टोखा ४–० ले पराजित

|

ललितपुर : मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।  

गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा सोमवार भएको एकमात्र खेलमा काठमाडौँको टोखा नगरपालिकालाई ४–० गोल अन्तरले हराउँदै भक्तपुरको  मध्यपुर थिमिले अन्तिम ८ मा स्थान बनाएको हो। 

मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने अर्को एक गोल कप्तान यमन राजवाहकको नाममा रह्यो। रोहनले खेलको ३८औँ, ४१औँ र ९०औँ मिनेटपछिको इन्जुरी टाइममा गोल गरेका थिए। ह्याट्रिक गरेका रोहन खेलको म्यान अफ दि म्याच चुनिए।

कप्तान यमनले टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। उनले खेलको २९औँ मिनेटमा गोल गरेका थिए।

म्यान अफ दि म्याच भएका रोहनलाई ट्रफि र ५ हजार नगदको चेक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हस्तान्तरण गरे । 

मध्यपुरले अब बैशाख २२ गते तारकेश्वर नगरपालिका र कीर्तिपुर नगरपालिकाबीचको खेलको विजेतासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ। तारकेश्वर र कीर्तिपुरबीचको खेल मंगलवार दिउँसो ३ बजे शुरु हुनेछ। 

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रतियोगितामा मध्यपुरसँगै नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिणकाली नगरपालिका क्वार्टरफाइनलमा पुगिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.