठ १५ गते सरकारले ल्याएको चालू आवको बजेट (२०८०।०८१) को २३४ नम्बर बुँदामा ‘महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः विस्तार गरिनेछ। पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिनेछ’ भन्ने उल्लेख गरिएको थियो। तर चालू आव सकिन चार महिना मात्रै समय रहेको समयमा यो बुँदा कार्यान्वयन हुने अत्तोपत्तो छैन।

भ्याक्सिन एलायन्स (गाभी)को सहयोगमा सरकारले चालू आवदेखि नै यो खोप कार्यक्रमलाई विस्तार गर्दै लगेर सरकारले ९ देखि १४ वर्ष उमेर समूहका करिब १६ लाख बालिका तथा किशोरीलाई यो खोप दिने योजना गरेको  थियो।

बरु खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी वर्षको बजेटमा एचपीभी खोप सञ्चालन गर्ने कार्यक्रम पार्न र त्यसका लागि १ अर्ब ३२ करोडभन्दा बढी बजेट चाहिने विवरण अर्थ मन्त्रालयमा पठाउन भन्दै स्वास्थ्यमा जानकारी गराएको छ।

यस अघिल्लो आव (२०८९।०८०)कै नीति तथा कार्यक्रममा उल्लेख भएको एचपीभी खोपको पहिलो मात्रा लगाउने कार्यक्रम पहिलो मात्रा लगाउने कार्यक्रम भने यो वर्ष लागू गरिएको थियो। जस अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसो त अघिल्लो वर्षको बजेटबाट आएको २० हजार भाइल एचपीभी खोपको पहिलो मात्रा लगाउने कार्यक्रम २७ भदौदेखि सञ्चालन गरिएको थियो। जसअनुसार मन्त्रालयले काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालसहित देशभरका ६ वटा संघीय अस्पतालमा डेमोस्ट्रेसनको रूपमा यो कार्यक्रम सञ्चालन गरिएको थियो।

त्यस वेला मन्त्रालयले २० हजार भाइल एचपीभी खोप साढे ९ हजार किशोरीलाई लगाएको थियो। जुन खोपको दोस्रो मात्रा खोप अबको केही दिनमा शुरु हुँदै छ। परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार चैत ८ गतेपछि यसअघि खोप लगाएका स्थानबाट  दोस्रो मात्रा खोप लगाइने बताए।

डा. गौतमले भने‚ ‘पहिलो मात्रा खोप लगाएको ६ महिनादेखि १२ महिनाभित्र दोस्रो मात्रा खोप लगाउन मिल्छ। त्यसअनुसार हाम्रोमा यही चैत  ८ गतेबाट दोस्रो मात्रा खोप लगाउन मिल्छ। त्यसैले हामीले यसअघि खोप लगाइएका केन्द्रलाई चैत ८ गतेपछि आफूअनुकूल दोस्रो मात्रा खोप प्रदान गर्न सूचना पठाइसकेका छौँ।’

यसअघि पनि स्वास्थ्य मन्त्रालयले सन् २०१५-०१६ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको कास्की र चितवनमा पाइलटिङ गरेको थियो। तत्कालीन समयमा खोप कार्यक्रमलाई थप विस्तार गरेर लगिने सरकारले जनाएको थियो तर त्यसपछि लगातार यो कार्यक्रमले निरन्तरता पाएको थिएन। तर अहिले (सन् २०२३) मा आएर  पुन: डेमोस्ट्रेसनका रूपमा संघीय अस्पतालहरूबाट यो खोप लगाउन सुरु गरिएको थियो।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका एक अधिकारीका अनुसार नेपालको खोप कार्यक्रम सफलता हेरेर गाभीले एचपीभी खोप खोप दिन तयार भए पनि हरेक वर्ष बजेटमा प्रथामिकताका साथ यो खोप कार्यक्रमलाई राख्ने गरे पनि कार्यान्वयनमा ध्यान नदिँदा समयमै यो कार्यक्रम विस्तार हुन नसकेको हो।

ती अधिकारीले भने‚ ‘केही वर्षअघिदेखि निकै महत्त्वाकांक्षी तरिकाले अघि सारिएको कार्यक्रम हो। किशोरीहरूलाई एचपीभी खोप लगाउने कार्यक्रम तर सरकारको प्रयास समयमै नहुँदा यो कार्यक्रम सफल हुन सकेको छैन, विश्वमै यो खोप उत्पादन पर्याप्त भइसकेको छैन। जसले गर्दा खोप आउन समय लाउँछ। यस्तो अवस्थामा अर्को वर्ष खोप कार्यक्रम सञ्चालन गर्नु छ भने एकदुई वर्ष अघिनै गाभीसँग खोप माग्ने प्रक्रिया अगाडि बढाउनुपर्छ। हाम्रोमा त खोप माग्नुभन्दा पहिला लगाउने घोषणा गरिन्छ जसले गर्दा यो कार्यक्रम विस्तार हुन सकेको छैन।’

यसले गर्दा सन् २०२४ सम्म देशभरका सबै किशोरीलाई वितरण गरिसक्ने गरी लिएको लक्ष्य त्यति सफल नहुने देखिएको छ। हुनत हाल एचपीभी खोप नेपालमा निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि वितरण गर्दै आएका छन्।

सरकारले सहजरूपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गरिरहेका छन्।  जस कारण महिलाहरू उक्त खोपका लागि महँगो शुल्क तिर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.