|

बाँके : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन्।

नेपालगञ्ज नाकास्थित एकीकृत भन्सार जाँच चौकीको आज शुभारम्भ गर्दै उनले औपचारिक रूपमा सञ्चालनमा आए पश्चात दुई देशबीचको व्यापारमा सहजीकरण हुने बताए।

मन्त्री भण्डारीले जाँच चौकी सञ्चालनमा आएसँगै चोरी पैठारी नियन्त्रण र आन्तरिक राजश्वमा वृद्धि हुने पनि बताए। “एकीकृत जाँच चौकीको प्रयोगले व्यापारमा हुने सन्तुलनलाई पनि नियन्त्रण गर्ने छ”, उनले भने, “सबैभन्दा प्रमुख कुरा गैरकानूनी रूपबाट हुने चोरी पैठारी पूर्ण रूपमा नियन्त्रमा आउने छ।”

नेपाल–भारत जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँच चौकी मन्त्री भण्डारीद्वारा शुभारम्भ गरेसँगै औपचारिकरूपमा सञ्चालनमा आएको हो। करिब दुई अर्ब ७५ करोडको लागतमा निमार्ण भएको उक्त एकीकृत जाँच चौकी नेपाल र भारतबीच सम्झौता भएको १८ वर्षपछि सञ्चालनमा आएको हो। 

चौकी नेपाल र भारत दुवैतर्फ निर्माण भएको छ। नेपालतर्फ जग्गा नेपाल सरकारले छुट्याए पनि पूर्वाधार भने भारत सरकारले निर्माण गरेको हो।

विसं २०७५ माघ १ गते भारतका तत्कालीन केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आइसिपी निर्माणको शिलान्यास गरेका थिए। भारततर्फ आइसीपी शिल्यान्यास भएको दुई वर्षपछि नेपालतर्फ भूमि पूजन गरिएको थियो। 

एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण २०७७ साल असोज ६ गतेबाट सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.