काठमाडौँ : नेपालका ब्याटर अनिलकुमार साहले टी–२० विश्वकपका लागि नेपाली टोलीमा आफ्नो नाम देख्दा आँसु आएको बताएका छन्।
शनिवार पाँचौं तथा अन्तिम खेलमा पाहुना टोली वेष्ट इण्डिज ‘ए’विरुद्ध जित निकालेपछि पत्रकार सम्मेलनमा ब्याटर अनिलले उक्त प्रतिक्रिया दिएका हुन्। उनले विश्वकपमा छनोट हुन पाउनु खुसीको क्षण रहेको र आफ्नो नाम देख्दा आँसु आएको बताए।
टिममा आफ्नो नाम देख्नेबित्तिकै घरपरिवारसँग खुसी साटेको पनि उल्लेख गरे। साथै अनिलले अन्तिम खेलमा विकेट जोगाएर खेल्दा जित निकाल्न सकिन्छ भन्ने योजनानुरूप खेलेको बताए। उनले दोस्रो विकेटका लागि करिब एक सय रनको साझेदारी गरेका थिए।
ब्याटिङमा डेप्थ रहेको उल्लेख गर्दै अनिलले पहिलो विकेट पतन भएसँगै समालिएर खेलेको बताए। शुरुमा आफ्नो ब्याटमा बल कनेक्ट हुन नसकेको र आसिफलाई क्रिजमा बढी समय बिताउन दिएको उनको भनाइ थियो।
शनिबार जितपछि ओपनर आसिफ सेखले आशा गरेअनुरूप नजिता नआए पनि अन्तिम खेलमा जितसहित विश्वकपमा जाने टोलीको लक्ष्य पूरा भएको प्रतिक्रिया दिए। उनले विश्वकप छनोटबाट विश्वकपमा स्थान बनाउनु नै आफूहरूका लागि अविस्मरणीय क्षण रहेको उल्लेख गरे।
विश्वकप अगाडि वेष्ट इण्डिजको टोली जस्तो टिमसँग खेल्न पाउनु पनि महत्त्वपूर्ण हुने उनको विश्वास छ। पत्रकार सम्मेलनमा तीव्र गतिका बलर सोमपाल कामीले आफ्नो लक्ष्य पूरा भएको उल्लेख गर्दै विश्वकप खेल्न पाउनुलाई भाग्यमानी रहेको प्रतिक्रिया दिए। साथै उनले जुनसुकै देशमा पुगे पनि नेपाली समर्थकको उत्तिकै साथ र समर्थन पाउने गरेको उल्लेख गरे।
योपटक विश्वकपमा पनि सोहीअनुरूप समर्थकको साथ पाउने विश्वास व्यक्त गरे। सोमपालले आयरल्याण्ड र वेष्ट इण्डिज जस्ता बलिया टोलीसँगको खेलबाट राम्रो एक्सपोजर पाएको र त्यसले विश्वकपमा पनि मद्दत पुग्ने आशा व्यक्त गरे। नेपाली टोलीले यो शृंखलाभर राम्रो बलिङ र ब्याटिङ गरेको पनि सोमपालले बताएका छन्।
वेष्ट इण्डिज ‘ए’का कप्तान रोस्टन चेजले छिटै विकेट हुँदा सोचेअनुरूप योगफल बनाउन नसकिएको उल्लेख गरे। उनले नेपाल पनि बलियो टोली रहेको र प्रशिक्षक मोन्टी देसाईबाट टोलीले राम्रो प्रशिक्षण पाएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।