|

काठमाडौँ : काठमाडौँमा आइतबारबाट सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्र अघि भद्रगोल भएको छ। आउने पाहुनाहरूको संख्या बढेपछि उद्घाटनसत्र अघि रजिस्ट्रेशन गर्ने काम गर्नै हम्मेहम्मे परेको थियो। 

स्वदेश तथा विदेशका गरी १५ सय लगानीकर्ता सहभागी हुने अनुमान गरिएकोमा ६ सय जति थपिएपछि हल नै खचाखच भएर अर्को हलमा सार्नु परेको थियो। 

सम्मेलनमा १४ सय नेपाली र ८ सय जति विदेशी लगानीकर्ता सहभागी भएको लगानी बोर्डका प्रवक्ता प्रधुम्न उपाध्यायले जानकारी दिएका छन्। सुरुमा केही असहजदेखि पनि व्यवस्थापन गरेर सम्मेलनलाई व्यवस्थित बनाइएको उनले थाहाखबरलाई बताए।

यसअघि दुईवटा लगानी सम्मेलन सम्पन्न गरिसकेको सरकारले त्यो अनुभव लागू गर्न नसक्दा देशको इज्जतमाथि धक्का लाग्ने गरी लापरबाही भएको हो। 

लगानी आउनेमा सकारात्मक देखिएको बोर्डका प्रवक्ता उपाध्यायले आज योजनाअनुसारका सम्झौता नभए पनि चित्त बुझाउने खालका केही सहमति र सम्झौता भएको बताए।

एउटा नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ भने अर्को बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाका लागि समझदारीमा हस्ताक्षर भएको छ।  

यसैगरी चीनको कान्च प्रिफेक्चर शहरका सरकारी प्रतिनिधि र नेपालका निजी क्षेत्रका प्रतिनिधिबीच दुई देशको संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावनाका बारेमा छलफल भएको छ।

दुई पक्षका प्रतिनिधिबीच नेपाल र कान्च प्रिफेक्चर क्षेत्रका संस्कृति, पर्यटन, पर्यावरण र हिमाली क्षेत्रका सम्भावना र व्यापार आदानप्रदानका बारेमा छलफल भएको छ। कान्च प्रिफेक्चर पोखरा महानगरपालिकासँग पहिलो भगिनी सम्बन्ध गाँस्ने शहर पनि हो।  

सम्मेलनमा कति लगानी प्रतिबद्धता आउँछ भन्ने अहिले नै यकिन भइसकेको छैन। त्यसका लागि सरकारले आह्वान गरिसकेको छ। लगानी सम्मेलनको इभेन्ट म्यानेजमेन्टका लागि बेलायत सरकारले २ करोड रुपैयाँ अनुदान दिएको छ। यो रकमले नपुगे निजी क्षेत्रलगायतसँग सहयोग माग्न सकिने बोर्डले जनाएको छ। 

काठमाडौँको सोल्टी होटेलमा जारी सम्मेलनका लागि आएका विदेशी पाहुनाहरू काठमाडौँका अन्य ठूला होटेलमा बास बसेका छन्।

गतसाता कतारका राजा बसेको सोल्टी होटलमा हाल वेस्ट इन्डिजको टोली पनि रहेको जनाइएको छ। त्यहाँ १८५ मध्ये सम्मेलनका लागि १५० वटा कोठा उपलब्ध गराइएको छ। सोमबार समापन हुने सम्मेलनमा नेपालले ९ खर्ब बराबरका डेढ सयभन्दा बढी परियोजना प्रस्तुत गरेको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.