जनकपुरधाम : मिथिलाञ्चल क्षेत्रमा आइतबार चैती छठ पर्व मनाइँदै छ। चार दिनसम्म निष्ठाका साथ मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चैती छठ विधिवत् समापन हुने बताउँछन् जानकार डाक्टर राजेन्द्र विमल। जनकपुरधामको गंगासागर, धनुषसागर, अर्गजासर लगायतका तलाउमा यो पर्व धुमधामको साथ मनाइन्छ। योपटक पनि चैती छठका लागि गंगासागर र अर्गजासर दुल्हीझैँ सजाइएको छ।
चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहेको अर्को जानकार नित्यानन्द मण्डलले बताए।
कार्तिकमा मनाइने छठ पर्व जतिको नभए पनि चैती छठ मनाउने वर्षेनि बढ्दै छन्।
चार दिनसम्म अत्यन्त नियम निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ।
आज सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि व्रतालुहरू जलाशयमा प्रवेश गरी षष्ठीमाताको ध्यान गर्दै सूर्यलाई अर्घ्य दिने गर्छन्। अर्घ्यमा ठकुवा, भुसुवा, मूला, उखु, केरा, नरिवल लगायतका सामग्री प्रसादको रूपमा चढाइन्छ।
व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन गरिन्छ। परिवारजनमा शान्ति, समृद्धि, सन्तान प्राप्ति, दीर्घ जीवन‚ चर्म रोग निको हुने वा नलाग्ने जनविश्वास रहेको छ।
छठपर्व जनकपुरधामका गंगासागर तलाउ, धनुषसागर, दशरथ तलाउ, अरगजा पोखरी, दूधमती, रजौल पोखरी लगायतका अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी तथा नदी किनारमा सूर्यको उपासना तथा पूजाआराधनाका साथ मनाइन्छ। छठमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।