काठमाडौँ : आज रातो मत्येस्न्द्रनाथको महास्नान सम्पन्न भएको छ।
बुधवार ललितपुरको लगनखेलमा रहेको मण्डपमा रातो मत्स्येन्द्रनाथको महास्नान भएको हो। मण्डपमा मूर्तिलाई पञ्चामृत र ठाउँठाउँबाट ल्याइएको चोखोपानीले भरिएको घडा बोकी चार दिशामा उभिएर मन्त्रोच्चारणसाथ विधिपूर्वक स्नान गराइएको हो।
आजै मध्यरातको समयमा सुटुक्क तःबहालमा भएको मन्दिरको पिँढीमा ल्याएर राख्ने परम्परा छ। रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि शुरु भएर असार शुक्ल चतुर्थीसम्म करिब दुई महिनासम्म मनाइन्छ। सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व छ।
पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्रा पनि हो। लोक कथनअनुसार टौदहका नागराज कर्कटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएका वेला हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दाबी गरेको कथन छ।
दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद भयो। सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्। उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए।
सोही परम्पराअनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रही आएको छ।
जात्राका प्रमुख अतिथिको उपस्थितिमा ताला खोलेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै ताला बन्द गरेर राख्ने प्रचलन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।