|
फाइल फोटो

काठमाडौँ : मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको कृषि क्षेत्रमा विद्यमान चुनौतीका कारण उत्पादन घट्दो अवस्थामा छ।

कृषि उत्पादनका लागि आवश्यक सामग्रीहरू गुणस्तरीय नहुँदा उत्पादकत्व बढाउन नसक्नु, उत्पादन नाफामुखी हुन नसक्नु, समयमा उन्नत जातको बीउ, मल र सिँचाइको उपलब्धता नहुँदा खेती किसानी गर्नेहरू निरास बन्नुपरेको छ।

किसानका उत्पादनले बजार नपाउनु र त्यसलाई संरक्षण गर्ने प्रविधि, सुरक्षित भण्डार गृहहरू नहुँदा किसानका समस्या ज्यूँका त्यूँ छन्। अर्कातर्फ कृषिप्रधान मुलुक भनिए पनि उर्वरभूमि प्लटिङ गरेर मासिँदै छ भने कृषकहरू पेशाबाट पलायन हुने क्रम बढ्दो छ।

कृषि कर्म गर्ने घट्दै 

मुलुकको कुल गार्हस्थ उत्पादनमा महत्त्वपूर्ण योगदान रहेको कृषि क्षेत्रको अवस्था दिनानुदिन खस्किरहेको छ। राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालका ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा खेतिपाती गरेको देखिएको छ।

यसको अर्थ देशभर रहेका जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार छन्। अघिल्लो कृषि गणना २०६८ अनुसार ७१ प्रतिशत कृषक परिवारले खेतिपाती गर्थे‚ जुन १० वर्षमा ६२ प्रतिशतमा झरेको हो ।

आर्थिक वर्ष २०७७।७८ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.८० प्रतिशत रहेकोमा २०७९।८० मा २४.१२ प्रतिशतमा झरेको थियो।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कृषक र कृषि क्षेत्रका विद्यमान समस्या पहिचान गरी समाधानका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर अनुसन्धानको काम गरिरहेको बताउँछ।

‘तर काम गर्न सहज छैन, कृषिप्रधान देश भने पनि राज्यले कृषिमा पर्याप्त बजेट छुट्याउँदैन। त्यसमा पनि अनुसन्धानबाटै उत्पादन र उत्पादकत्व बढाउन मद्दत पुग्ने कुरा नीति निर्माण तहमा महसुस गरिएको छैन’‚ नार्कका प्रवक्ता एवं योजना र समन्वय निर्देशक डा. लुमानिधि पाण्डेय लौडारीले भने‚ ‘झारो टार्ने गरी बजेट विनियोजन गरिएको हुन्छ, सकसमै अनुसन्धान गरिरहेका छौँ।’

सरकारले चालू आर्थिक वर्ष २०८०।८१ को बजेटमा राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न जोड दिने लगायतका योजनासहित कृषि क्षेत्रका लागि ५८ अर्ब ९८ करोड विनियोजन गरेको छ। 

गुणस्तरीय बीउ नचिन्दा बढेन उत्पादन

नार्कले आफ्नै फार्म केन्द्रसँगै समुदाय, अन्य फार्म केन्द्र, बीउ बिजन कम्पनीहरूसँग समन्वय गरी गुणस्तरीय प्रजनन, बीउ उत्पादन गरिरहेको छ। धान, गहुँ, मकैलाई उच्च प्राथमिकतामा राखेर बीउको माग, उत्पादनको आवश्यकताका आधारमा केही ठाउँमा किसानकै बारीमा वैज्ञानिकको निगरानीमा समेत कामहरू भइरहेको प्रवक्ता पाण्डेयले बताए।

गुणस्तरयुक्त बीउ बिजनको प्रयोगले मात्र पनि २० देखि २५ प्रतिशत कृषि उत्पादनमा वृद्धि गर्न सकिने अध्ययनले देखाउँछ तर त्यसो हुन सकेको छैन। कृषि प्रणालीमा आएको फेरबदलले स्थानीय जातका बाली तीव्रगतिमा लोप भइरहेका छन्।

अत्याधुनिक प्रविधि प्रयोग गरी अप्राकृतिक रूपमा विभिन्न बालीका जात विकास गरिँदा विकसित वर्णसंकर बीउको बढ्दो प्रयोगसँगै कैयौँ रैथाने जात लोप भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा छन् । कृषकहरू पनि उत्पादन बढाउन स्थानीय बीउ रोप्न छाडेर उन्नत तथा हाइब्रिड जातका बीउप्रति आकर्षित छन्।

नार्कले खाद्य बालीको बीउका विभिन्न जात पहिचान गर्दै आएको छ। ‘मकैको नेपाली हाइब्रिड बनाउन विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौं’‚ पाण्डेयले भने‚ ‘धान, मकै, गहुँ र कोदोजन्य अन्य बालीलाई समेत समेटेर विविधीकरण गरी यसको महत्त्व बढाउने उद्देश्यले पहिचान, उपयोगिता र संरक्षणको काम भइरहेको छ।’

त्यसो त किसानले गुणस्तरीय बीउ छनोट गर्न नसक्दा पनि उत्पादन घटेको छ। राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले सिफारिस गरेका मकैको जातमा समस्या देखिएको छैन। रामपुरले तराई र पहाडको हावापानी सुहाउँदो गौरव, रामपुर हाइब्रिड–२, ४, ६, १०, १२, १४, १६ खुमल हाइब्रिड–२ जातको मकै विकास गरी सिफारिस गरेको छ।

‘तर भारतलगायत अन्यत्रबाट राम्रो उत्पादन दिने जातको भनि ल्याइए पनि त्यो कुन हावापानीका लागि उपयुक्त छ भन्ने पर्याप्त प्राविधिक ज्ञान नहुँदा समस्या भएको छ’‚ पाण्डेले भने‚ ‘उन्नत र हाइब्रिड भन्दैमा सबैतिर एउटैले काम गर्दैन। त्यसकारण सिफारिसको हेक्का गर्नुपर्छ। मकै, गहुँ झण्डै ९४ प्रतिशत जति नार्कले नै पहिचान गरेका मौलिक जातले पुग्छ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पटक चीनमा विकास भएको वर्णसंकर प्रकारको एच क्यू ००२ जातको धान सिफारिस गरेको छ। उक्त जातको धान ८ सयदेखि १५ सय मिटर उचाइसम्म मध्यपहाडी सिञ्चित क्षेत्रहरूका लागि सिफारिस गरिएको उक्त जातको धानको उत्पादकत्व ८ देखि ९ मेट्रिक टन प्रतिहेक्टर रहेको छ। 

एग्रोभेटहरूलाई पनि बीउको जातअनुसार उपयुक्त हावापानी, तापक्रम, उचाइ लगायतका विषयमा जानकारी दिनुपर्ने उनले बताए। आफूले लगाउने बीउ धेरै फल्ने जात भनेर मात्र नभई कुन ठाउँका लागि सिफारिस गरिएको छ भनी पर्याप्त प्राविधिक जानकारी लिएर मात्र बीउ लैजान उनले  किसानलाई आग्रह गरे।

‘अन्यथा हुनसक्ने जति उत्पादन नहुने, घाटा हुनसक्छ। हावापानीका कारण ढिलो पाक्ने जात छ भने अर्को बालीलाई हानि पुर्‍याउन सक्छ। पाक्ने अवधि लामो हुँदा अर्को बाली लगाउन नभ्याइन सक्छ। यो सबै ख्याल गर्नुपर्छ’‚ पाण्डेयले भने। नार्कले मुख्य अन्नबाली धान, मकै गहुँका साथै भण्टा‚ भिन्डी लगायतका तरकारी बालीमा पनि हाइब्रिड बीउको पहिचान गर्ने काम थालेको जनाएको छ।

चैते धानको उत्पादन बढाइँदै

बाँझो जमिन उपयोग गर्ने कृषि मन्त्रालयको अभियानअन्तर्गत नार्कले आफ्नो फार्म केन्द्रमा रहेका बाँझो जमिन उपयोग गर्ने गरी योजना बनाएको जनाएको छ। नार्क प्रवक्ता पाण्डेका अनुसार विशेषगरी बर्खे धानभन्दा धेरै उत्पादन हुने चैते धानको उत्पादन अघिल्ला वर्षमा भन्दा दोब्बर बढाउने उद्देश्यले क्षेत्रफल विस्तारको काम भइरहेको छ।

किसानलाई धान थन्काउन ड्रायरहरू उपलब्ध गराउने, सिँचाइका लागि सहजीकरण गरिदिएको पाण्डेले बताए। नेपालमा चैते र बर्खे गरी दुई बाली धान लाग्छ। चैते धानको उत्पादकत्व ४.९७ मेट्रिक टन प्रतिहेक्टर छ भने बर्खे धानको उत्पादकत्व ३.९० मेट्रिक टन प्रतिहेक्टर छ।

अघिल्लो वर्ष चैते धान १ लाख ८ हजार ६०७ हेक्टरमा खेती गरिएकोमा ५ लाख ४० हजार ३३१ टन उत्पादन भएको थियो भने असारे धान १३ लाख ३९ हजार १८२ हेक्टरमा ४९ लाख ४६ हजार १४१ टन उत्पादन भएको थियो। कृषि मन्त्रालयले चैते धान खेती विस्तार गर्न चालू आर्थिक वर्षमा ३० करोड रुपैयाँ विनियोजन गरेको थियो। 

सिँचाइको असुविधा

कृषिमा देखा परेको अर्को समस्या सिँचाइको अभाव हो। अझै पनि पर्याप्त सिँचाइ सुविधा छैन। खेती हुनेमध्ये ५४.५ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा उपयोग भएको देखिएको छ। त्यसमा पनि सिञ्चित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८ लाख ८९ हजार ५७० अर्थात् ७२.७ प्रतिशत रहेको छ। 

नेपालमा सबैभन्दा बढी २५ लाख ६८ हजार १८३ हेक्टर क्षेत्रफलमा खाद्यान्न बाली लगाइएको छ भने धान १२ लाख १६ हजार हेक्टर, मकै ५ लाख ५९ हजार  र ६ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा गहुँ बाली लगाएको देखिन्छ।

७.५ प्रतिशतले मात्र सरकारी अनुदान पाएका छन्, तीमध्ये सबैभन्दा धेरै ४६.२ प्रतिशत कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएका हुन्।

कृषि गणनाले ७०.४ प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत खेतिपाती रहेको देखाएको छ र ४५ प्रतिशतले आफ्नो खेती किसानीबाट भएको आम्दानीले वर्षैभरी खान पुग्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.