|

काठमाडौंं :  आज मई १ अर्थात् मजदुर दिवस। मजदुर भनेको भारी बोक्ने वा कोदालो खन्ने वा इट्टा, गिटी, वालुवा बोक्ने मात्र हुँदैनन्। समाजमा अनेकथरी मजदुर भेटिन्छन्। यस्तै एउटा अलग्गै कथा बोकेका मजदुर हुन्, अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–८, नुवाकोटका अनिल परियार। उनको रुचि सानै देखि गायनमा थियो। 

आफ्नै गाउँठाउँ, मेला, विद्यालयमा गीत गाएर रमाइलो गर्ने अनिललाई ख्यातीप्राप्त गायक बन्ने ठूलो सपना थियो। १७ वर्षको उमेरमा एसएलसी दिएर बसेका अनिललाई सपनाको सहर काठमाडौंं पुग्ने रहर जाग्यो। सानै उमेरमा ठुलो सपना बुन्दै अनिल काठमाडौंं पसे।

गाउँघरबाट ठूलो सपना बोकेर काठमाडौं छिरेका अनिललाइ ठुलो सहरमा हराइन्छ कि भन्ने डर पनि थियो। आएको केही महिना उनी कामको खोजीमा भौतारिए। डुल्दाडुल्दै कपडा पसलमा काम गर्ने अवसर मिल्यो। केही वर्ष त्यहाँ काम गरेका उनलाई चिनजानबाट दोहोरी साँझमा काम गर्ने अवसर मिल्यो।

अनिलको सपना ठुलो गायक बन्ने नै हो। खुसी भएर दोहोरी साँझमा काम गर्न थाले। तर दोहोरी साँझमा काम गर्न त्यति सहज भने थिएन। सोचेको भन्दा फरक समयमा काम गर्नु पर्यो। दिउँसो अन्य काम गर्ने र बेलुकी ६ बजेदेखि राती २ बजेसम्म दोहोरी साँझमा गाउनु पर्ने भयो। काठमाडौंं बसेर गायन पेशा सुरु गर्दा मासिक २५०० तलब पाए।

सपनाको सहर भए पनि काम पाउन निकै मुश्किल थियो। पाएको र मन भित्रको रहर मेटाउन २०६६ सालबाटै दोहोरी साँझमा गीत गाउन सुरु गरेका हुन्। उनले दोहोरी साँझमा गीत गाउन सुरु गरेको पनि १५ वर्ष भइसक्यो। उनको रहर ठुलो गायक बन्छु भन्ने नै छ। उनी घरको आर्थिक अवस्थाले रात्री मजदुर बनेका हुन्। १५ वर्षमा राजधानीका ५ वटा दोहोरी साँझमा काम गरिसके। अहिले पनि कोटेश्वरको एक दोहोरी साँझमा आबद्ध छन्।

बाह्य गायनमा पनि उत्तिकै अब्बल छन्। गीतसंगीतमा लागेर उनमा पछुतो छैन। गीत गाएरै अनिलले थुप्रै पुरस्कार तथा सम्मान पाएका छन्। अनिललाई अब पैसा कमाउने रहर जागेको छ। उनी वैदेशिक रोजगारका लागि कोरियन भाषा अध्ययन गर्छन्।

राती भएपछि दोहोरी साँझमा पुग्ने उनी झिसमिसेमै भाषा अध्ययन गर्ने गर्छन्। घरको पूर्ण रुपमा सहयोग हुँदाहुँदै पनि आर्थिक अवस्थाले पछि परेको जस्तो उनी ठान्छन्। उनले भने, ‘म सँग क्षमता वा प्रतिभा छ तर आर्थिक अवस्थाका कारण कलाबिहिनताको अनुभूति हुन्छ।’

 दिनचर्या पनि गजबकै छ। बिहान कोरियन भाषा अध्ययन, दिउँसो खाना खाएर केही बेर आराम र बेलुकी नहुँदै दोहोरी साँझको यात्रा हुन्छ।

दोहोरीमा काम गर्दा त्यति सहज भने छैन। समयमा तलब नपाउने समस्या छँदैछ। कतिपय दोहोरीले विना तलब निकाल्ने समस्या अर्को छ। गीत गाउँदा गाउँदै ग्राहकले सीसाको गिलासले हानेको दुःखद अनुभव पनि अनिलसँग छ।

‘दोहोरीमा काम गर्दा धेरै सहनुपर्छ,’ उनले भने, ‘देख्दा राम्रो होला यस भित्र धेरै कथा लुकेको छ।’ उनी दोहोरी साँझमा मात्र होइन बाहिर कार्यक्रमका मञ्चमासमेत गीत गाउने गर्छन्। अहिले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान समन्वय समिति ललितपुरको सहसचिव छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.