एजेन्सी : बार्सिलोनालाई पराजित गर्दै पेरिस सेन्ट जर्मान (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा ४-१ र समग्रमा ६-४ को जित निकाल्दै फ्रेन्च टोली अन्तिम चारमा प्रवेश गरेको हो।
पहिलो लेग ३-२ ले पराजित भएको पिएसजिले दोस्रो लेगमा पुनरागमन गर्न सफल रह्यो।
खेलको १२औं मिनेटमा बार्सिलोनाले खेलमा अग्रता लिएको थियो। लामिन यमालले राइट विङबाट बल लिएर बक्स भित्रबाट गरेको क्रसमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनाले अग्रता लिएको थियो।
तर २९औं मिनेटमा खेलमा बार्सिलोनालाई ठूलो झट्का लागेको थियो। डिफेन्डर रोनाल्ड आराउहो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बार्सिलोनाले खेलको दुई तिहाई समय १० जनाले खेल्नु परेको थियो।
४०औं मिनेटमा बार्सिलोनाले गोल खान पुग्यो। ब्राड्ली बार्कोलाको क्रसमा पूर्व बार्सिलोना खेलाडी उसमान डेम्बेलेले गोल गर्दै समग्रमा बार्सिलोनाको अग्रता दुई गोलबाट एक गोलमा घटाए।
५४औं मिनेटमा पिइसजीले खेलमा अग्रता लिँदै समग्रमा बराबरी गर्यो। ६०औं मिनेटमा पीएसजीले पेनाल्टी पायो । जोआओ क्यान्सेलोले उसमान डेम्बेलेमाथि फाउल गरेपछि पाएको पेनाल्टीमा किलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई समग्रमा अग्रता दिलाए।
८९औं मिनेटमा एम्बाप्पेले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।पीएसजीले अब फाइनल प्रवेशका लागि बोरुसिया डर्टमुण्ड विरुद्ध खेल्नेछ। डर्टमुण्डले एट्लेटिको म्याड्रिड विरुद्ध समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।