|

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरिदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताका लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन्। 

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आइतवार बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्। उनले घरजग्गा खरिदकर्ताले घरजग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानूनी अड्चन र मूल्यका बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घरजग्गा कारोबार व्यवस्थित र व्यवसायिक हुनुपर्नेमा जोड दिए।

मन्त्री अधिकारीले घरजग्गा व्यवसायीहरूले व्यवसायिक मर्यादामा रही प्रचलित कानूनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भएमात्रै रियल स्टेट व्यवसाय सबल हुनसक्ने उल्लेख गरे। उनले घरजग्गा कारोबारलाई पारदर्शिता बनाउनु प्रमुख चुनौतीका रूपमा देखापरेको बताए। मन्त्री अधिकारीले कानून बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले राज्यले अर्बौंको राजस्व गुमाउनुपरेको बताए। उनले कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानूनी संरक्षणसमेत कठिन भएको बताए।

उनले नेपालमा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेको बताए। उनले व्यवसायिकताको विकास, पारदर्शिता, जिम्मेवार परामर्श ग्राहकलाई अधिकतम छनोटको अवसर दिँदा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने अवस्था रहेको बताए। उनले घरजग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको बताए।

उनले त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै कित्ताकाँटमा देखिएको समस्या समाधान गर्न भू–उपयोग नियमावली २०७९ संशोधन गरी सहजीकरण गरेको दाबी गरे। उनले घरजग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमिसम्बन्धी ऐनमा आवश्यक संशोधन गरेको उल्लेख गरे। कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन २०३४ लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिए।

मन्त्री अधिकारीले भने, ‘घरजग्गा कारोबारलाई पारदर्शी कारोबार गर्ने विषय प्रमुख चुनौती देखा परेको छ। कानून बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्ने परिपाटीले त्यस्तो कारोबार करको दायरामा आउन नसक्दा राज्यले राजस्व गुमाएको अवस्था छ भने लगानीकर्ता र घरजग्गा खरिदकर्ताको कानुनी संरक्षणसमेत कठिन हुने अवस्था छ। कित्ताकाँटमा देखिएको समस्या समाधान गर्न भू-उपयोग नियमावली २०७९ संशोधन गरी सहजीकरण गरेको छ।’

नेपाल घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गाको कारोबारलाई व्यवस्थित, पारदर्शी र व्यवसायिक बनाउन ल्याण्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताए। उनले टुक्रे योजनाहरूले नेपालमा व्यवस्थित शहरीकरण बन्न नसक्ने दाबी गरे। उनले व्यवस्थित शहरीकरण बनाउन निजी क्षेत्रलाई ल्याण्ड पुलिङ सरकारले खोल्न आवश्यक रहेको उल्लेख गरे।

उनले व्यवसायीहरूले पछिल्लो ३० वर्षमा काठमाडौँ उपत्यकामा ४ सय आयोजना सम्पन्न गरे पनि मर्यादित बनाउन नसकिएको बताए। अध्यक्ष लोहनीले व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउन ल्याण्ड पुलिङ खोल्नुपर्ने बताए।

उनले पछिल्लो समय घरजग्गा कारोबारमा आएको समस्याको कारणले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए। उनले अर्थतन्त्रमा देखिएका समस्या घरजग्गा कारोबार नहुनु पनि भएको दाबी गरे। उनले घरजग्गा कारोबार देखिएका समस्याको कारण व्यवसायी मात्रै होइन नेपालमा बैंकहरू पनि ढल्न सक्ने अवस्था रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.