|

नेपालमा ज्येष्ठ नागरिकको संख्या बढेको छ। ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्योपचार बारे समाजमा भ्रम र लापरवाही छन्। ज्येष्ठ नागरिकमा कुनै समस्या आए सबैभन्दा पहिला बुढ्यौली भनेर वास्ता गर्दैनौँ। जटिल लक्षण र अवस्था आएपछि मात्रै अस्पताल दौडन्छौँ।

काठमाडौं मेडिकल कलेज सिनामंगलका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. अनन्त अर्यालले धेरैजसो ज्येष्ठ नागरिक रोगले च्यापेर धेरै जोखिम अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने गरेको बताए। कतिपय रोग ४० वा ५० वर्ष कटेपछि मात्र देखिन्छन्। त्यसलाई बुढ्यौलीको संकेत भनेर टार्न नहुने उनको सुझाव छ। नेपालीको जीवनशैली बदलिए पनि खानपान बदल्न नसक्दा स्वास्थ्यमा सधैँ समस्या आइरहेको विभिन्न अध्ययनले देखाएको छ। ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. अनन्त अर्यालसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानी।

नेपालमा पाका उमेरका व्यक्तिको स्वास्थ्य अवस्था कस्तो पाउनुभएको छ ?

तथ्यांकअनुसार नेपालमा अहिले ३० लाख जति ज्येष्ठ नागरिक हुनुहुन्छ। ज्येष्ठ नागरिकमा शारीरिक, मानसिक समस्या आए पनि सामान्य हो भन्ने चलन छ। रोग जटिल भएपछि मात्रै अस्पतालमा आउने मैले देखेको छु। कतिपटक ज्येष्ठ नागरिक रोग धेरै बढेको अवस्थामा उपचार गराउन आइपुग्नु हुन्छ। अहिलेको अवस्थामा प्रेसर, सुगरजस्ता रोग एकदमै बढेका छन्।

युवावस्थामा हामीले अपनाएको जीवनशैलीको असरले ज्येष्ठ अवस्था असन्तुलित र जोखिमपूर्ण छ‚ साँचो हो?

केही रोग ६०–६५ वर्षपछि मात्रै लाग्छन्। मधुमेह र उच्च रक्तचाप ३०–४० कै उमेरमा शुरु हुन्छन् र ती रोग ज्येष्ठ नागरिकमा थुप्रिँदै जान्छन्। यो हाम्रो जीवनशैलीले गर्दा पनि हो। पहिले खेतिपाती गर्ने थियो। खेतिपाती छोड्दै जाने, शहरकेन्द्रित हुने र एकदमै व्यस्त जीवनशैली हुने, तनाव व्यवस्थापन गर्न पनि गाह्रो हुने, त्यसमाथि खाना परिवर्तन भएन। खेतिपाती गर्ने वेलाको खाना खाइरहेका छौँ। हामी सन्तुलित भोजन खान्छौँ। जस्तैः भात, दाल, तरकारी, अचार यो सबै हुँदाखेरी हामीले सन्तुलित तत्त्व पाउँछौँ तर हाम्रो अहिलेको खानामा कार्बोहाइड्रेडको मात्रा धेरै भयो। खेतिपाती गर्दा हामीलाई भात धेरै चाहिन्थ्यो तर अहिले त्यस्तो परिश्रम गर्दैनौँ। अहिले हामीलाई भात त्यति चाहिँदैन। जंक फुड धेरै खाँदा मधुमेह, उच्चरक्तचाप, थोइराइडका समस्या देखिए। स्वास्थ्यका लागि फलफूल, तरकारी खान्छौँ। ती पनि धेरै विषादी र किटनाशक औषधि हालेर उत्पादन भएका छन्। त्यसले पनि हाम्रो रोगलाई बढेको छ। हाम्रो औसत आयु बढेसँगै रोग पनि बढे।

अरू देशका नागरिकको तुलनामा हाम्रो जीवनशैली असन्तुलित र जोखिमपूर्ण हो?

हामीले अझै पनि खानामा ध्यान दिएका छैनौँ। हाम्रो परिश्रम र जीवनशैली परिवर्तन भयो। काम गर्ने तरिका परिवर्तन भएको हिसाबले खानपिन परिवर्तन भएन। कार्बोहाइड्रेडलाई कम गरेर प्रोटिन, फलफूल, तरकारीलाई ज्यादा जोड दिनुपर्थ्यो। भात र रोटी कम गरी दाल, तरकारी, फलफूल बढाउनु पर्थ्यो। हामी अझै भात धेरै खान्छौँ। यसले मधुमेहको समस्या देखिएको छ। अर्को कुरा तनाव बढ्दो छ। कसैलाई एक ठाउँ मात्रै काम गरेर नपुग्ने अवस्था छ। दुईतीन ठाउँ दौडिनुपर्दा त्यसले तनाव पनि बढाएको छ। प्रदूषणले पनि विभिन्न किसिमका रोग निम्त्याउँछ। समग्रमा भन्नुपर्दा धेरै व्यस्त हुने, व्यायाम, योग, प्रणायाम र ध्यानका लागि समय दिन नसक्दा पनि रोग बढाएको छ।

अहिलेको अवस्थामा नेपालका ज्येष्ठ नागरिकमा देखिएका खास समस्या के हुन्?

नसर्ने रोग उच्च रक्तचाप, मधुमेह, थोइराइड, दमका समस्या देखिँदै गएका छन्। यी रोग ४०–५० बाट शुरु भएर ६०–७० सम्म थपिँदै गएका छन्। त्यस्तै ज्येष्ठ नागरिकमा देखिने समस्या, अल्जाइमर्स (विस्मृति) बढ्दो छ। डिमेन्सिया र पार्किन्सन्स पनि देखिन्छ। त्यस्तै आँखा कम देख्ने र कान कम सुन्ने। उमेर बढ्दै जाँदा हड्डी खिइने र घुँडाको समस्या देखिन्छ। कम्मरको हड्डी भाँच्चिने समस्या पनि देखिन्छ। त्यसबाट थला पर्ने र समयमा उपचार नभए विभिन्न समस्या देखिन्छ। पुरुषमा प्रोस्टेडको समस्या र महिलामा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरका समस्या र उमेर बढ्दै जाँदा विभिन्न क्यान्सरको जोखिम बढ्छ। पेटको क्यान्सर, फोक्सोको क्यान्सर, कलेजको समस्या पनि देखिन्छ। हृदयघात र मस्तिष्कघात पनि बढ्दो छ।

यस्ता समस्यामा हाम्रो उपचार पद्धति कस्तो छ ?

ज्येष्ठ नागरिकमा पहिल्यै देखिएका उच्च रक्तचाप, मधुमेह, दम, थोइराइडको उपचार उहाँहरूले पाइराख्नुभएको हुन्छ। ६० वर्षभन्दा माथि देखिने रोग, बिर्सिने समस्या, पार्किन्सन्स रोगका समस्यामा उपचारमा ढिलाइ भइराखेको छ। उमेरले गर्दा बिर्सिएको भनेर बेवास्ता भइरहेको छ। लामो समय खोकी लाग्दा बुढ्यौलीले भनेर बेवास्ता भइराखेको छ। लामो समयदेखिको खोकी दम वा क्यान्सर हुनसक्छ। लामो समयदेखि खोकी लाग्नु फोक्सोको क्यान्सरको लक्षण हुनसक्छ। त्यो बढेर मान्छेले खाना खान छोड्ने, दुब्लाउने र एकदमै अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पतालमा आएको हुन्छ। क्यान्सर अन्तिम चरणमा धेरै गर्न सक्ने हुँदैन। ज्येष्ठ नागरिकमा कुनै पनि किसिमको शारीरिक अथवा मानसिक समस्या होस्। कुनै पनि परिवर्तन देखिएमा चाँडै डाक्टरसँग परामर्श गरे हामीले धेरै रोगको उपचार गर्नसक्छौँ।

ज्येष्ठ नागरिकको उपचारको खर्च कत्तिको सुलभ छ?

काठमाडौँ मेडिकल कलेजमा ५० रुपैयाँको नयाँ टिकटले र २५ रुपैयाँको फलोअप टिकले यहाँ विशेषज्ञलाई भेट्न सक्नुहुन्छ। डेढ सय रुपैयाँमा तपाईंले सुगरको उपचार गर्न सक्नुहुन्छ। विशेषज्ञ डाक्टरसँग परामर्श लिएर के औषधि खाने, कसरी खाने तपाईंले मलाई भेट्न सक्नुहुन्छ। दम, थोइराइड, उच्च रक्तचाप, बिर्सिने रोगको समस्याको उपचार पनि हुन्छ। अल्जाइमर्स र डिमेन्सिया लाग्नेबित्तिकै उपचार सम्भव छ। हामीकहाँ मुटु रोग, कलेजो रोग, पेट सम्बन्धी रोग, नसा सम्बन्धी रोग, हाडजोर्नीका विशेषज्ञ पनि हुनुहुन्छ।

प्रौढ अवस्थामा आउने समस्याका घरेलु उपचार विधि केही हुन सक्छन् ?

ज्येष्ठ नागरिक विभिन्न अवस्थामा हुन सक्नुहुन्छ। रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हो। सन्तुलित भोजन गरियो भने विभिन्न रोगबाट बच्न सक्छौँ। ज्येष्ठ नागरिकले भातरोटी, अन्नभन्दा प्रोटिन, तरकारी र फलफूलमा जोड दिँदा राम्रो हुन्छ। दैनिक एक घण्टा घाम तापे भिटामिन डी हाम्रो शरीरलाई पर्याप्त हुन्छ। त्यसो गर्दा भिटामिन डी, क्याल्सियमको कमी, हड्डी खिइने समस्याबाट जोगिन सक्छौँ। नियमित व्यायाम गरे मधुमेह र उच्च रक्तचापबाट बच्न सक्छौँ। दैनिक ३० मिनेट बिहान र ३० मिनेट बेलुका हिँडे पनि उच्च रक्तचाप, मधुमेह, हड्डी कमजोर हुनेदेखि विभिन्न रोगबाट बच्न सक्नुहुन्छ। त्यसकारण दैनिक हिँडडुल गरौँ। नाचगान पनि शरीरका लागि एकदमै राम्रो हो। समूहमा भजन, कीर्तनमा नाच्नुभयो भने शारीरिक र मानसिक अवस्था राम्रो बनाउन मद्दत गर्छ।

धेरै ज्येष्ठ नागरिक पुरुषहरू पिसाबको समस्याले निद्रा गडबड हुन्छ। निद्रा गडबड भएपछि त्यसले मधुमेह, उच्च रक्तचाप बढाएर पनि आउनुहुन्छ। त्यसकारण पुरुषमा उमेर बढ्दै गएपछि प्रोस्टेड ग्रन्थी बढेर त्यसले पिसाबको समस्या आउँछ। त्यसको कारणले राति धेरैचोटी पिसाब गइराख्नुपर्ने हुनसक्छ। प्रोस्टेडको समस्या छ भने औषधि खाएर नियन्त्रणमा राख्न सकिन्छ। राति धेरैचोटी पिसाब जान नपरे उच्च रक्तचाप र मधुमेह पनि नियन्त्रण हुन्छ।

दोस्रो घरेलु तरिका बिहान र दिउँसो मजाले पानी पिउने, साँझ परेपछि पानीको मात्रा कम गर्नुपर्छ। बिहान, दिउँसो खान मिल्ने औषधि बिहान, दिउँसै खाने। औषधि खाँदा थोरै पानीले खाइयो भने राति धेरैचोटी पिसाब जान उठ्नु परेन। राति धेरैचोटी पिसाब लाग्नेले साँझ परेपछि चिया, कफी, दूधको मात्रा घटाउनुपर्छ। निद्रा राम्रोसँग नपरे विभिन्न समस्या निम्त्याउँछ। त्यही भएर ज्येष्ठ नागरिक ६ देखि ८ घण्टा गहिरो निद्रा हुन जरुरी छ।

घुँडाको समस्या छ भने उकालो–ओरालो धेरै नगर्नु होला तर समथरमा हिँड्न सक्नुहुन्छ। कब्जियतको समस्या हुनेले सागपात र पानीको मात्रा बढाउनु होला। ओछ्यानमा परेका ज्येष्ठ नागरिकलाई एकदमै ख्याल गर्नुपर्ने हुन्छ। दुई, दुई घण्टामा उहाँहरूको पोजिशन बदल्ने। ओछ्यान पर्नेलाई प्रोटिनको मात्रा बढी चाहिन्छ। युवावस्थामा हामीलाई एक ग्राम प्रतिकेजी प्रोटिन चाहिन्छ भने ओछ्यान परेका ज्येष्ठ नागरिकलाई डेढ ग्राम प्रतिकेजीसम्म प्रोटिन चाहिन्छ। उहाँहरूलाई भातभन्दा पनि प्रोटिन हुने चिज अण्डा, मासु, गेडागुडी, ब्रोकाउलीमा जोड दिने। ज्येष्ठ नागरिकलाई सुताईकन केही खान दिनुहुँदैन। सुतेका वेला खाँदा पानी सर्किन्छ। सर्किएर हुने निमोनिया एकदमै कडा हुन्छ। त्यही सर्काइले मृत्यु हुनसक्छ। तेल लगाइदिने, मिलस गरिदिने गरे घाउ हुने र रगत जम्ने सम्भावना कम हुन्छ। उहाँहरूलाई फिजियोथेरापी गरियो भने पनि एकदमै राम्रो हुन्छ।

कस्तो अवस्था हुँदा ज्येष्ठ नागरिक अस्पताल आइहाल्ने ?

ज्येष्ठ नागरिकमा कुनै पनि किसिमको शारीरिक र मानसिक समस्या आएमा अस्पताल आउनुपर्छ। हामी धेरै शरीरमा मात्रै समस्या भयो भने आउँछौँ तर ज्येष्ठ नागरिकमा मानसिक समस्या पनि उत्तिकै हुन्छ। एन्जाइटी, डिप्रेशनको समस्या पनि ज्येष्ठ नागरिकमा हामीले धेरै देखिरहेका हुन्छौँ। त्यही भएर ज्येष्ठ नागरिकमा कुनै पनि समस्या आयो भने हप्ता, दश दिनमा ठिक भएन भने तुरुन्त अस्पताल आइहाल्नुस्। ज्येष्ठ नागरिकमा संक्रमण भयो भने पनि सधैँ ज्वरो आउँछ भन्ने जरुरी छैन। रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आइसकेको हुनाले सबै संक्रमणमा ज्वरो आउँछ भन्ने जरुरी छैन। ज्येष्ठ नागरिकको अवस्थामा अलिकति पनि परिवर्तन आयो भने समयमै उपचार गर्न आए त्यो रोग जटिल हुनबाट बचाउन सक्छौँ। शुरुवाती अवस्थामै भयो भने कम खर्चमै जुनसुकै रोग उपचार गर्नसक्छौँ।

अन्तिममा आमनागरिकलाई यहाँका केही सुझाव छन् कि ?

नेपालमा ज्येष्ठ नागरिक रोगका विशेषज्ञ डाक्टर अहिले चारजना छौँ। अरू डाक्टर पनि आउँदै हुनुहुन्छ। हजुरहरूको सेवाका लागि हामी तयार छौँ। तपाईंहरूले हामीसँग आएर सेवा, परामर्श लिन सक्नुहुन्छ। हजुरहरूले जीवनशैली राम्रो बनाउनुहोस्। आफूले सकेको परिश्रम गरिराख्नुस्। तपाईं जति सक्रिय हुनुहुन्छ, रोग लाग्ने सम्भावना त्यति कम हुन्छ। लागेकै रोग पनि नियन्त्रणमा बस्छ। म बूढो भएँ केही गर्न सक्दिनँ भन्नुभयो भने रोग लाग्ने समस्या बढ्दै जान्छ। उमेर भनेको अंकमात्रै हो। तपाईं आफूलाई जति जवान सम्झनुहुन्छ र सक्रिय हुनुहुन्छ, त्यति निरोगी हुनुहुन्छ। त्यति लामो आयु हुन्छ। त्यही भएर उमेर बढ्यो भन्दैमा दिन गए भन्ने नसोच्नु होला। हामीले जीवनशैली सक्रिय बनाइराख्यौँ, स्वस्थ जीवनशैली बनाइराख्यौँ भने बुढ्यौली स्वस्थ र खुसी साथ बित्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.