|

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चिया तथा कफी विकास बोर्डले आफ्नो उद्देश्यअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

२८ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर शनिबार काठमाडौँको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन्। भत्ता र सरुवा, बढुवाको माग गर्ने चिया तथा कफी विकास बोर्डले मुलुकको निर्यात व्यापारलाई बढावा दिने गरी चिया तथा कफीको गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताइन्।

६० हजारभन्दा बढीलाई रोजगारी दिने चिया तथा कफी क्षेत्रले मुलुकको समृद्धिमा योगदान दिन सक्ने भएकाले सोहीअनुसार काम गर्नुपर्ने मन्त्री साहले बताइन्।

उनले राष्ट्रिय चिया दिवस काठमाडौँमा नभई इलाम वा झापाका चिया बगानमै मनाउन आवश्यक रहेको बताइन्।

मन्त्री ज्वालाले भनिन्, ‘यो कार्यक्रम इलाम वा झापाको बगानमा गर्नुपर्थ्यो। चिया, कफी बोर्ड यसको विकासका गर्न बनेको हो तर दुई वर्षमा बैठक बस्छ। त्यसमा पनि भत्ता र सरुवा हुने कुरा आउँछ। लगभग १६ हजार किसानले झापा, इलाम, धनकुटा, पाँचथर, तेह्रथुम लगायतका जिल्लामा चिया तथा कफी व्यवसायीले काम गरिराखेका छौं। जसमा ६० हजार श्रमिकहरूले काम गर्न पाएका छौं।’

मन्त्री साहले देशलाई समृद्ध बनाउन कृषि क्षेत्रले महत्वपूर्ण योगदान दिने भएकाले त्यसमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने हिम्मत गर्न पनि व्यवसायीहरूलाई आग्रह गरिन्।

कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. दीपक खनालले इलाममा उपनिर्वाचन भएको र त्यसको प्रभाव झापा, पाँचथरलगायतका जिल्लामा पनि पर्ने भएकाले योपटक त्यहाँ राष्ट्रिय चिया दिवस मनाउन नसकिएको स्पष्ट पारेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.