|

इलाम : इलामका चिया उद्योगीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चियाको समस्या बारेमा ध्यानाकर्षण गराएका छन्। पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहित प्रधानमन्त्री दाहाललाई भेटेर पटक पटक भारतीय बजारमा  नेपालको चियाले भोग्दै आएको समस्याको बारेमा अवगत गराएका हुन्।

डेढ वर्ष अघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो। तर पूर्व प्रधानमन्त्री र तत्कालीन प्रधानमन्त्रीबिच कुराकानी भएर चिया नियमित किनबेच भइरहेको थियो। 

अहिले फेरि भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरू मर्कामा परेका थिए।  त्यही क्रममा इलामका चिया व्यवसायीले केही दिन अघि पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटी समस्याको बारेमा जानकारी गराएका थिए।  

आज पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिया व्यवसायी र प्रधानमन्त्रीबिच चियाको समस्याको समाधान गर्नको लागि भारतीय सम्बन्धित पक्षलाई यसको यो समस्याको समाधानका लागि छलफल गर्ने सहमति भएको सूर्योदय टी प्रोडयुसर्स एसोसिएसनका सचिव गोपाल कट्टेल जानकारी दिए। 

उनले भारतले विभिन्न वहाना बनाएर पटक पटक नेपालको चिया निर्यातमा गरेको अवरोधको बारेमा जानकारी गराएको बताए। उनले भने, ‘वर्तमान समस्याको बारेमा अवगत गराएका छौ। भारतले प्रोटोकल बनाएर निरुत्साहन बारेमा अवगत समेत गरायौ। प्रधानमन्त्री ज्यूले राजदुत मार्फत वा आफैले बुझेर पटक पटक आउने समस्याको बारेमा छलफल गराउने विश्वास दिलाउनुभएको छ।’

एक साता भन्दा लामो समय देखि भारतीय सीमामा सीटीसी चिया बोकेको ४ ट्रक र अर्थोडक्स चिया बोकेको १२ ट्रक सडकमा अलपत्र अवस्था रोकिएको छ। १६ ट्रकमा गरी झण्डै ५० करोडको चिया रहेको छ। नेपाल भारत व्यापार सन्धी विपरीत भारतले विभिन्न बहानामा नेपाली चियाको निर्यातमा बेला बेलामा अवरोध सिर्जना गर्दै आएको छ। यसैक्रममा पछिल्लो समयमा नेपालबाट निर्यात हुने प्रत्येक दिनको प्रत्येक ट्रकका चियाको नमूना परीक्षण गराउनुपर्ने र परीक्षणमा उत्तीर्ण भएका चियालाई मात्रै निर्यात गर्न दिने नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याएको छ।

पूर्वी नेपालको सीमा नाका पानीट्यांकीस्थित भारतीय भन्सारले इलाम र पाँचथरको प्रमाणित अर्गानिक चिया निकासीमा विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायीहरूको गुनासो छ। भारतीय भन्सारले चिया निकासी गर्दा कहिले भारतीय बैंकको ग्यारेन्टी र कहिले भारतीय कम्पनीकै बिमासमेत खोज्न थालेपछि नेपाली व्यवसायी आजित बनेका छन्। व्यवसायीले पानीट्यांकी नाकाबाट तेस्रो मुलुक निर्यात गर्ने चियामा भारतीय भन्सारले आवश्यकताभन्दा बढी सोधीखोजी गर्ने गरेको बताएका छन्।

काँकडभिट्टा पारी भारतको पानी ट्याँकीस्थित भन्सार कार्यालयले एक साता अघिदेखि नेपालबाट भारतर्फ निर्यात हुने प्रत्येक ट्रकबाट चियाको नमूना लिएर परीक्षण गर्नुपर्ने र परीक्षणको क्रममा उत्तीर्ण भएका चियालाई मात्रै निर्यात गर्न दिने नीति कार्यान्वयनमा ल्याएको छ।
भारतमा नेपालबाट वार्षिक उत्पादनको करिब ८५ प्रतिशत चिया निर्यात हुँदै आएको छ। वार्षिक रुपमा साढे ४ अर्बदेखि ५ अर्ब मूल्य बराबरको एक करोड ७४ लाख किलो चिया निर्यात हुँदै आएको छ। निर्यात हुने चिया काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ। भारतले यो नीति लिएपछि अहिले एउटै ट्रकको नमूना कोलकात्तास्थित सेन्ट्रल फुड ल्याव (सीएफएल) मा पठाउन र उक्त नमूनाको परीक्षण प्रतिवेदन आउन कम्तीमा १५ देखि २० दिन लाग्छ।

 २० दिनसम्म उक्त ट्रक भारतीय सीमामा अव्यवस्थित रुपमा राख्नाले चियाको गुणस्तर खस्किनुका साथै चियाको चोरीसमेत हुँदै आएको व्यवसायीहरूले वर्षौ देखि गुनासो गर्दै आएका छन्। वेयर हाउस र पार्किङ सुविधा नहुँदा लामो समयसम्म बाटोमै ट्रक राख्दा भारतीय पक्षले प्रति दिन ३ हजार भारतीय रुपैयाँ डिटेन्सन शुल्क छुट्टै असुल गर्दा नेपाली चिया किसान र व्यवसायीको लागत खर्चसमेत बढेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.