|

काठमाडौं : नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–ट्वेन्टी सिरिज एक खेल अगावै गुमाएको छ।

बिहीबार भएको चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३-१ ले गुमाएको हो।

सिरिजको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय भोग्यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

बिहीबारको चौथो खेलमा पनि नेपाल २८ रनले पराजित हुँदै सिरिज सुम्पन बाध्य भयो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्टइण्डिज ‘ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१  रनमा समेटियो। निर्धारित २० ओभरमा नेपालले सबै १० विकेट गुमायो। 

नेपालका क्याप्टेन रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान गरे। आक्रामक ब्याटिङ गरेका रोहितले ४७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे।

सन्दीप जोरा, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान १९ रन बनाए भने अविनाश बोहरा १७ रनमा अविजित रहे।

कुशल मल्ल ४ र कुशल भुर्तेल एक रनमा आउट हुँदा आसिफ शेख , ललित राजवंशी र प्रतिश जिसी शून्यमा पभेलियन फर्किए।

यसअघि टस जितेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो।

उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले। ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे। उनले ९ चौका र ४ छक्का प्रहार गरे।

चार्ल्सले ५८ रनको योगदान गरे। ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए। फाबिआन एलेनले आउट नभई ३३ रन बनाए।

नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए।

सिरिज अन्तर्गत पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ। आगामी जुनमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको तयारीका क्रममा नेपाल र वेष्टइण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’मा छ । जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्टइण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.