|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसी सेनामा गएको नेपालीहरुको खोज्ने प्रयत्नसमेत नगरेको बताएका छन्। रुसमा नेपाल आउने चाहनामा तड्पिएर बसेका नेपालीहरुलाई फिर्ता ल्याउने काममा पनि सरकार गम्भीर नभएको सांसद पौडेलको भनाइ थियो।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा उनले ती नेपालीहरुलाई नेपाल ल्याउन प्रयास किन नगरेको? भनी सरकारलाई प्रश्नसमेत गरे।

करिब ३ सय बढी रुसी सेनामा कार्यरत नेपालीहरु बेपत्ता भएको तथ्यांक आफूले पाएको उल्लेख गर्दै सांसद पौडेलले त्यसको खोजी गर्नसमेत सरकारले पहल नलिएको जिकिर गरे। उनले युक्रेनी सेनामा पनि नेपालीहरु रहेको कुरा युक्रेनले सार्वजनिक गरेको भन्दै त्यसप्रति पनि सरकारले चासो नदिएको बताए।

सांसद पौडेलले भने, ‘केही समय अघि हमासले बन्धक बनाएको विपिन जोशीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन। नेपालले एउटा नेपाली नागरिकलाई उसको अवस्था पत्ता लगाएर नेपाल ल्याउन सकेको छैन। पछिल्लो समय अर्को कुरा व्यापक ढंगले आइरहेको छ। कम्तीमा पनि रुसी सेनामा ७ सय नेपाली छन्। तीमध्ये ४० जनाको मृत्य भइसकेको छ। नेपालमा त्यो लाश आउन नसकेर मृतकका परिवारले कुशको प्रतिक बनाएर उहाँहरुको कृयाकर्म गरिसक्नुभएको छ। ११७ जना घाइते छन्। सरकार अलपत्र परेका ती नेपालीको उद्धार गर्ने काम त परै जाओस् कति छन् त्यहाँ नेपालीहरुको भनेर यकिन तथ्यांक पत्ता लगाउने कोशिस पनि गरिरहेका छैन। नेपाली ल्याउनका लागि सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो पहल भएको अवस्था छैन। म यतातिर सरकारको गम्भीर रुपमा ध्यान आकृष्ट गर्न चाहन्छु।’

सांसद पौडेलले सरकारले युएन लगायतका मानव अधिकारवादी संघ, संस्थासँग आग्रह गरेर भए पनि रुस र युक्रेनको सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने धारणासमेत राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.