|

काठमाडौँ : नेपालको एकदिने भ्रमणमा आएका जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज (आइतवार) जमलस्थित मण्डला बुक प्वाइन्टमा गइन् र पुस्तकहरु किनिन्।

उनको पहिलो रोजाइमा बालबालिकासम्बन्धी पुस्तक परेको थियो। उनी खासगरी नेपाली लेखककै पुस्तक किन्न खोजिरहेकी थिइन्। 

‘गाई जात्रा’, ‘भतिजीहरु’, ‘बिस्केट जात्रा’, ‘विख्यात’, ‘घरपालुवा बिरालो’, ‘सेभेन फिस इनसाइड’, ‘जमन गुवाजु’ नामक बालबालिकासम्बन्धी चित्र पुस्तक जापानी परराष्ट्रमन्त्री योकोले खरिद गरेको मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले जानकारी दिए। 

जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाल पिक्चर लाइब्रेरी पुस्तक ‘सार्वजनिक जीवनमा महिला’ नामक तस्वीर पुस्तक पनि परेको छ। 

उनले महिला सशक्तीकरण, भू–राजनीति, नेपालको ‘ल्यान्डस्केप’सम्बन्धी पुस्तक खरिद गरेकी थिइन्। ५ मिनेट मात्रै मण्डलामा आएर उनले प्रत्यक्ष पुस्तक हेरेर किनेकी हुन्। 

मण्डला बुक प्वाइन्टका प्रमुख महर्जनले जापानीमन्त्री योकोलाई स्वागत गर्दै पुस्तकबारे संक्षिप्त जानकारी दिएका थिए। “मन्त्रीज्यूको अवलोकनले गर्दा नेपाली पाठक, शिक्षक, विद्यार्थी पुस्तक पढ्ने संस्कृतिप्रति प्रेरणा मिल्छ”, उनले भने, “यसअघि पाकिस्तानकी तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले समेत मण्डलामा भ्रमण गर्नुभएको थियो।” 

उनले मन्त्रीलाई मण्डलाबाट केही पुस्तक उपहार दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.