फाइनल जेठ ५ गते

|

ललितपुर : गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुवै खेल आगामी जेठ २ गते बुधबार हुने भएको छ। 

गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमै दुवै सेमिफाइनल खेल जेठ २ गते र फाइनल खेल जेठ ५ गते शनिबारका लागि तय भएको प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए। 

उनका अनुसार यो हप्ताभर नै पानी पर्ने अनुमान गरिएकाले अर्को सातासम्मका लागि खेल स्थगित गरिएको हो। ‘पानी परिरहँदा यो मैदानमा खेलाउने अवस्था छैन, तसर्थ मौसम पूवानुमान अनुसार मंगलबारदेखि पानी पर्ने सम्भावना कम भएकाले जेठ २ गते बुधबार सेमिफाइनल र  जेठ ५ गते शनिबार फाइनल खेलाउन लागेका हौँ ’, उनले भने। 

जेठ २ गतेको पहिलो सेमिफाइनलमा दिउँसो साढे १२ बजे मध्यपुर थिमी नगरपालिका र काठमाडौं महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

यी दुई टिम बीचको खेल ६ मिनेटबाट खेलाइने म्याच कमिस्नर रूपचन्द्र विष्टले बताए।  ६ मिनेटसम्म दुवैतर्फबाट कुनै गोल भएको थिएन । 

अर्को सेमिफाइनल खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ। सो खेलमा महालक्ष्मी नगरपालिका र चन्द्रागिरी नगरपालिका भिड्नेछन् ।  

फाइनल खेल जेठ ५ गते शनिबार दिउँसो ४ बजे शुरु हुनेछ। त्यसअघि समापनको औपचारिक कार्यक्रम भने २ बजे नै शुरु हुनेछ । 

गत वैशाख २५ गते वर्षाका कारण दुवै सेमिफाइनल स्थगित भएको थियो। 

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन्। 

यस्तै अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेण्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। सेमिफाइनल र फाइनलमा पराजित हुने टिमका उत्कृष्ट एकजनालाई उदीयमान खेलाडीको ट्रफी प्रदान गरिने छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.