|

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्। 

बेलुकी ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।  

त्यसका लागि  बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ। मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको भए पनि सत्तारुढ दल एमालेले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।

मुख्यमन्त्री सोडारीलाई अन्तिम समयमा समर्थन गरेर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको एमालेले विश्वासको मत दिने विषयमा स्पष्ट निर्णय नगर्दा आज सोडारीलाई विश्वासको मत लिन समस्या हुने देखिएको छ। 

आन्तरिक तयारी नभएको र विश्वासको मत लिने समय अझै धेरै बाँकी रहेकोले हतार नगर्न भन्दै एमालेले विश्वासको मत लिने समय सार्नुपर्ने जनाएको छ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधर प्रदेशसभा सदस्यले गैर संवैधानिक, गैरप्रजातान्त्रिक र संसदीय मर्यादा विपरीत मुख्यमन्त्री नियुक्त गरिएको भन्दै बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेको छ। 

दुवै दलले संसद् भित्र र बाहिरबाट प्रतिवाद गर्दै सदन चल्न नदिने चेतावनी दिएका छन्। 

यस अघि मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मणकिशोर चौधरिलाई प्रदेश प्रमुखले पूर्वाग्रह तरिकाले पाखा लगाएको भन्दै सोसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा विश्वासको मत लिनु कानुन र अदालतको मर्यादा विपरीत भएको उनीहरूको ठहर छ।

वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम समाजवादी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर दुई जना सदस्य, स्वतन्त्र सदस्यको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त हुएका थिए। 

मुख्यमन्त्रीले हाल नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।  अन्य मन्त्रालय उनले आफैँसँग राखेका छन्। 

प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी उनको छ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.