|

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदमा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयको सरकारले बेवास्ता गरिरहेको आरोप लगाएका छन्।

सि‌ंहदरबारमा पत्रकारसँग कुरा गर्दै उनले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौँ जनताको अर्बौं रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँ भन्दा त्यसको बेवास्ता गरिएको आरोप लगाए।

“जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ‚’ प्रमुख सचेतक लेखकले भने, ‘मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानलाई राम्रो बनाएर लैजानुपर्छ।” 

नेपाली कांग्रेस सरकारमा रहँदा पनि ऐन निर्माणका लागि आवश्यक विधेयक ल्याउने र पारित गर्ने विषयमा कमी कमजोरी भएको स्वीकार्दै उनले भने, “हामी अहिले प्रतिपक्षमा छौँ, हिजोको त्यो कमी कमजोरी यथावत छ। विधायनको काम कमजोर भयो भनी आएका सुझाव बोधगम्य छ।” 

संसद्को प्रभावकारिता हुन सकेन र जनतालाई संसद् हाम्रा लागि हो भन्ने अनुभूति भएन भने व्यवस्थालाई नै कमजोर तुल्याउन सक्नेतर्फ विचार गर्न आवश्यक रहेको बताउँदै नेता लेखकले संसद्लाई काम दिने र जवाफदेही तुल्याउने जिम्मेवारी सरकारकै भएको बताए।

संसद्‌मा दलका नेताबीच मन्तव्यका क्रममा हुने आलोचनात्मक क्रियाकलापले अवलोकनका लागि आउने विद्यार्थीले के पाठ सिक्न सक्छन् भन्नेमा सचेत हुन आवश्यक रहेको बताउँदै पूर्वमन्त्री लेखकले नेकपा एमालेसँग नयाँ समीकरण बनाउने र अहिलेको गठबन्धन भत्काउने खेलमा आफ्नो पार्टी नरहेको प्रतिक्रिया दिए।

देश र जनताका महत्वपूर्ण र आधारभूत विषयमा सरकार, प्रमुख प्रतिपक्ष दलबीच सहमति, सहकार्य र समन्वय हुन जरुरी रहेको बताउँदै उनले यसपटक पहिलाको जस्तो छायाँ सरकार बनाएर अघि बढ्ने मनस्थितिमा कांग्रेस नरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.