|

बैतडी : महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। राजमार्ग अन्तरगत  बैतडीको सतबाँझ-सिल्लेगडा सडकखण्डकाे सुर्नया गाउँपालिका-३ सिदुनमा धनगढीबाट बैतडीको तल्लादेहीका लागि आइरहेको सुपप्र ०२००१ज ३८५ नम्बरको जिप  बिहान करिब २ बजेको समयमा दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी  घाइते हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका वडा नं ९ तल्लादेहीका २७ वर्षीय दिपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, सोही ठाउँका ४९ वर्षीय धनजीत पार्की, उनकी १५ वर्षीया छोरी रेखा पार्की र सोही ठाउँकी २२ वर्षीया कृष्णा पार्की,  डिलाशैनी गाउँपालिका ४ तडीबटाका ३३ वर्षीय करबीर सार्की र ७४ वर्षीय मनोरी सार्की रहेका छन्। 

घाइतेमध्ये  प्रदीप र रेखालाई थप उपचारका लागि धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जाेशीले बताए। 

अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। 

जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल खसेको बताइएको छ। जिप चालक पुर्चौंडी नगरपालिका ९ तल्लादेहीका २३ वर्षीय सुरेन्द्र पुजारा फरार रहेका प्रहरीले जनाएको छ।

जिपकाे ब्रेक फेल भएर दुर्घटना भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.