‘बाँकी विद्यालयमा पनि जडान गर्छाैँ’

|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पछिल्लो समय सार्वजनिक शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न योजना तथा कार्यक्रमहरू ल्याएको छ। जसमध्ये एक हो विद्युतीय हाजिरीको व्यवस्था।

महानगरपालिकाले शिक्षकहरू समयमा उपस्थित नहुने, उपस्थित भए पनि छुट्टी हुने समयभन्दा अगाडि नै जाने गरेपछि यस्तो व्यवस्था र यो नियम ल्याएको हो। 

काठमाडौँ महानगरपालिकाका अनुसार महानगरपालिकाअन्तर्गत सञ्चालित सबै सामुदायिक (सरकारी) विद्यालयहरूमा शिक्षक तथा कर्मचारीको दैनिक हाजिरीका लागि विद्युतीय हाजिरी डिभाइस उपलब्ध गराइएको छ।

हालसम्म ८४ वटा सरकारी विद्यालयमा विद्युतीय हाजिरी डिभाइस जडान भइसकेको महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी इन्द्रप्रसाद दाहालले जानकारी दिए। 

महानगरपालिकाका अनुसार हाल महानगरभित्र ९३ वटा सरकारी विद्यालय छन्। ‘हालसम्म ८४ वटा विद्यालयमा विद्युतीय हाजिरी डिभाइस जडान भइसकेको छ। यसलाई हामीले नमुनाका रूपमा लिएका छौँ, अन्य ठाउँमा पनि जडान हुँदै जान्छ,’ उनले भने।

उक्त मेसिन जडान गरिएपछि पनि यसको नियमित अनुगमन महानगरबाट भइरहेको उनको भनाइ छ। काठमाडौँ महानगरपालिकाले विद्युतीय हाजिरी डिभाइस मात्रै होइन सरकारी विद्यालयहरूमा डिजिटल बोर्डको पनि व्यवस्था गर्दै छ।

महानगरपालिकाले आगामी आवको नीति, कार्यक्रम तथा बजेटमा यो कुरा समावेश गर्ने र यसका लागि संघीय सरकारबाट बजेटको लागि माग पनि गरिएको महानगरपालिकाको योजना छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सचिवालयका अनुसार एउटा बोर्डलाई करिब ४ लाख रूपैयाँ पर्छ।

महानगरपालिकाको आन्तरिक स्रोतबाट भएपनि महानगरभित्रका सबै सरकारी विद्यालयमा यस्तो बोर्डको व्यवस्था गर्ने महानगरपालिकाको योजना छ। काठमाडौँ महानगरपालिकाभित्र मात्र नभइ अन्य जिल्लाका स्थानीय तहहरूले पनि विद्युतीय हाजिरी डिभाइसको व्यवस्था गरेका छन्।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले सेवा गुणस्तरीय बनाउन भन्दै गाउँपालिकाभित्रका सरकारी विद्यालय र कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरेको छ।

गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाका अनुसार शिक्षक तथा कर्मचारी विद्यालय  तथा कार्यालयमा कर्मचारी नियमित उपस्थिति नहुने, उपस्थिति भए पनि निर्धारित समयभन्दा अगाडि नै जाने गुनासो आएपछि ‘फेस रिडेबल’ विद्युतीय हाजिरी मेसिनको व्यवस्था गरेको हो। 

हाजिर गर्न निर्देशन 

काठमाडौँ महानगरपालिकाले विद्युतीय हाजिरी डिभाइस उपलब्ध गराए पनि कतिपयले नगरेपछि हाजिरी गर्न निर्देशन दिएको छ। यसको लागि महानगरपालिकाको शिक्षा विभागले गत चैत ७ गते नै सूचना नै जारी गरेर उक्त निर्देशन दिएको हो।

सूचनामा भनिएको छ, ‘सबै काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा शिक्षक तथा कर्मचारीहरूको दैनिक हाजिरीका लागि विद्युतीय हाजिरी डिभाइस उपलब्ध गराइएको भए पनि कतिपय विद्यालयले हालसम्म विद्युतीय डिभाइसमा हाजिरी गरेको नपाइएकाले अब उप्रान्त सबै शिक्षक तथा कर्मचारीहरूलाई विद्युतीय हाजिरी डिभाइसमा हाजिर गर्ने गराउने व्यवस्था मिलाउनु र सो को जानकारी यस विभागमा दिनुहुन अनुरोध छ।’

विद्युतीय हाजिरी डिभाइसमा कुनै समस्या आएमा शिक्षा विभागमा सम्पर्क गर्न महानगरपालिकाले आग्रह गरेको छ।

अन्यत्र काम नगर्न निर्देशन

काठमाडौँ महानगरपालिकाले शिक्षकहरूलाई विद्यालय समयमा अन्यत्र काम नगर्न पनि निर्देशन दिएको छ। महानगरपालिकाको शिक्षा विभागले निर्देशन दिएअनुसार अबदेखि सबै सरकारी विद्यालयका सबै शिक्षकले विद्यालय समयभित्र अन्यत्र काम गर्न पाउने छैनन्।

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूले आफ्ना विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरूमा शिक्षकहरूलाई नपठाउनु हुन र शिक्षकहरूले समेत यसै सूचनालाई आधार मानी विद्यालय समयभित्र विद्यालयको नियमित पठनपाठन प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुनु हुन अनुरोध छ।’

अन्यथा प्रचलित ऐन, कानुनबमोजिम कारबाही हुने महानगरपालिका शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.