|

दैलेख : गम्भीर खालका विरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखमा चार वर्षअघि खरिद गरिएका लाखौँका स्वास्थ्य उपकरण प्रयोगविहीन छन्।

कोरोना महामारीका वेला २०७७ सालमा खरिद गरिएका भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण सञ्चालनका लागि जनशक्ति अभाव देखाउँदै थन्काइएको हो।

खरिद गरिएका उपकरण प्रयोगमा नआउँदा विरामी उपचारका लागि सुर्खेत,  नेपालगन्ज जान बाध्य छन्। २ लाख ५० हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा नागरिक गम्भीर विरामी परेको खण्डमा उपचार गर्ने भन्दै भेन्टिलेटर लगायतका उपकरण खरिद गरिएको थियो।

२०७७ सात वैशाखमा ४६ लाख ५० हजार रुपैयाँमा खरिद गरिएका उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डा. धर्मराज रेग्मीले बताए।

रेग्मीका अनुसार भेन्टिलेटर लगायतका उपकरण सञ्चालनका लागि एनसथेसिस्ट आवश्यक हुन्छ। एनसथेसिस्ट दैलेख नआएका कारण भेन्टिलेटर लगायतका उपकरण सञ्चालनमा आउन नसकेको उनले बताए।

जिल्लामै आइसियु सहितको भेन्टिलेटर सञ्चालनमा आउने भएपछि खुसी बनेका नागरिक चार वर्षदेखि उपकरण सञ्चालनको पर्खाइमा छन्। आफ्नै ठाउँमा सबै सुविधा छ भन्ने सुन्दा खुसी भएका यहाँका बासिन्दालाई उपकरण प्रयोगमा नआउँदा थप उपचार गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको छैन।

जिल्लामा लाखौँका भेन्टिलेटर छन् तर गम्भीर खालका विरामीलाई अहिले पनि सुर्खेत वा नेपालगन्ज रिफर गर्नुपर्ने बाध्यता छ। अस्पताल प्रशासनले यस विषयमा गम्भीरता देखाउनुपर्ने एक स्वास्थ्यकर्मीले बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष क्षेत्र प्रताप सुवेदीले भेन्टिलेटर सहितका उपकरण जनशक्ति नहुँदा प्रयोगमा आउन नसकेको बताए। उनले जनशक्ति परिपूर्तिका लागि बारम्बार विज्ञापन खोलिएको भए पनि दैलेखमा सेवा सुविधा कम देखाउँदै कोही आउन नमान्ने समस्या रहेको बताए।

‘हामीले अस्पतालका तर्फबाट भेन्टिलेटर लगायतका उपकरण सञ्चालनका लागि बारम्बार विज्ञापन खोलिसकेका छौँ। यहाँ कोही आउन मान्दैनन्। संघीय सरकार र प्रदेश सरकारसँग जनशक्ति व्यवस्थापन गरिदिन पहल गर्दै आएका छौँ’, अध्यक्ष सुवेदीले भने।

कोरोनाका समयमा आएका कुनै पनि उपकरण सञ्चालनमा नरहेका उनले बताए। उपकरण सञ्चालनका लागि प्रदेश सरकारसँग पहल गर्दा कुनै चासो नदेखाएको अध्यक्ष सुवेदीको भनाइ छ। ‘पहिलो समस्या जनशक्ति आउन नमान्नु हो। जिल्लाको राजनीति तवरबाट समेत यसका लागि खासै पहल भएको छैन’, उनले थाहाखबरसँग भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.