|

काठमाडौँ : सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुले मनसुनको सुरुवातसँगै हुने विपद्का घटनाहरुलाई मध्यनजर राखी काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौ-दहमा विपद् प्रतिकार्य अभ्यास (मनसुन–२) आज सम्पन्न गरेको छ।

अभ्यासमा गृहमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।

सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिवृद्धि गरी विपद्को समयमा हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न उक्त अभ्यास गरिएको हो।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले विपद् प्रतिकार्य प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले जल उत्पन्न प्रकोप, आगलागी, भूकम्प जस्ता विभिन्न विपद्जन्य घटनामा खोज तथा उद्दार कार्यलाई चुस्त र प्रभावकारी बनाउन अभ्यास गर्दै आएको बताए।

बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले विपद् जोखिम न्युनिकरण तथा तयारी गर्ने कार्यमा स्थानीय तह र सरोकारवाला निकायहरुसँग बाहिनी तथा मातहत कार्यालयहरु सदैव समन्वय तथा सहकार्य गरी अगाडि बढिरहेको बताए।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय श्रोतसाधनको प्रयोग गरी पीडितहरुको छिटो र छरितो गर्न सकिने उद्धारको अभ्यास गरेका थिए भने गोताखोर तालिम प्राप्त सुरक्षा फौजले पानीको गहिराइमा डुबेका पीडितहरुको उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास समेत गरेका थिए।

यसअघि गत फागुन १५ गते सो बाहिनीको आयोजना र चन्द्रागिरि हिल्स लिमिटेडको सहकार्यमा 'केवलकार आपतकालिन उद्धार' अभ्यास गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.