|

काठमाडौँ : राष्ट्रियसभा सदस्यहरुले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विभिन्न समस्या समाधान गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रियसभा सदस्यहरुले परराष्ट्र मन्त्रालयसँग सम्बन्धित जनताका विभिन्न समस्या र गुनासा सम्बोधन गर्न मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका हुन्। 

बैठकमा राष्ट्रियसभा सदस्य मोहम्मद खालिदले खाडी मुलुकमा नेपालीहरुको पारिश्रमिक अन्य देशका नागरिकको तुलनामा असमान भएको भन्दै ध्यानाकर्षण गराए। उनले सो समस्यालाई नेपालले परराष्ट्र मन्त्रालयमार्फत समाधान गर्नुपर्ने बताए।

राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले कूटनीतिक आचारसंहिताको प्रभावकारी कार्यान्वयन किन हुन सकेन भनेर प्रश्न गरे। उनले हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको उद्धारका लागि के पहल भइरहेको छ भनेर पनि प्रश्न गरे। उनले नेपाल-भारतबीच सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए।

‘कूटनीतिक आचारसंहिताको प्रभावकारी कार्यान्वयन किन गर्न सकिएन? नेपाल-भारतबीच सीमा समस्यालगायत असमान सन्धि, सम्झौताहरु विद्यमान छन्‚’ उनले सोधिन्‚ ‘ईपीजी प्रतिवेदन बुझ्न के पहल भइरहेको छ? कसले उदासिनता देखाएको हो?’

राष्ट्रियसभा सदस्य उदयबहादुर बोहराले चीन नेपालसँग विश्वस्त नभएको धारणा राखे। उनले नेपालको एक चीन नीति हुनेमा चीनको चासो रहेको भन्दै नेपालको उच्चस्तरीय भेटवार्ताको क्रममा चीनले आशंका व्यक्त गर्ने गरेको बताए। उनले चीनलाई विश्वस्त बनाउन के गरिरहेका छौँ भनेर सोधे।

राष्ट्रियसभा सदस्य जगतबहादुर पार्कीले नेपाली युवाहरु युरोप गएर रोजगारी गरिरहे पनि त्यहाँ जान कानूनी जटिलताहरु रहेका भन्दै सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए। उनले युरोप भिसा सेन्टर नेपालमा स्थापना गर्नुपर्नेमा जोड दिए।

राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले देशको नीति पार्टीमुखी र नेतामुखी बन्ने गरेको भन्दै कूटनीतिक मूल्य, मान्यता र अन्तरराष्ट्रिय परम्पराको बारम्बार उल्लंघन हुने गरेको बताए। उनले भारतसँगको सीमा समस्या कहिले समाधान हुन्छ भनि प्रश्नसमेत गरे। 

राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले नेपाल-भारतबीच भएका सन्धी, सम्झौताहरुको पुनरावलोकन गर्नुपर्ने बताइन्। उनले सुस्ताको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन्।

राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले विदेशमा रहेका नेपाली कामदारहरुको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताइन्। उनले अन्य राष्ट्रप्रति धेरै आश्रित हुनु नहुने भन्दै नेपाली कामदारहरुलाई स्वदेश फर्काएर रोजगारी दिनुपर्ने बताइन्।

राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले नेपालका आन्तरिक विमानस्थलहरु व्यस्त हुने नीति निर्माण गर्नुपर्ने बताए। उनले पोर्चुगलमा छिटोभन्दा छिटो नेपाली दूतावास खोल्न सरकारको ध्यानाकर्षण गराए। उनले देशको परराष्ट्र नीतिमा राष्ट्रिय एकता कायम हुनुपर्ने माग गरे।

राष्ट्रियसभा सदस्य गोपीबहादुर सार्की आछामीले सेवा निवृत्त कर्मचारी र राजनीतिक दलका बुढापाका नेताहरुलाई राजदूत बनाउँदाखेरी त्यसबाट राम्रो प्रतिफल आउन नसकेको बताए। 

उनले राजदूतहरुलाई सरकारले काम दिन सक्नुपर्ने र सो काम उनीहरुले पूरा गरे/नगरेको मूल्यांकन हुनुपर्ने बताए। उनले राजदूतले वैदेशिक लगानी भित्र्याउन सक्यो/सकेन, कूटनीतिक समस्या समाधान गर्‍यो/गरेन भन्ने कसीमा पनि उसको काम हेर्नुपर्ने बताए।

परराष्ट्रमन्त्री श्रेष्ठले राष्ट्रियसभा सदस्यहरुले गराएको ध्यानाकर्षणलाई सरकारले गम्भीरतापूर्वक लिएको भन्दै आवश्यक काम, कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.