अस्पतालमा सुत्केरी भए कुल २४४ जना

|

पर्वत : कुनै बेला सामान्य उपचारको लागि पनि बिरामीलाई पोखरा लगायतका ठाउँमा जान सिफारिस गर्ने पर्वत अस्पतालमा आजभोलि व्यस्त छ। सामान्य बिरामीहरू पनि पर्वत अस्पतालको बाटो हुँदै गुणस्तरीय उपचारको खोजीमा बाहिर जाने गर्थे।

अहिले यही अस्पतालमा उपचारको पालो पाउन कुरेरै बस्नुपर्ने अवस्था आएको छ। अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार चालु आर्थिक वर्ष २०८०-०८१ को साउनदेखि चैत महिनासम्म अस्पतालमा १५ जना जटिल अवस्थामा रहेर सुत्केरी भएका छन् भने ७४ जनाको शल्यक्रिया गरिएको छ।

साउनदेखि चैतसम्म क्रमशः १४, २३, १८, १९, २२, १६, २०, १२, १६, २०, १२ र ७ ओटा सामान्य प्रसूति गराइएका छन्।  १५ ओटा जटिल  प्रकृतिका सुत्केरीअन्तर्गत भदौमा ३ ओटा, असोजमा ५ ओटा, मङ्सिरमा २ ओटा, पुसमा २ ओटा, माघमा १ ओटा र फागुनमा २ ओटा रहेका छन्। उपाध्यायका अनुसार नकारात्मक रक्त समूह भएका गर्भवतीहरूलाई पनि विशेष गणनामा राख्ने गरिएको छ। उनीहरू साउनमा १ जना, भदौमा २ जना, असोजमा १ जना र कार्त्तिकमा १ जना गरेर ५ जना रहेका छन्।

यस्तै, सुत्केरी भएका कुल २४४ जना महिलामध्ये करिब ३० प्रतिशत अर्थात् ७४ जनाको शल्यक्रिया गरिएको छ भने ७० प्रतिशत अर्थात् एक सय ७० जनाले बिना शल्यक्रिया नै बच्चा जन्माएका छन्। सूचना अधिकारी उपाध्यायका अनुसार साउनमा २१, भदौमा ४०, असोजमा ३८, कार्त्तितकमा २३, मङ्सिरमा ३३, पुसमा २५, माघमा ३५, फागुनमा १५ र चैतमा १४ ओटा शल्यक्रियाहरू गरिएका छन्।

‘अरू रोग त भई नै हाले ती बाहेक जटिल अवस्थामा रहेका गर्भवतीहरू पनि सुत्केरी हुनका लागि मात्रै भनेर पोखरा जानु पर्दैन। आइसियु नै चाहिने अवस्थामा त हामीले राख्न सक्दैनौँ तर त्यो बाहेकका अवस्थामा यहीँ नै डेलिभरी गराइरहेका छौँ’, सूचना अधिकारी उपाध्याय भन्छन्, ‘अस्पतालको सेवा गुणस्तरीय छ, प्रभावकारी उपचार सेवाका कारण नागरिकमा हामीप्रतिको विश्वास बढेका कारण हामीलाई झन् झन् जिम्मेवार बन्न चाप पर्दै गएको छ।’

शल्यक्रियाका लागि आवश्यक पर्ने पूर्ण खालको भौतिक संरचना, सेवा सुविधा नभएको भए पनि कम जनशक्तिले मानवीय सेवाका नाममा जीवन अर्पण गरेकाले यी सबै सफलताहरू प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। हेमन्त बास्तोला बताउँछन्। अस्पतालमा दैनिक सयौँ जना बिरामीहरूको चाप हुने गरेको र बिरामी थेग्नै नसक्ने अवस्था आउँदा ओपिडी सेवालाई समेत दैनिक थप पाँच घण्टा विस्तार गरिएको उनको भनाई छ।

अस्पतालमा भइरहेका शल्यक्रियाहरूमा अहिलेसम्म कुनै पनि समस्या नआएकाले पनि सुत्केरी हुनका लागि पोखरा पुग्नुपर्छ भन्ने मान्यता हराउँदै गएको उनको भनाई छ। पर्वतको अस्पतालमा बागलुङका बिरामीहरू समेत आएर सेवा लिँदा आफूहरूले प्रदान गरेको सेवाका बारेमा सन्तुष्टि मिल्ने उनको भनाइ छ।

पर्वत अस्पतालले अस्पतालको मान्यता पाउनु अगाडी कुश्मा हेल्थ पोस्टको रूपमा विसं २०१६ सालबाट सेवा प्रारम्भ गरेको अस्पतालले २०४६ माघ मा १५ बेडको मान्यता पाएको थियो। पर्याप्त जग्गा भएको यस अस्पतालले अव ५० शय्याको अस्पतालको रूपमा मान्यता पाउने क्रममा रहेको छ भने लिफ्ट सहितको सुविधा सम्पन्न ५० शय्याको भवन निर्माणाधीन अवस्थामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.