|

काठमाडौँ : मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को संकल्प प्रस्ताव कोशी प्रदेशसभामा पेश भएको छ।

प्रदेशसभाको बिहीवार बसेको बैठकमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव पेश गरेका हुन्। मंगलवार नेकपा एमाले र माओवादीले कोशी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव पेश गरेका थिए। सो प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका थिए।

संकल्प प्रस्ताव पेश गरेपछि एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रस्तावमार्फत सन्देश दिन संसद्को अधिवेशन आह्वान भएको बताए। गत असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिए पनि परिस्थितिले समर्थन गर्न नसकेको  भण्डारीले बताए।

प्रदेशसभामा पेश गरिएको संकल्प प्रस्तावलाई समर्थन गर्दै माओवादी केन्द्रका उप्रेतीले प्रस्ताव पास नहुँदै मार्गप्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरे।

समर्थक नै रहेका एमालेका किशोरचन्द्र दुलालले वर्तमान सरकारले मार्गप्रशस्त गरोस् भन्ने अभिप्रायका साथ प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरिएको बताए।  

प्रदेशसभाको बिहीवार बसेको बैठकमा सत्तापक्षभन्दा विपक्षमा बस्ने सांसदको संख्या दोब्बरले बढी थियो। विपक्षका ६ जना सांसद अनुपस्थित रहँदा समेत प्रदेशसभामा विपक्षीको कुर्सीमा बस्ने सांसदको संख्या ५२ थियो।

सत्तापक्षको कुर्सीमा भने काँग्रेस र नेकपा (एकीकृत समाजवादी)का मात्र २४ जनाको उपस्थिति थियो। मुख्यमन्त्री अल्पमतमा परिसकेको दृश्य सदनमै देखिएपछि काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले विवेक पुर्‍याएर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताए।

राजीनामा दिएर मार्गप्रशस्त नगरेपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव पेश गरेको हो। संविधानको धारा १८३ को उपधारा ३ बमोजिम बिहीवार बसेको प्रदेशसभा बैठकमा दुई दलले दर्ता गराएको उक्त प्रस्ताव पेश भएको हो। अब प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.