|

विराटनगर : ‘बर पीपलको फेदमा त शनिबार बोक्सीले पूजा गर्छन् रे।’ बल्दै गरेको दियो देखाउँदै स्कुल पढ्दा साथीहरूले यसरी अत्यासलाग्दो ढंगले सुनाउने गर्दथे।

विद्यालयबाट फर्किंदै गर्दा कहिलकाहीँ एक्लै हुँदा बर पीपल भएको चौतारा आयो कि हस्याङ–फस्याङ हुँदै दौडिएको त्यो बाल्यकालको समयतर्फ ठ्याक्कै ‘बोक्सीको घर ’ चलचित्रले फर्कन बाध्य बनायो। चलचित्रमा पनि बर पीपलको रूख र बोक्सीको आरोप खेपिरहेकी महिलाको सम्बन्ध जोडिएको छ।

महिलाहरूप्रति साँघुरो मानसिकता राखेर हुर्किंदै गरेको नेपाली समाजमा बोक्सीको आरोपमा भोग्नुपरेको दुर्व्यवहारलाई चलचित्रले पस्कन खोजेको छ। बालविवाह, बेमेल विवाह, यौन हिंसा त्यसपछि बेक्सीको आरोप हामीले बाँचेको समाजमा एउटी महिलाले व्यहोरेको कष्टकर जीवनलाई चलचित्रको मध्यमबाट खोतल्न खोजिएको छ।

रंगकर्मी सुलक्षण भारतीद्वारा निर्देशित चलचित्र बोक्सीको घर नाटकलाई चलचित्रमा रुपान्तरण गरिएको हो।

विवाह किन गरिन्छ? विवाहको अर्थ के हो? प्रश्नको घेराबन्दीमा परेकी जुनकरीको आफूभन्दा पनि ठूलो उमेरको केटासँग विवाह हुन्छ।

 पढाइमा अब्बल भएकी जुनकिरी आमाको मात्रै प्रेममा हुर्किएकी हुन्छिन्।  बाल्यकालमा रविसँग बसेको प्रेम, पढेर पत्रकार बन्ने सपनाहरू विवाहसँगै उनको सपनाको समाधि बनिदिन्छ।

 जुनकिरीको भूमिका निर्वाह गरेकी बालकलाकार सुपला सापकोटाको अभिनयमा कुनै खोट लगाउने ठाउँ छैन।

 उनै जुनकिरी हुर्कंदै गएपछि केकी अधिकारी जुन बोक्सीको आरोपको सामना गरिरहेकी हुन्छिन्।

श्रीमानको मृत्युपश्चात् सासूले घर निकाला गरेपछि गोठमा ओत लाग्न पुगकी केकी (जुनकिरी) ससुराबाटै यौन हिंसाको शिकारमा पर्छिन्।  आफ्नो गल्ती लुकाउन बोक्सीको आरोप खोप्न बाध्य भएकी  जुनकिरी अर्थात् केकी अधिकारीको अभिनय दमदार छ।  तर, चलचित्र एउटै रफतारमा बग्न सकेको छैन।  

बाल्यकालमा सँगै हुर्किएको जनुकिरीको परिवेश र परिस्थितिलाई पीपलको फेदमा बोक्सीको आरोप समाना गरिहेकी ठूली भइसकेकी जुनकिरीसँगै पर्दामा उतार्न खोज्दा दर्शकहरू अलमलिएको झैँ महसुस गर्न सकिन्छ।  

नाटकले चलचित्रको स्वरूप नपाउँदा पनि  चलचित्रमा देखिएका दृश्य हरूमा दर्शक ‘कन्फ्युज ’ भएको हुनसक्छ।

बोक्सीको कथा सुनेर खोजमूलक रिपोर्टिङका लागि पत्रकारको भूमिकामा प्रस्तुत भएकी स्वेच्छा राउतको अभिनयले पत्रकारलाई न्याय दिएको छ भन्दा फरक नपर्दो हो।

रिपोर्टिङ गर्दागर्दै समाजले उनै पत्रकारलाई समेत बोक्सी विद्या सिकेको आरोप लगाउन भ्याइसकेका हुन्छन्। तर, हिम्मत नहारी जुनकिरी (बोक्सीको आरोप खेपेकी महिला) को छेवैमा पुगेर उनको कथा सुन्न पुग्छिन्। समाजलाई उनी पनि सामान्य मान्छे हुन् भन्ने परिभाषा दिँदा पनि कोही सम्झन र बुझ्न चाहँदैनन्।

समाजमा घटेका तीता घटनाहरूलाई चलचित्रमार्फत पढाउन खोजिएको छ। बोक्सी होइन, सामान्य मान्छे हो भन्ने परिभाषित गर्न खोजिएको छ। तर, हुँदै होइन भन्ने चलचित्रले सन्देश दिन सकेको छैन।

एउटी बोक्सी आरोप खेपिरहेकी महिलाको जल, जमिन देवता, सम्बन्धसँग आत्मा जोडिएको हुन्छ। तीनै महिलालाई जबर्जस्ती बोक्सी बनाउने परिवारले सजाय पाउँछन् वा पाउँदैनन्?  बोक्सी बन्न बाध्य भएकी ती निर्दोष महिलाले न्याय पाउँछिन् या पाउँदिनन्?

सिंगो समाज नै उल्टिएर बोक्सी आरोप लगाइएकी जुनकिरीलाई जिउँदो लास बनाउने समाज कानुनी हिसाबले दोषी हो कि होइन? चलचित्रको समापनपछि दर्शकले एकआपसमा सोध्ने प्रश्न पनि यिनै हुन्। र निर्देशकले पर्दाभित्र छुटाएको महत्वपूर्ण पाटो पनि यही हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.