|

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा अहिले पानी वितरण गरिरहेको योजना २०६१ सालमा शुरु भएको थियो। २० वर्ष अगाडिको जनसङ्ख्या लक्षित गरेर निर्माण भएको योजनाले अहिलेको मागअनुसार आपूर्ति गर्न सक्ने अवस्थामा छैन।

दैनिक २६ लाख लिटरसम्म पानी आउने गरेको कुश्मा बजारसहितको क्षेत्रमा हालसम्म ३ ओटा स्रोतबाट पानीको आपूर्ति हुँदै आएको छ। 

तर ती स्रोतबाट मागअनुसार पानी आपूर्ति गर्न नसक्ने अवस्था आएपछि करिब एक करोड रुपैयाँको लागतमा सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत लिफ्ट योजनामार्फत पानी तानिएको छ।

शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था कुश्माका अध्यक्ष रविकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–२ खुर्कोट पुग्ने सडकखण्डमा रहेको फाप्रे खोलाबाट लिफ्ट प्रणालीबाट कुश्माका लागि पानी आपूर्ति गर्न शुरु भएको छ। 

फाप्रे खोलाबाट तानिएको पानीलाई हाल प्रयोगमा रहेको कुश्मा नगरपालिका–२ खुर्कोटकै क्यादी खोलाबाट आएको योजनाअन्तर्गत मरे देउरालीमा रहेको इन्टेक च्याम्बरमा खसालिएको छ। 

सोही च्याम्बरबाट पुरानै योजनामा मिसिएर आउँदा योजनाको दूरी लामो नहुने र कम लागतमा नै गर्न सकिने तथा पुरानो योजनाको पाइप लाइनमा थप पानी जान सक्ने क्षमता रहेकोले पुरानै योजनामा मिसाइएको अध्यक्ष श्रेष्ठले बताए।

लिफ्ट प्रणालीबाट प्रति सेकेण्ड ५ लिटरका दरले पानी आइरहेकोले यसले बजारवासीको माग धान्नका लागि धेरै राहत हुने छ। 

अहिले गर्मी यामको समय रहेकोले यो वेलामा मुहानमै पानीको सतह घट्दा आवश्यकताअनुसार पानी आपूर्ति हुन कठिन छ तर यही वेला लिफ्टको पानी थपिएपछि कुश्मा बजारसहित आसपासमा पानी समस्या टार्न सहज भएको छ।

‘बढ्दो खडेरीले पानीको सहज वितरणमा समस्या भइरहेको अवस्थालाई समाधान गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा फाप्रे खोलाको पानी लिफ्टिङ गरेर कुश्मा ल्याउनु राम्रो उपलब्धि हो। यसले संस्थाबाट पानी वितरण गर्न सहज हुनेछ’, शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘२० वर्ष अगाडिको योजनाले अहिलेको माग धान्ने क्षमता हुँदैन। अब प्रदेश वा सङ्घीय सरकारले नै पानीको स्थायी समाधानको लागि अलि धेरै नै लगानी गरेर दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने अवस्था छ।’

कुश्मामा लिफ्ट प्रणालीको प्रति सेकेन्ड ५ लिटरसहित क्यादी खोलाबाट १२ लिटर, डिप बोरिङबाट ५ लिटर र मोदी गाउँपालिकाको पाती खोलाबाट आएको योजनाबाट १७ लिटरका दरले प्रति सेकेन्ड ३९ लिटर पानी झरिरहेको छ। 

तर यही परिमाणको पानीले माग पूरा गर्न नसक्दा कुश्माका लागि ठूलो लागतको बृहत् खानेपानी योजनाको आवश्यकता सधैँ खड्किरहेको छ।

बजारमा संस्थामार्फत २ हजार ५ सयभन्दा बढी धारा जडान गरिएका छन्। कुश्मामा अहिले आपूर्ति भइरहेको पानी थोरै परिवार र सानो जनसङ्ख्यालाई केन्द्रित गरेर वर्षौंअघि बनाइएको हो। 

पुरानो संरचनाले अहिलेको माग धान्न नसकेको तथा प्रयोग गरिएका सामग्री समेत पुराना बन्दै जाँदा पानीको लिकेजले गर्दा पनि पानीको अभाव हुने गरेकोमा आगलागीले समस्या झन् चर्काएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.