|

बैतडी : आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति भएको छ। चालू आवको हालसम्मको अवधिमा भएका आगलागीका घटनाबाट एक करोड ३४ लाख ९९ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

उनले भने, ‘चालू आवको साउन महिनादेखि हालसम्म १२ वटा आगलागीका घटना भएका छन्, यी घटनाबाट एक करोड ३४ लाख ९९ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको विवरण संकलन भएको छ।’

आगलागीबाट पसल, घर, सुनचाँदी र नगद जलेका छन् भने दुईजना समेत घाइते भएका छन्।

गत भदौमा दशरथचन्द नगरपालिका-४ गढीमा रहेको प्रदीप बरालको सुनचाँदी पसलमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति भएको छ। यस्तै कात्तिकमा पुर्चौडी नगरपालिका-१ डाडाकोटका जयानन्द जोशीको घरमा आगलागी हुँदा ३० लाख, मेलौली नगरपालिका-२ का पूर्णबहादुर चन्दको घरमा भएको आगलागीबाट ५० हजार, मंसिरमा पाटन नगरपालिका-२ की जयन्ती पन्तको घरमा आगलागी हुँदा ४ लाख ५० हजार, डिलाशैनी-७ का जनकराज जोशीको घरमा आगलागी हुँदा ७० हजार, माघ महिनामा डिलाशैनी गाउँपालिका-६ का पुष्कर थलालको घरमा आगलागी हुँदा ५ लाख, फागुनमा सुर्नया-७ का तेजबहादुर कार्कीको घरमा आगलागी भएर २ लाख ४८ हजार, चैतमा डिलाशैनी २ को एक घरमा आगलागी हुँदा १ लाखको क्षति भएको छ। 

वैशाखमा पञ्चेश्वर गाउँपालिका-४ का जयबहादुर चन्दको घरमा आगलागी हुँदा ५ लाख,सुर्नया गाउँपालिका-२ का करन पाण्डेको घरमा आगलागी भएर ६० हजार र पाटन नगरपालिका- १ कि धौली लुहारको भान्सा कोठामा आगलागी हुँदा २१ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

विद्युत् सर्ट भएर तथा मानवीय त्रुटिका कारण आगलागीका घटना भएका प्रहरीले बताएको छ। 

आगलागीबाट घटना न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम तथा सन्देशमूलक प्रचारसामग्री प्रकाशन तथा प्रशारण भइरहेको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत दिलीपकुमार यादवले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.