|

अछाम : अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ।

नेपाली सेनाको अछामस्थित गोरख बक्स गणले अछाम र दैलेखको सिमानामा रहेको बेलखेतमा निर्माण गरेको मलामी विश्राम घर एक समारोहबीच नगरपालिकालाई हस्तान्तरण गरेको छ। 

नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत आवश्यकताको पहिचान गरि मलामी विश्राम घर निर्माण गरिएको गोरख बक्स गणका गणपति जनक सिलवालले जानकारी दिए।

मलामी विश्राम घरसँगै पक्की पर्खाल, आधुनिक शौचालय र पिपल चौतारी निर्माणमा नेपाली सेनाको ७ लाख ५० हजार रुपैयाँ र नगरपालिकाले निर्माण सामाग्री सहयोग गरेका छन्। 

उक्त आयोजनाबाट ६ वडा र पञ्चदेवल विनायकका ४ वडाका नागरिक लाभान्वित हुने कमलबजारका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए।

अहिले मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा उक्त घरको दोस्रो तला थपेर क्रियापुत्री भवनका रुपमा विकास गरिने उनले बताए। साथै कम समयमा सुविधासम्पन्न मलामी विश्राम घर निर्माण गरेकामा नगरपालिकाका तर्फबाट गोरख बक्स गणलाई कदर पत्रसहित सम्मान गरिएको थियो।

नेपाली सेनाले आफूलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दासँगको समन्वयमा आवश्यकतालाई पहिचान गरि महत्वपूर्ण आयोजना निर्माण गरेकामा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले धन्यवाद दिए। विश्राम घर निर्माण भएसँगै वर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने स्थानीयले बताएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले नेपाली सेनाले विभिन्न वेला रचनात्मक तथा सामाजिक विकासमा सहकार्य गर्दै आएको भन्दै प्रशंशा गरे। उनले सेनाले यहाँका नागरिकको समस्यालाई ध्यानमा राखेर महत्वपूर्ण कार्य गरेकाले सेना र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुँदै जाने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.