मौसम र मैदानको अवस्था हेरेर खेल खेलाइने

|

ललितपुर : वर्षाका कारण गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताका बाँकी रहेका खेल केही दिनका लागि स्थगित गरिएको छ। 

वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदान हिलाम्मे भएको र ठाउँ ठाउँमा पानी जमेको हुनाले केही दिन खेल स्थगित गरिएको प्रतियोगिता संयोजक निरोज बज्राचार्यले जानकारी दिए।

‘पानी पर्न अझै नरोकिएको र मैदानको कण्डिसन पनि फुटबल खेलाउन हाललाई उपयुक्त नदेखिएकाले सेमिफाइनल र फाइनलका खेल केही दिन पर सारिएको छ,’ उनले भने‚ ‘मौसम विभागका अनुसार अझै केही दिन वर्षा हुनसक्ने भएकाले यही दिन खेल हुन्छ भन्ने यकिन छैन तर पानी पर्न रोकिनासाथ मैदान मिलाएर प्रतियोगिता शुरु गर्ने तयारी छ।’ 

उनका अनुसार वर्षा रोकिनासाथ मैदानका व्यवस्थापन गरेर सेमिफाइनल पुगेका चारवटै टिमबीच छलफलपश्चात बाँकी खेल खेलाउने नयाँ मिति तय गरिनेछ। 

यो प्रतियोगिता गोदावरी नगरपालिकाको मैदानमै भएकाले अन्यत्र कतै खेल्ने योजना नरहेको मेयर गजेन्द्र महर्जनले बताए।

‘हामी यही मैदानलाई चिनाएर यसको विकासमा लागेका छौँ,’ उनले भने, ‘अन्यत्र यो प्रतियोगिताका बाँकी खेल खेलाइन्न, पानी जहिले पर्न रोकिन्छ मैदान मर्मत र सेमिफाइनल खेल्ने टोलीलाई समय दिएर प्रतियोगिता खेलाइन्छ।’

प्रतियोगिताको सेमिफाइनलका दुवै खेल मंगलवार खेलाइने तय भए पनि वर्षाका कारण दुवै खेल स्थगित भए। 

पहिलो सेमिफाइनल दिउँसो साढे १२ पछि काठमाडौँ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको थियो। खेलको ६ मिनेटपछि भारी वर्षा हुन थालेपछि रेफ्री र आयोजकको टेक्निकल टिमबीच आकस्मिक छलफललगत्तै खेल स्थगन गरिएको थियो।

‘जुन समयबाट खेल रोकिएको छ, त्यही समयबाट अर्को दिन त्यही समयबाट खेल खेलाइनेछ,’ म्याच कमिस्नर रुपचन्द्र विष्टले भने। 

दिउँसो साढे ३ बजे हुने भनिएको चन्द्रागिरि नगरपालिका र महालक्ष्मी नगरपालिकाबीचको दोस्रो सेमिफाइनल पनि स्थगित गरिएको छ। 

उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। 

अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। सेमिफाइनल र फाइनलमा पराजित हुने टिमका एकजना उत्कृष्ट खेलाडीलाई उदीयमान खेलाडीको ट्रफी प्रदान गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.