|

काठमाडौँ : दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिना नपुग्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा जाने भएका छन्।

२०७५।०७६ मा पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेको समयमा पनि उनी अत्यधिक विदेश भ्रमण गरेको भन्दै आलोचित भएका थिए। त्यो वेला १४ महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेका यादवले १४ महिनामा १५ पटक विदेश भ्रमण गरेका थिए।

योपटक पनि उनी आगामी २७ अप्रिल (१६ वैशाख) अमेरिका भ्रमणमा निस्कन लागेको मन्त्रालयले जनाएको छ। समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दासका अनुसार जनसंख्या विकास सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग उनी अमेरिका जान लागेका हुन्। डा. दासका अनुसार उनी २७ अप्रिलमा गएर ३ मेमा फर्कने कार्यतालिका रहेको छ। समन्वय महाशाखा प्रमुख डा. दासले भने‚ ‘जनसंख्या विकास सम्बन्धी सम्मेलनमा भाग लिन मन्त्रिस्तरीय टोली जान लागेको हो।’

मन्त्री उपेन्द्र यादवको नेतृत्वमा समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडाको टोली रहने बताइएको छ। मन्त्री यादवले मन्त्रालयको जिम्मेवारी समालेको दुई महिना पुग्न लाग्दा समेत दीर्घकालीन असर गर्ने नीतिगत काम गर्न सकेका छैनन्। तर यस बीचमा उनले आफ्ना मान्छेलाई सुरक्षित ठाउँमा सरुवा गर्न भने भ्याएका छन्।

यही वैशाख ६ गते एकैपटक दशौँ र एघारौँ तहका १८ जना चिकित्सक नर्सको जिम्मेवारी हेरफेर गरेका उनले राष्ट्रिय ट्रमा सेन्टरमा एघारौँ तहका प्रमुख कन्सल्टेन्टलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाएर दशौँ तहका कन्सल्टेन्ट (डा. प्रमोद यादव)लाई उक्त जिम्मेवारी दिएका छन्। चारवटा संघीय अस्पतालका एघारौँ तहका चिकित्सक नर्सलाई प्रदेशको मुख्यमन्त्री कार्यालयले जिम्मेवारी दिने गरी कामकाजमा खटाएका छन्। सोही तहका १२ जना चिकित्सक नर्सलाई पनि अन्तरमन्त्रालय सरुवा गरेका छन्।

यसैगरी मन्त्री यादवले आफ्ना मान्छेलाई जागिर खुवाउन मरिमेटेर लाग्न थालेका छन्। कोभिड महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको पुष्टि भएर जागिरबाट निकालिएका गंगालाल हृदयरोग उपचार केन्द्रका तत्कालीन वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज इञ्चार्ज विनोदकुमार यादवलाई स्वास्थ्यमन्त्री यादवको जोडबलमा पुनः काममा फर्काइसकिएको छ।

मन्त्रालयका कर्मचारीहरूका अनुसार आफ्ना मान्छेलाई मात्रै सुरक्षित गराउनतर्फ मन्त्री यादव योपटक पनि लाग्न थालेपछि हालसम्म मन्त्रालयले खासै नीतिगत रूपमा खासै उपलब्धि हुने संकेत छैन। मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘स्वास्थ्यले उपप्रधानस्तरीय मन्त्री पाउँदा धेरै ठूला नीतिगत काम गर्न सक्ने ठाउँ हुन्छ। फेरि यो समय भनेको नीति तथा कार्यक्रम बनाउने समय हो। यस्ता वेला जिम्मेवारीमा आएका मन्त्रीहरूलाई धेरै काम गर्ने अवसर हुन्छ तर हालका मन्त्रीलाई स्वास्थ्य क्षेत्रको विकासभन्दा पनि आफन्तलाई सेटल गर्ने र अन्य लाभदायी काममा मात्रै ध्यान छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.