|

विराटनगर : विराटनगरलाई यसको पूर्वी छेउमा सिंगिया र पश्चिमी छेउमा शहरको सीमा कोरेका छन्। सिंघिया-केशलिया शहरको सौन्दर्यका स्रोत पनि हुन्। विराटनगर बजारभित्रका नदीको महत्त्व त्यस क्षेत्रका बासिन्दासँग जोडिएको हुन्छ।

नदीसँग मानवको सम्बन्ध जीविकाका हिसाबले समेत जोडिन्छ तर पछिल्लो समय बढ्दो शहरीकरण र जनघनत्वका कारण यी दुवै नदीको अस्तित्व धरापमा पर्दै गएको छ। त्यसमा पनि यी नदीमा हुने प्रदूषणको समुचित व्यवस्थापन नहुँदा त्यसले पारेका असर प्रत्यक्ष देख्न सकिन्छ।

त्यसो त सुनसरी–मोरङ सिँचाइ आयोजनाअन्तर्गत विराटनगर शाखा नहरले समेत यहाँ पानीको स्रोत र सौन्दर्यमा इट्टा थप्दै आएको छ। तर पछिल्लो समय ती नदीजस्तै नहर पनि शहरका लागि डम्पिङ साइटमा परिणत भइरहेको छ।

डम्पिङसाइट बनेका यिनै नहरलाई शहरको सौन्दर्यको गहना बनाउने अभियान अहिले ‘अचेत समूह’ र ‘पाइला परिवर्तनका लागि’ नामका दुई समूहको पहलमा सरसफाइ अभियान चलिरहेको छ।

‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उखान चरितार्थ पार्दै यतिवेला ‘अचेत समूह’ र ‘पाइला परिवर्तनका लागि ’ को संयुक्त आयोजनामा शुरु भएको नहर सरसफाइ अभियानले वृहत रुप लिएको हो। 

विराटनगर हाइवे पश्चिमको केन्द्रमा पर्ने यो नहर डम्पिङ साइट बन्दै गएको थियो तर अभियान शुरु भएपछि नहर शहरको सुन्दरताका लागि बदलिँदो क्रममा रहेको छ।

वृहत नहर सरसफाइ अभियानका संयोजक संजयबाबु शर्माका अनुसार माघ २० गते शुरु गरेको सरसफाइ अभियान अहिले ७औँ हप्तामा छ। प्रत्येक शनिवार विहान ८ बजेदेखि नहर सरसफाइ अभियानको शुरुवात हुन्छ।

शुरुका दिनमा पाइला परिवर्तनको साथ पाएको अचेत समूहलाई अहिले राष्ट्रिय सनातन सेवक, लिबर्टी नेपाल, स्काउट, लियो, कबाडी डटकम, पोखरिया स्कुल, आदर्श, पुसेट जस्ता शैक्षिक संस्थाले पनि सहयोग गरिरहेका छन्। 

जसको सन्देश विद्यार्थीमार्फत अभिभावकसम्म पनि पुगिरहेको छ। नदी, तलाउ वा पानी वहने नहर शहरका लागि गहना हुन्, जुन ठाउँमा पानीको बहाव रोक्ने कुनै पनि वस्तु फाल्नु हुन्न।

अभियानका संयोजक शर्माका अनुसार युवा, समाजसेवी, राजनीतिज्ञ तथा अभियन्ताहरुको पनि निरन्तर सहभागिताले अझै उत्साह थपिरहेको छ। 

अचेत समूहका अध्यक्ष सविन घिमिरेका अनुसार सकारात्मक कामका लागि हातेमालो गर्नेहरुको संख्या दैनिक थपिँदो छ।

उनका अनुसार अभियानलाई लिलिपुट स्कुलले ६ वटा ठूलो डस्टबिन, म्याजिक लण्ड्री एण्ड क्लिनिङ्ग सर्भिसेजले ५ वटा डस्टबिन र नहर सरसफाइ अभियानको क्रममा काम नलाग्ने फलाम बिक्री गरेर विराटनगर महानगरपालिकाले १५ वटा सानाठूला डस्टबिन उपलब्ध गराएको छ।

सरसफाइ साझेदारी संस्था नेपाल फूलबारीले आवश्यक फोहोर बोक्ने टिपर, सरसफाइ कर्मचारी दैनिक उपलब्ध गराएर सहयोग गरेको उनको भनाइ छ। 

नोबेल मेडिकल कलेज गेटदेखि एयरपोर्ट मोडसम्मको नहरमा सरसफाइ गरिसकेको भए पनि पुनः फोहोर भएकाले पहिलेकै स्थानमा फेरि सरसफाइ थालिएको छ। 

नोबेल मेडिकल कलेजअगाडिको ढल नहरमा आएर मिसिने भएकाले जति सफा गरे पनि त्यो ढलले नहर फोहोर हुने हुँदा त्यो नपुरुन्जेल सफाइको काम अगाडि नबढ्ने भएकाले त्यहीँ अड्किएको अध्यक्ष घिमिरको भनाई छ।

‘निकासका लागि विराटनगर महानगरपालिकाले कुलो बनाउन जग्गासमेत नापिसकेको छ,’ उनले भने, ‘विराटनगर महानगरले अहिले नोबेलको माथि पुलचोकमा जाली बनाएर ब्लक राखेको छ, जसले गर्दा ठोस पदार्थ बगेर तल नहरमा जाँदैन।’

नहर सफाइ अभियानमा विराटनगर महानगरपालिका, विभिन्न संघसंस्था, विद्यालय‚ सामाजिक संघ संस्थाहरुको प्रत्यक्ष अप्रत्यक्ष साथ रहेको उनको भनाई छ। 

विशेष जनसरोकारको विषय र अन्यायविरुद्ध आवाज उठाउँदै आइरहेको अचेत समूहले नहर सरसफाइमा कुनै विज्ञता नभए पनि यो समूहले यसलाई प्रकृतिमाथि भएको अन्याय भनेर बुझेको छ।

सरसफाइ शीर्षकमा छुटाइएको बजेटहरुले नहर सरसफाइ हुन नसक्नु जनताको करमाथिको अन्याय भएको बताउँदै उनीहरुले विराटनगरवासीको स्वस्थ्य बाँच्न पाउने अधिकार हनन गरेको भन्ने उनीहरुको बुझाई रहेको बताउँछन्। यसकारण पनि नहर सरसफाइ अभियान प्रकृतिमाथिको अन्यायविरुद्धको आन्दोलन रहेको अध्यक्ष घिमिरेको भनाई छ।

यसअघि पनि तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा सिंगिया, केशलिया नदी  सरसफाइ अभियान शुरु गरिएको थियो। केही समय सरसफाइ अभियान चलेको भए पनि त्यसपछि निरन्तरता पाउन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.