|

कास्की : पोखरा महानगरपालिका-८ पृथ्वीचोकमा रहेको माताश्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको १७ लाख रुपैयाँ जम्मा गर्न बिहीबार दिउँसो १ः३० बजेतिर बैंक निस्किए। 

मोटरसाइकलको लेगार्डमा कालो रङको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित कृषि विकास बैंक पुगे। बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन। पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाएनन्। वरपर खोज्दा झोला फेला नपरेपछि उनी ठूलो तनावमा परे। उनले तत्काल प्रहरीलाई खबर गरे।

पोखराका मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालन भयो। 

हराएको पैसाको झोला भारत घर भई पोखरा–३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेटाएका रहेछन्। टिस्यु पेपर लगायत सामग्रीको व्यापार गर्ने शर्मा पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा भेटिए। साथमा मोबाइल नभएकाले उनले समयमै प्रहरीमा सम्पर्क नसकेका रहेछन्।

प्रहरी नायब उपरीक्षक शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा-५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनारलाई बुझाएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.