|

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहान्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धको घोषणा गरेका छन्। 

अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाइ वाहन (यूएभी) कार्यक्रमलाई उल्लेख गर्दै भनेको छ, ‘इरानको युएभी उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई संस्थालाई लक्षित गरिरहेको छ, यसमा इरानको शाहिद संस्करण यूएभीलाई शक्ति दिने इन्जिनको प्रकार पनि सामेल छन्, यसको प्रयोग अप्रिल १३ को आक्रमणमा गरिएको थियो।’

संयुक्त अधिराज्यले पनि ‘इरानको यूएभी र ब्यालिस्टिक मिसाइल उद्योगहरूमा सामेल धेरै इरानी सैन्य संगठन, व्यक्ति र संस्थालाई लक्ष्य गरी’ प्रतिबन्ध लगाएको मन्त्रालयले बताएको छ । 

तेहरानले सिरियास्थित इरानी वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाइ आक्रमणको बदलामा शनिबार राति इजराइलमाथि आफ्नो पहिलो प्रत्यक्ष सैन्य आक्रमण गरेको थियो। आफ्नो दूतावासमा भएको आक्रमणप्रति इजराइललाई व्यापकरूपमा दोष दिइएको थियो। आक्रमणमा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए। 

इरानले गरेको आक्रमणमा ३०० भन्दा धेरै ड्रोन र मिसाइल समावेश थिए। तीमध्ये अधिकांशलाई इजराइल, अमेरिका र बेलायतसहित उसका सहयोगीले खसालेका थिए। इरानी आक्रमणमा अत्यन्त थोरै क्षति भएको छ। आक्रमणको जवाफमा इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइलसँग आफ्नो रक्षा गर्ने अधिकार सुरक्षित रहेको बताएका छन्। 

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विज्ञप्तिजारी गरी भनेका छन्, ‘आज संयुक्त अधिराज्यसँगको समन्वयमा र साझेदार तथा सहयोगीहरूको परामर्शमा हामीले इजराइलमाथि इरानको अभूतपूर्व आक्रमणको जवाफ दिन द्रुत र निर्णायक कदम चालिरहेका छौँ।’

इरानको यूएभी कार्यक्रमविरुद्ध प्रतिबन्धका साथै अमेरिकाले इरानको स्टिल उद्योगका लागि पार्टपुर्जा उपलब्ध गराउने पाँच कम्पनीमाथि पनि प्रतिबन्ध लगाइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.