|
फाइल तस्वीर

विराटनगर : धेरैले लिम्बूनीहरुलाई छुच्ची स्वभावका हुन्छन् भन्ने धारणा बनाएका हुन्छन्। सामान्य साथीभाईसँगको गफगाफमा ‘लिम्बूनीहरुसँग त सकिँदैन है’ भन्दै व्यंग्य गर्ने गरेको पनि पाइन्छ। तर लेखक, कवि उपेन्द्र सुब्बाले लेखेको र निर्देशन गरेको फिल्म ‘मनसरा’मा लिम्बूनीको स्वभावलाई शालीन प्रस्तुत गरिएको छ।

कथाको अन्तिमसम्म यही विषयले एकतमासले मन तान्नुको कारण एकल आमाले बाँचेको जीवन हो। सन्तान नहुँदाको एक दम्पतीको व्यथा कथाको मुख्य पाटो भए पनि सन्तान भएर पनि एक्लो हुनुको कथाले एकल आमाका लागि फिल्मको माध्यमबाट बाँच्ने प्रेरणा दिन्छ।

मनरानी लिम्बू (मिरुना मगर) लाई नयाँ शहरमा आफ्नै ढंगले बाँचेको जीवनले मौन बनाएको हुन सक्ने अनुमान लगाउन सकिन्छ। मिरुनाले विराटनगरमा भएको प्रिमियरपछिको पत्रकार भेटघाटमा कथाअनुसार नै अभिनयमा पनि आफूलाई ढालेको बताएकी थिइन्।

यता छुच्ची स्वभावकी नेवार्नी अर्थात नानीमाया श्रेष्ठ (मेनुका प्रधान) बच्चा नहुँदाको पीडाले पतिलाई शंकाको घेरामा पारेर  झगडा गर्ने स्वभाव भएकी महिलाको मनोविज्ञानसमेत निर्देशक सुब्बाले फिल्ममा पस्कन खोजेका छन्।

मनसराले एउटा समाजमा भोगेको हरेक मान्छेको गम्भीर कथालाई सरल ढंगबाट देखाउन खोजेको छ। ​ददिराम पोखरेल (प्रवीण खतिवडा) र नानीमायाको जस्तै सन्तान प्राप्तिको आशक्ति हरेक निःसन्तान दम्पतीहरुको जीवन भोगाइ हुन्छ। 

सन्तान नहुँदा परिवारमा विग्रह आएर कैयौँ जोडीको सम्बन्ध छुट्टिएर समाजबाट हराएका छन्। तर सन्तान नहुनुमा महिलामात्र होइन पुरुष पनि भागीदार हुन्छन् भन्ने फिल्ममार्फत सरल ढंगले देखाउन खोजिएको छ। 

मिश्रित समाजलाई एउटा कथाको धागोमा बुनेर फिल्मको आकार दिन खोजिएको छ भन्दा फरक पर्दैन।

यो फिल्ममार्फत समाजको ऐनामात्र देखाउन खोजिएको छैन‚ कृषिको पाटोलाई पनि बडो गजबले फिल्ममा जोड्न खोजिएको छ।

‘मनसरा’ पहाडमा फल्ने धानको एउटा प्रकार पनि हो। यो धान अन्य धानको बिऊसँग मिसाएर रोपे पनि उसले आफ्नै अस्तित्व कायम राखेर मनसरा नै फल्ने गर्छ। फिल्ममा यो तथ्य पनि देखाउन खोजिएको छ। समाजमा अनेक थरिका मान्छे अटाए पनि उनीहरु सबैको आ-आफ्नै बेग्लाबेग्ले अस्तित्व हुन्छ। 

प्रेम र आकर्षणलाई पनि आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको छ। एकल महिलालाई समाजमा आफ्नो ठानिएकै  पुरुषले हेर्ने गलत दृष्टि चित्रण गरिएको छ। 

मानहाङ चेम्जोङ (दयाहाङ राई) मौन भएर प्रेमिकाको खोजीमा भौँतारिएको दृष्य अनि आफूलाई छाडेर गएको प्रेमीलाई पर्खेर बसेकी मनरानीको ‘पर्खाइ कनेक्सन’ सशक्त ढंगले उतारिएको छ। 

छाडेर जानेलाई पनि लिएको सकारात्मक सोचले मनसराले प्रेमको परिभाषा पनि सिकाएको छ। लिम्बू मुन्धुमअनुसार मान्छेको उत्पत्तिका विषयलाई जोड्न खोजिएको छ।

समग्रमा कथा मौलिक छ। कथाअनुसार अभिनेता/अभिनेतृहरुले निर्वाह गरेको भूमिका वा अभिनय पनि उत्तिकै बेजोड छ।

जारीको यात्राबाट आरम्भ भएको सुब्बाको फिल्म यात्रा आउँदा दिनमा अझ सफलताको शिखरतर्फ लम्कनेमा दुईमत नहोला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.