|

काठमाडौँ : नेपालका सरकारी अस्पतालहरूको प्रमुख समस्या भनेको त्यहाँ कार्यरत चिकित्सक दिनभर अस्पतालमा नबस्ने हो। सरकारी सेवाको माथिल्लो तहमा रहेका चिकित्सकहरू हाजिर गरेर निजी अस्पतालमा दिनभर जस्तै सेवा दिन पुग्छन्।

यति मात्रै हैन थापाथली प्रसूतिगृह, वीर अस्पताल जस्ता ठूला सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरू त काठमाडौंमा रहेका ठूला निजी अस्पतालहरूका विभागीय प्रमुखसम्म भएर काम गरेको देखिन्छ।

सरकारले सरकारी सेवामा रहेका चिकित्सकहरूलाई दिनभर सोही अस्पतालमा सेवा दिने वातावरण बनाउने उद्देश्यले ‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ कार्यक्रम ल्याए पनि सफल रूपमा कार्यान्वयन हुन सकिरहेको छैन।

यस्तै परिपाटी रहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भर्खरै सरुवा भई आएका प्रशासनतर्फका सचिव मधुसूदन बुर्लाकोटीले शुक्रबार सूचना निकाल्दै यस्तो गतिविधि रोक्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

उनले कार्यालयमा बिहान हाजिर गर्ने र टाप ठोक्ने (हाटा) प्रवृत्ति गरिरहेका स्वास्थ्य सेवामा रहेका सरकारी कर्मचारी/ चिकित्सकलाई अबदेखि यस्तै अवस्था दोहोरिए कडा कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आफअन्तर्गतका प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूलाई सम्बोधन गरेर दिएको निर्देशनमा चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको हाजिरी देखिने तर कार्यकक्षमा नहुने गुनासो बढेपछि हाटा प्रवृत्ति रोक्न यस्तो कदम चालेको जनाएको छ।

मन्त्रालयका कर्मचारी प्रशासनअन्तर्गतका सचिव मधुसूदन बुर्लाकोटीले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूलाई सम्बोधन गरेर दिएको निर्देशन पत्रमा भनिएको छ‚ ‘आफ्नो कार्यकक्षमा गैह्र उपस्थिति रहनु प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू संयमित रही आ-आफ्नो पदीय मर्यादा, आचरण र अनुशासन एवं विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ। भविष्यमा कसैको पनि यस प्रकारका गतिविधिमा संलग्नता पाइएमा कानून बमोजिम हुन जाने र सोबाट पर्न जाने असर प्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने व्यहोरा समेत जानकारी गराइन्छ।‘

खासगरी प्राविधिक क्षेत्रका कर्मचारीहरू सरकारीमा हाजिर गर्ने र निजीमा काम गर्ने गरेको भन्ने अलि बढी सुनिने गरेको छ। अझ कतिपय चिकित्सकमाथि त सानो शल्यक्रिया गर्न सरकारीमा महिनौँपछि पालो लगाउने र निजीमा मोटो रकम तिरेपछि उनैले दोस्रो दिन नै काम फत्ते गरिदिने गरेको गुनासो बढ्न थालेको छ।

नयाँ सचिवका निर्देशनलाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कत्तिको पालना गर्ने हुन्‚ त्यो भने हेर्न बाँकी छ। बिहीबार मात्रै मन्त्रालयले सरकारी सेवामा कार्यरत  चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई निजी स्वास्थ्य संस्थाहरूमा काम गर्न नपाइने बताएको थियो।

कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले बिदा स्वीकृत गराई वा नगराई स्वदेशका निजी स्वास्थ्य संस्था विदेशस्थित सरकारी वा निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रूपमा कार्यरत रहेको भन्ने गुनासो आएपछि मन्त्रालयले अबदेखि सरकारी सेवामा रहेका कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने र गरेको थाहा पाए कारबाही गरिने जनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.