|

काठमाडौँ : इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा करिब १७ प्रतिशत मतका साथ तेस्रो स्थान हासिल गरेसँगै सभ्यता, संस्कृति तथा पहिचान पक्षधर उत्साहित भएका छन्।

स्थापित कतिपय दलहरूले जमानत नै जोगाउन नसक्दा सम्मानजनक मतका साथ तेस्रो बनेपछि पहिचान पक्षधरले आफूहरूको मुद्दा स्थापित हुने चरणमा गएको दावी गरेका छन्।       

०८४ मा बहुमत ल्याउने दावी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), व्यवस्था नै बदलेर देशमा राजा फर्काउने भनेर लागिपरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), गत आमनिर्वाचनबाट राष्ट्रिय दलको रुपमा उदाएको जनमत पार्टी र पूर्वप्रधानमन्त्री माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीले जमानत नै जोगाउन सकेनन्। 

तर पहिचानवादी उम्मेदवार डकेन्द्रसिङ थेगिम ११ हजार ४५७ मत पाएर तेस्रो बने। उनलाई पहिचान पक्षधर ४१ घटकसहित जनता समाजवादी पार्टी (जसपा) र नेपाल समाजवादी पार्टी (नेसपा)लगायतका दलहरूको समर्थन थियो। 

पहिचानविरोधी ट्याग पाएका नेकपा एमाले र नेपाली कांग्रेसलगायतका ठूला दलले उपनिर्वाचन परिणामसँगै पहिचानवादीको चुरिफुरी समाप्त भएको टिप्पणी गरिरहँदा स्वयं पहिचान पक्षधरले भने यसलाई उत्साहजनक सुरुवाताका रुपमा लिएका छन्। आगामी आवधिक निर्वाचनमा वडादेखि संघसम्मै बाजी मार्ने गरी लाग्ने उनीहरूको तयारी छ। 

प्रदेश–१ पुनः नामकरण संघर्ष समितिका संयोजकसमेत रहेका थेगिमले उपनिर्वाचनबाट प्राप्त परिणामले उत्साह थपेको बताए। उनले अब सडक संघर्षलाई पनि निरन्तरता दिँदै ०८४ को तयारीमा आफूहरू लाग्ने बताए। 

‘उपनिर्वाचनबाट प्राप्त परिणामले हामीमा उत्साह थपेको छ। उपनिर्वाचनमा भाग लिनु आन्दोलनको अर्को एउटा स्वरुप नै थियो, परीक्षण पनि थियो र यसमा हामी सफल भयौँ। छोटो तयारीमा पनि साढे ११ हजार मत पाउनु भनेको जादुमयपूर्ण नै हो भन्ने महसुस र्‍यौँ’, उनले भने, ‘अब संघर्ष समितिले सडक संघर्षका कार्यक्रमलाई निरन्तरता दिनुका साथै ०८४ को तयारी पनि गर्छ।’ 

थेगमका अनुसार उपनिर्वाचनमा अझ बढी मत आउने सम्भावना थियो तर एमाले, माओवादीलगायतका पहिचानविरोधी दलहरू एक भएर आफूहरूलाई हराउन लागिपर्दा साढे ११ हजार मात्र मत आएको उनले बताए। आफूहरूको पक्षमा माहोल बन्दै गएपछि अन्तिममा ‘म्याच फिक्सिङ’ भएको थेगिमको दावी छ।     

‘हाम्रो चुनावी माहोल तातिँदै गएपछि पहिचानविरोधी दलहरू त्रसित भएर कुनै पनि हालतमा हामिलाई हराउने सहमतिमा पुगे। सोहीअनुसार कांग्रेस संस्थापन इतर पक्षले एमालेलाई मत हालेर म्याच फिक्सिङ भयो’, उनले थपे, ‘अर्को कुरा अत्यन्तै आर्थिक चलखेल भयो। मतदातालाई विभिन्न प्रलोभनमा पारियो। यसलाई हामीले छेक्न सकेनौँ त्यो दुःखद् रह्यो। यी नै कारणले आउनु पर्ने थप मत आउन सकेन।’  

अहिले एमाले–कांग्रेसका नेताहरूले पहिचानको राजनीति र मुद्दा समाप्त भएको बताए पनि यो गलत रहेको थेगिम बताउँछन्। अबको लडाइँ नै पहिचान पक्षधर र पहिचानविरोधी दलहरूबीच हुने उनको दाबी छ।

उनले भने, ‘अहिले उनीहरूले जे भने पनि हामीले देखेको अबको राजनीतिक परिपाटी र प्रतिस्पर्धा चाहिँ पहिचान पक्षधर र पहिचानविरोधीबीच हुन्छ। त्यसकारण आगामी ०८४ मा हामी मेची महाकाली नै जान्छौँ। चुनाव लड्छौँ जित्छौँ।’ 

संघर्ष समितिकै एउटा घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन पहिचान विरोधी ठूला दलमा ढ्याङ्ग्रो बज्ने गरी उपनिर्वाचनबाट आशापूर्ण सुरुवात भएको बताउँछन्। उपनिर्वाचनमा कुनै लोभलालच, धाकधम्की वा आश्वासनमुक्त भोट पहिचानवादी उम्मेदवार थेगिमलाई प्राप्त भएको उनले बताए।

‘इलाम–२ मा हामीले ११ हजार भोट पायौँ। यो भनेको लोभलालच, धाकधम्की, द्रव्य, आश्वासन सबै कुराबाट मुक्त भोट हो। यो ११ हजार भोट मात्र होइन, यो सभ्यता र पहिचानको प्रतिक हो, सभ्यता र पहिचानका लागि जस्तोसुकै लडाइँ लड्छु भन्ने मत हो’, उनले भने, ‘इलामको एउटा क्षेत्रबाट साढे ११ हजार आउँछ भने अर्को क्षेत्रबाट पनि कमसेकम ११ हजार आउला, पाँचथरमा आउला, ताप्लेजुङमा पनि आउला। अनि यी पहिचान विरोधीहरूको हालत के होला?  त्यसकारण यिनीहरूको ढ्याङ्ग्रो बजिसक्यो। अहिले एकदमै आशापूर्ण सुरुवात भएको छ।’ 

अब मुख्य रुपमा संघर्षसँगै आफूहरू पनि ‘मिसन ०८४’मा लाग्ने अध्यक्ष लिङ्देनले बताए। ‘संघर्ष समिति दर्ता गरेर एउटै चुनाव चिह्न लिएर हुन्छ कि कसरी हुन्छ, हामी अब मिसन ०८४मा  लाग्छौँ’, उनले भने, ‘इलाम–२ बाट भएको वास्तवमै राम्रो सुरुवात रोकिनेवाला छैन। ०८४ मा त हामीले वडादेखि संघसम्म नै जाने हो।’  

एमाले–कांग्रेसले भने जस्तै उपनिर्वाचनसँगै पहिचानको मुद्दा सेलाउने भन्दा पनि व्यापकतातिरै गएको राजनीतिक विश्लेषकहरूको पनि बुझाइ छ। इलामको उपनिर्वाचनले पहिचानको राजनीति र मुद्दा दुवैलाई बलियो रुपमा देखाएको विश्लेषक चन्द्रकिशोर बताउँछन्।  

‘पहिचानको राजनीति र मुद्दा फरक कुरा हुन्। पहिचानको राजनीति भनेको मुद्दालाई प्राथमिकता दिँदै पहिचान पक्षधरलाई गोलबन्द र संगठित रुपमा अगाडि बढाउने, राज्यलाई दबाब दिने र भोलि निर्वाचनमार्फत त्यसलाई  मतपेटिकासम्म पुँजीकृत गर्ने हो। पहिचनको मुद्दा चाहिँ यहाँका आदीवासी–जनजाति वा अन्य सीमान्तकृतहरूको जुन पारम्परिक पहिचान छन्, भाषा, संस्कृति, उसको जनवीविकाकाथातथलोका पारम्परिक नामकरणहरू छन् ती अस्मितासँग जोडिएर आएका कुराहरू हुन्’, उनी भन्छन्, ‘इलामको चुनावले पहिचानको राजनीति र मुद्दा दुईवटै कुरालाई बलियोरुपमा देखाएको छ।’ 

उपनिर्वाचन परिणामले पहिचान पक्षधर थप गोलबन्द हुनुपर्ने आवश्यकता पनि देखाएको विश्लेषक चन्द्रकिशोरको बुझाइ छ। ‘पहिचानको राजनीति अझ बढी संगठित गर्नुपर्ने, अझ बढी आफूलाई गोलबन्द गर्नुपर्ने र चुनावी राजनीतमा चाहिँ साधन–स्रोत चाहिन्छ, भावनात्मक रुपमा जोडिकाहरूलाई राजनीतिक रुपमा जोड्न सक्नुपर्छ र त्यसका लागि त्यस्तै नेतृत्व पनि चाहिन्छ भन्ने पनि देखायो’, उनले भने। 

अब पहिचानको मुद्दालाई ‘इग्नोर’ गरेर कुनै पनि दल अघि बढ्न सक्दैनन् भन्ने कुरा पनि इलाम उपनिर्वाचनले देखाएको विश्लेषक चन्द्रकिशोर बताउँछन्। ‘इलाम उपनिर्वाचनले देखाएके अर्को कुरा के हो भने पहिचानको मुद्दालाई नेपालको राजनीतिमा इग्नोर गर्न सकिँदैन भन्ने हो’, उनले भने, ‘अब चाहिँ कुनै पनि दलले यसलाई लिएर अगाडि जानुपर्छ। ठूला र पुराना भनिएका दलहरू जो छन्, उनीहरूले पहिचानलाई इग्नोर गरे भने उनीहरूलाई गाह्रो पर्नसक्छ र थप द्वन्द्व बढ्न सक्छ।’  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.