|

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले आज  पहिलोपटकस्थापना दिवस मनाउने भएको छ। न्याम्सले २२औँ स्थापना दिवसका अवसरमा पहिलो पटक यो दिवस मनाउन लागेको हो।

वीर अस्पतालका पूर्वनिर्देशक एवं न्याम्सका उपकुलपति प्रा डा भूपेन्द्र बस्नेतले न्याम्सले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान र  उपलब्धिको स्मरण गर्दै शैक्षिक दायरा बिस्तार गर्न स्थापना दिवस मनाउन लागेको जानकारी दिए।  न्याम्स चिकित्सक उत्पादन गर्ने सबैभन्दा ठूलो संस्था  बनेको उनको भनाइ छ।

उपकुलपति बस्नेतका अनुसार न्याम्सबाट वार्षिक पन्ध्र सयभन्दा बढी एमडीएमएस, एक सय २० भन्दा बढी डीएमएस चिकित्सक, एक हजार चार सय नर्स गरी तीन हजार दुई सय ४६ जना दक्ष जनशक्ति न्याम्सबाट उत्पादन भएका छन्।

उपचारात्मक सेवामा न्याम्सको योगदानको चर्चा गर्दै अझै विशिष्टकृत विषयमा अध्यापन गराउने योजना रहेको उनको भनाइ छ। उनले आगामी शैक्षिकसत्रमा एमबिबीएस कार्यक्रम सुरु गर्ने तयारीबारे जानकारी दिए।

चिकित्सा शिक्षामा स्नातक र स्नातकोत्तरबीचको खाडल कम गर्न न्याम्स लागिपरेको उनको भनाइ थियो। बस्नेतले एमडीएमएस कार्यक्रम भरतपुर, विराटनगर र भेरीमा अध्यापनका लागि गृहकार्य गरिरहेको जानकारी दिए।

न्याम्समा विशेषज्ञ चिकित्सक एमडीएमएस १९ विषयमा र डीएमएमसीएसका १५ विषयमा अध्यापन हुँदै आएको छ।

स्थापना दिवस मनाउने सन्दर्भमा उनले न्याम्स र वीरलाई छुट्याउने, न्याम्सले छुट्टै अस्पताल स्थापना गर्ने विषयले विशेषज्ञ चिकित्सक अध्यापनमा प्रभाव पर्न सक्ने बताए।

बस्नेतले स्वास्थ्य प्रतिष्ठानलाई पढाउनका लागि आफ्नै एउटा अस्पताल आवश्यक पर्ने भन्दै भक्तपुरको दुवाकोटमा अहिले जग्गा प्राप्ति भएको बताए।

दुवाकोटमा बन्ने अस्पताल तीन चरणमा विभाजन गरिएको र प्रथम चरणमा पाँच सय, दोस्रोमा पाँच सय र तेस्रोमा पाँच सय गरी जम्मा पन्ध्र सय शय्या बनाउने प्रस्ताव अघि बढाएको उनको भनाइ छ।

चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ न्याम्सको स्थापना भएको हो।विसं २०५९ मा सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई न्याम्समा स्तरोन्नति गरेको थियो। प्रतिष्ठानका रूपमा कार्यरत वीर अस्पताललाई २०६३ सालमा सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रम (एमडी/एमएस) साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.