|

दाङ : दाङको शान्तिनगर गाउँपालिका-३ पातेटाकुरामा रहेको प्रगतिशील महिला समूहले ‘शक्ति’ सर्फ उत्पादन गर्दै आइरहेका छन्।

३ दिने तालिम लिएर करिब डेढ महिनादेखि महिलाहरूले सर्फ बनाउँदै आए पनि दर्ता र बजारीकरणको समस्या भएको भन्दै सहयोग गर्न समूहले स्थानीय सरकारलाई आग्रह गरेको छ। समूहमा १८ जना महिला आबद्ध रहेका छन्।

उनीहरूले विभिन्न समयमा विभिन्न तालिम लिएका थिए तर अन्यभन्दा सर्फ बनाउने तालिम राम्रो लागेपछि यसलाई व्यावसायिक रुपमा लैजान लागेको उनीहरूको भनाइ छ। 

अहिले घर घरमा गएर बेच्दा एक क्विन्टलभन्दा बढी सर्फ प्रतिकिलो ३ सय रुपैयाँका दरले बिक्री भएको समूहकी सदस्य देवी काफ्लेले बताइन्।  

‘हामीले धेरै तालिम लियौँ तर सर्फ बनाउने सबैभन्दा राम्रो लागेपछि यसलाई व्यावसायिक रुपमा अगाडि बढाउन लागेका छौँ। अहिले उत्पादन भएको राम्रोसँग बिक्री भएको छ‚’ उनले भनिन्‚ ‘हामी उद्योग स्थापना गरेर सञ्चालन गर्ने तयारीमा छौँ तर विभिन्न समस्या भएको छ। हामीलाई स्थानीय सरकारले सहयोग गरेमा हामीलाई थप ऊर्जा मिल्ने थियो।’

उनका अनुसार आफूहरू जस्ता महिला विहान बेलुका चुलोचौकामा व्यस्त हुने भए पनि बाँकी समय त्यतिकै खेर गइरहेकोमा अहिले सर्फ बनाउने कामले समयको सदुपयोग भएको छ। 

कुनै पनि काममा व्यस्त भए बेरोजगार पनि नहुने र आफूलाई आवश्यक पर्ने खर्च पनि जोहो हुने भन्दै उनले समयको सदुपयोग गर्नुपर्ने बताइन्। 

उनले सर्फ बनाउन चाहिने कच्चा पदार्थ अहिले दाङको घोराहीबाट ल्याउने गरेको बताइन्। उनका अनुसार उत्पादित सर्फ गाउँघरमा राम्रो भन्दै किन्ने गरेको भए पनि यसलाई गाउँघरमा मात्र नभइ बाहिर पठाउने सोचमा समूह रहेको छ।

‘हामीलाई कच्चा पदार्थ ल्याउन समस्या हुने गरेको छ। जिल्लामा घोराहीमा मात्र पाइन्छ तर अहिले महँगो पर्छ,’ उनले भनिन्, ‘हामीले प्रतिकिलो ३ सयका दरले बिक्री गर्ने गरेका छौँ।’ 

आफूहरूले गुणस्तरयुक्त सर्फ उत्पादन गरेको र यसको दर्ता र बजारीकरणको लागि स्थानीय सरकारले सहयोग गरे आफूहरूलाई काम गर्न अझ ऊर्जा मिल्ने समूहकी अध्यक्ष चमेली रजालीले बताइन्। 

‘सर्फ साबुन हामीलाई धेरै चाहिन्छ। जसले गर्दा पनि हामीले आफ्नो गाउँ ठाउँमा केही गरौँ र स्वरोजगार बनौँ, बन्ने उद्देश्यले सर्फ बनाउने प्रयास गरेका छौँ‚’ उनले भनिन्, ‘अब हामीलाई दर्तालगायत बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्न जरुरी छ।’ 

उनले आफूहरूले उत्पादन गरेको सर्फलाई गाउँपालिकाका नागरिकहरूलाई प्रयोग गर्नसमेत आग्रह गरेकी छन्। उनले स्थानीय उत्पादन प्रयोग गर्दा यहाँको पैसा यहीँ रहने भएकाले पनि सबैलाई फाइदा हुने समेत बताइन्।

उनले अहिलेसम्म आफ्नो गाउँको नाम कसैले थाहा नपाएको भन्दै यही सर्फबाट आफ्नो ठाउँ सबैलाई चिनाउने उद्देश्य रहेको समेत बताइन्।

बजारमा पाइने सर्फभन्दा राम्रो र मूल्य पनि थोरै रहेको हुँदा स्थानीयले यही सर्फ प्रयोग गर्दै आएका छन्। स्थानीय नन्दराम पाण्डेका अनुसार तुलसीपुरमा आफ्नो पसल भए पनि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न आफूहरूले यही सर्फ प्रयोग गर्दै आइरहेको बताए।

उनका अनुसार अन्य सर्फभन्दा राम्रो भएको हुँदा अधिकांशले यही ‘शक्ति’ प्रयोग गर्दै आएका छन्। उनले पछिल्लो समय विभिन्न तालिम लिने गरे पनि धेरैले तालिमै मात्र सीमित गर्ने हुँदा महिला समूहले व्यवहारमा लागू गरेर आत्मनिर्भर बन्ने लागेकोमा खुशी व्यक्त गरे।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सडक र ठूला भवनहरू बनाएर मात्र विकास नहुने भन्दै अब मानवको विकास हुनुपर्ने बताए।

उनले हरेक नागरिक कुनै न कुनै पेशा व्यवसायमा लागेपछि मात्र मानव विकास हुने हुँदा महिला समूहलाई गाउँपालिकाले आवश्यक पर्ने सहयोग गर्ने बताए।

गाउँपालिकालाई समृद्ध बनाउन आफूहरू लागि परेको भन्दै अहिले गाउँपालिकामा विभिन्न लघुउद्यमहरू सञ्चालन भइरहेको हुँदा ती उद्यमीले उत्पादन गरेका वस्तु प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे।

‘मैले यो सर्फ प्रयोग गरेको छु। अन्य सर्फभन्दा राम्रो र सस्तो पनि रहेछ। अब हामी सबैले स्थानीय उत्पादनलाई बढावा दिनु र प्रयोग गर्न जरुरी छ‚’ उनले भने, ‘पछिल्लो समय बेरोजगार भएको भन्दै धेरै युवा विदेश जाने क्रम बढिरहेको छ। यदि आफ्नो गाउँ ठाउँमा कुनै पनि पेशा व्यवसाय गरेर स्वरोजगार बन्नुपर्ने र त्यसका लागि स्थानीय सरकारले सहयोग गर्न तयार रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.